चन्द्रागिरि हिल्समा नेपाल समूहको बैठक : भीड गराएको भन्दै काठमाडौं प्रशासनको स्पष्टीकरण

निषेधाज्ञा उल्लंघन गरेको प्रशासनको भनाइ

भाद्र ८, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी बैठक चलिरहेको चन्द्रागिरि हिल्स रिसोर्टलाई काठमाडौं जिल्ला प्रशासनले निषेधाज्ञा उल्लंघन गरेर किन भिडभाड गराएको भन्दै स्पष्टीकरण सोधेको छ । रिसोर्टमा सोमबार बेलुकादेखि उक्त पार्टीको भेला चलिरहेको छ । भेलामा सयभन्दा बढी नेताहरू सहभागी छन् । 

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेधाज्ञाका प्रावधान विपरीत मानिसको भीडभाड गरेको विषयमा रिसोर्ट प्रशासनसँग स्पष्टीकरण सोधिएको बताए ।

'निषेधाज्ञाका प्रावधान उल्लंघन गर्दै मानिस भेला गरेको र आवासीय व्यवस्थाका नाममा मैले आज त्यहाँको रिसोर्ट प्रशासनसँग फोनबाटै जानकारी मागेको छु । यो निषेधाज्ञाविपरीत गतिविधि हो । यसलाई नियन्त्रण गर्न प्रशासन लागिपर्छ,' प्रजिअ पराजुलीले भने ।

एमालेबाट फुटेर नयाँ दल दर्ता प्रक्रियामा रहेका पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले केन्द्रीय सदस्य र सांसदलाई ‘सुरक्षित राख्न’ सोमबार रिसोर्टमा पुर्‍याएका हुन् । आफूपक्षीय केन्द्रीय सदस्य र सांसदसहित उनी सोमबारदेखि चन्द्रागिरि हिल्स रिसोर्टमा बसिरहेका छन् ।

राजनीतिक दल सम्बन्धी अध्यादेशअध्यादेश

कान्तिपुर

Link copied successfully