झापामा कोरोना संक्रमण उच्च, प्राय सबै अस्पताल संक्रमितले भरिए

मेची प्रादेशिक अस्पतालले अक्सिजन आवश्यक पर्ने बिरामी भर्ना लिन छोड्यो

श्रावण २५, २०७८

पर्वत पोर्तेल

झापा — झापामा आइतबार ६ सय २० जनाको पीसीआर परीक्षण भएको थियो । जसमध्ये २ सय ४२ जनाको रिपोर्ट पोजेटिभ आयो । शनिबार भएको परीक्षणमा पनि १ सय ४९ संक्रमित देखिएका थिए । झापामा पीसीआर र एन्टिजेन दुवै खाले परीक्षण बढाएसँगै संक्रमितको संख्या पनि बढेको छ । शनिबार २ जना संक्रिमतको मृत्युसमेत भएको थियो । 

जिल्ला स्वास्थ्य कार्यालय झापाका प्रमुख योगराज घिमिरेले गत साताभन्दा भने यो दर कम भएको बताए ।गत साता दैनिक संक्रमितको संख्या साढे ४ सयसम्म पुगेको थियो । जिल्ला प्रशासन कार्यालय झापाले निषेधाज्ञा लागू गरेपछि संक्रमण दर थोरै कम भएको घिमिरेले दाबी गरे । 

उनका अनुसार मास्क नलाइ भीडभाडमा हिँडडुल गर्ने प्रवृत्तिले मुलत: संक्रमण दर बढेको हो । उनी भन्छन्, ‘पछिल्लो समय पालिकाहरुले समेत परीक्षणलाई तीव्रता दिएका कारण जसले संक्रमित देखिनेको संख्या पनि बढेको देखियो ।’ उनका अनुसार शहरमा भन्दा ग्रामीण क्षेत्रमा मास्क लगाउनेको संख्या कम छ । यो पनि संक्रमण वृद्धिको कारण हो ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार हालसम्म झापामा ७२ हजार ४ सय ७४ जनाको पीसीआर परीक्षण भएको छ । जसमा १९हजार ६ सय ३ जना संक्रमित भइसकेका छन् । १४ हजार ५ सय २० जनाको एन्टिजेन भएकोमा ४ हजार ६ सय ७३ जना संक्रमित भएका छन् । आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या ३ हजार ७ सय ६८ छ ।  ४ सय ८७ जनाको मृत्यु भइसकेको छ । १६ हजार ४ सय ७० जना उपचारपछि घर फर्किएका छन्।  

पछिल्लो समय साइकल थ्रेसहोल्ड (सीटी) भ्यालु कम भएका संक्रमित ज्यादा छन् । मेची प्रादेशिक अस्पतालका पीसीआर ल्याब एसिस्टेन जीतेन्द्र झाका अनुसार सीटी भ्यालु १५–१६ मात्रै भएका संक्रमित धेरै छन् । उनका अनुसार सीटी भ्यालु कम भएकाहरुबाट अरुलाई संक्रमण गर्ने सम्भावना ज्यादा हुन्छ । ‘पहिला परिवारका एक जना मात्रै  संक्रमित  हुन्थे’, ल्याव असिस्टेन जीतेन्द्र झाले भने, ‘अहिले परिवारै संक्रमित हुने क्रम तीव्र छ ।’ उनका अनुसार झापाका अधिकांस संक्रमितमा डेल्टा भेरियन्टको जस्तो लक्षण देखिएको छ ।  उनले थपे, ‘तर, डेल्टा भेरियन्ट नै हो भन्ने यकिन भएको छैन ।’ 

कोरोनाको संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले साउन ३२ सम्म निषेधाज्ञा गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले जनाए । संक्रमण दर बढेपछि जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले गत  साउन १६ गतेदेखि जिल्लाभर निषेधाज्ञा लागू गरेको थियो । ‘संक्रमणको दर नघटेसम्म निषेधाज्ञा जारी राखिने छ’, प्रजिअ तिम्सिनाले भने । प्रशासन कार्यालयले निषेधाज्ञा लागू गर्नु अघि नै जिल्लाका १० बढी पालिकाहरुले आफ्नो क्षेत्रमा आन्तरिक सिल गरेका थिए ।

अस्पतालमा चाप

कोरोना संक्रमण बढेसँगै झापाका अस्पतालहरुमा बेड अभाव भएको छ । सरकारी र निजी दुवै अस्पतालहरुमा संक्रमितको चाप बढेसँगै बेड अभाव भएको हो । मेची प्रादेशिक अस्पताल भद्रपुरमा रहेको ७५ शय्याको कोभिड उपचार केन्द्र पुरै भरिएको छ । ‘अस्पतालको ६० वटा शय्यामा मात्र अक्सिजनको सुविधा उपलब्ध छ । ती सबै शय्या भरिएको छ’, अस्पताल विकास समितिका अध्यक्ष सोमनाथ पोर्तेलले भने, ‘अक्सिजन चाहिने नयाँ बिरामीलाई  भर्ना गर्नै छाडिएको छ ।’ 

अस्पतालका पाँचवटा आईसीयू कक्षमध्ये तीन वटा कोभिडका विरामीको उपचारका लागि छुट्याइएकोमा सबै शय्या भरिएको छ । 

बिर्तामोडको बीएन्डसी अस्पतालमा पनि बेड अभाव सुरु भएको छ ।  जिल्लाकै ठूलो यो अस्पतालमा हाल ८० बढी बरामीको आईसीयूमा उपचार भइरहेको छ । अस्पतालका जनसम्पर्क अधिकृत प्रमिस गिरीले भने, ‘कोभिडका लागि अस्पतालले छुट्याएको ३२ शय्याको आईसीयू सबै बिरामीले भरिएको छ ।’ अस्पतालमा दैनिक २०० सिलिन्डर अक्सिजन खपत भइरहेको गिरीले जनाए । दैनिक ५० सिलिन्डर अक्सिजन अस्पताल आफैंले उत्पादन गरिरहेको छ । 

विर्तामोडको बिर्तासिटी अस्पतालमा पनि कोभिडका लागि छुट्याइएको सबै आइसोलेसन वार्ड, आईसीयू र भेन्टिलेटर बिरामीले भरिएको जनाइएको छ । अस्पतालका प्रशासनका अनुसार  कोभिड उपचारका लागि ५३ शय्याको आइसोलेसन, नौ शय्याको भेन्टिलेटर र १२ शय्याको आईसीयू व्यवस्था गरिएको छ । दमकको कोभिड अस्पताल पनि संक्रमितले भरिभराउ छ । दमक नगरपालिकाले सञ्चालन गरेको सो अस्पतालमा ३० शय्या छन् । 

स-शूल्क परीक्षण 

झापा, अर्जुनधारा-९ का प्रवीण खपांगीलाई केही दिन अघि लगातार ज्वरो आयो । रुघाखोकी पनि लाग्यो । कोरोना संक्रमणको संका  लागेर पीसीआर गर्न कन्काई ४ कोटिहोमको सरकारी प्रयोगशाला (ल्याब)  पुगे । हजार रुपैयाँ तिरेर पीसीआर गरेर फर्किए । ‘सरकारी ल्याबमा त पैसा लाग्दैन भन्ने सुनेको थिएँ’, खपांगीले सुनाए, ‘तर, मैले हजार रुपैयाँ तिरेर पीसीआर गर्नुपऱ्यो ।’

संविधानमा जनस्वास्थ्यलाई मौलिक अधिकारको रुपमा स्वीकार गरिएको छ । गत असोज १५ मा सर्वोच्च अदालतले पनि कोभिड संक्रमितको सम्पूर्ण उपचार र परीक्षण नि:शुल्क गर्न परमादेश गरेको थियो ।  कोरोना सरुवा रोग भएकाले परीक्षण र उपचारवापत शुल्क नलिन आदेश दिएको थियो । तर, खपांगी जस्ता धेरै सर्वसाधारण सरकारी प्रयोगशालामा पनि पैसा तिरेर कोरोना परीक्षण गर्न बाध्य छन् ।  

मेची प्रादेशिक अस्पतालको इमरजेन्सी वाड अगाडी सर्वसाधारणको भीड । तस्बिहरु: पर्वत पोर्तेल/कान्तिपुर 

प्रदेश १ मा  ५ सरकारी र ४ निजी गरी  ९ वटा प्रयोगशाला राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा दर्ता छन्।  जसमध्ये प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरबाहेकका सबै सरकारी अस्पताल र प्रयोगशालाहरुले रकम असुलेर मात्रै पीसीआर परीक्षण गरिरहेका छन् । निजीले न्यूनतम २ हजार र सरकारीले न्यूनतम साढे ७ सयदेखि अधिकतम एक हजार रुपैयाँसम्म लिने गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले  सरकारी, सामुदायिक अस्पताल र प्रयोगशालामा लक्षण भएका व्यक्तिको पीसीआर गर्दा शुल्क नलाग्ने दाबी गरेका छन् । 

झापाको कन्काई प्रयोगशालाले एक वर्षमा २६ हजार ३ सय ७६ सर्वसाधारणसंग पीसीआर परीक्षण बापत करिब २ करोड ६४ लाख रकम असुलेको छ । यो ल्याबको व्यवस्थापन कनकाई नगरपालिकाले गर्दै आएको छ । नगरपालिकाले नै परीक्षणवापतको रकम असुल्ने गरेको छ ।  

विराटनगरको कोसी प्रादेशिक अस्पतालले भने लक्षण नभएका व्यक्तिहरुको पीसीआर परीक्षण गर्दा मात्रै रकम लिने गरेको छ । अस्पतालका अनुसार कोरोनाको लक्षण नदेखिएका सर्वसाधारणसँग परीक्षणवापत हजार रुपैयाँ लिने गरिएको हो । ‘लक्षण देखिएका बिरामीको परीक्षण गर्दा भने शूल्क लिँदैनौं’, अस्पतालका एक ल्याब टेक्निसियनले भने, ‘विदेश जाने, बिमा दाबी गर्न आउनेहरुलाई शूल्क लिएर मात्रै परीक्षण गरिन्छ ।’

धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि पीसीआरवापत हजार रुपैयाँ लिइरहेको छ ।  

अघिल्लो वर्ष कोरोना संक्रमण हुँदा झापामा पीसीआर प्रयोगशाला थिएन । मेची प्रादेशिक अस्पतालले पनि स्वाव संकलन गरेर धरान र विराटनगर पठाउँथ्यो । रिपोर्ट आउन पनि २, ३ दिन लाग्थ्यो । यही दु:खलाई प्रत्यक्ष देखेका जिल्लाका केही अगुवाहरुले पीसीआर प्रयोगशाला खरिद गरी छाड्ने अठोटका साथ  ‘एकका लागि एक’ नाम दिएर अभियान सुरु गरे । अभियानले सुरुमा परीक्षण शूल्क नलिने भनेको थियो । तर, रकम नलिइ सञ्चालन गर्न  समस्या भएको  पीसीआर प्रयोगशाला बनाउन अगुवाइ गरेका सहकारीकर्मी महेन्द्र गिरीले जनाए । उनले कर्मचारी लगायतको व्यवस्थापनका लागि रकम लिइएको जनाए । प्रयोगशालामा हाल ७ जना कर्मचारी कार्यरत छन् ।

जनस्तरबाट संकलित करिब १ करोड ४ लाख रुपैयाँ लागतमा अभियानले गत वर्ष भदौ २७ मा पीसीआर ल्याब स्थापना गरेको थियो ।  सुरुमा एक पटकमा करिब ९६ वटा नमुना मात्रै परीक्षण हुन्थ्यो । तर, गत जेठमा गरिएको थप मेसिन जडान पछि अहिले प्रत्येक दिन ४ सय स्वाब नमुना परीक्षण हुन्छ । कन्काईमा दोस्रो ल्याब पनि थपिएको छ । पीसीआर परीक्षणका लागि आउने सर्वसाधारणको भीड थेग्न नसकेर अर्को ल्याब स्थापना गरिएको गिरीले जनाए ।  

अभियानले ल्याब स्थापना पछि प्रदेश १ सरकारलाई हस्तान्तरण गरेको थियो ।  प्रदेश सरकारले मेची प्रादेशिक अस्पताललाई जिम्मा दिएको छ । स्वास्थ्य मन्त्रालय अन्र्तगतको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा दर्ता भएपछि मेची अस्पतालको मातहतमा यो सञ्चालित छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. टंकप्रसाद बारकोटीले पीसीआर परीक्षण गर्दा सरकारी ल्याबहरुले पनि रकम लिन पाउने निर्णय सरकारले गरेको दाबी गरे । उनले भने,‘ सरकारले गरेको निर्णयका आधारमा हामीले रकम लिएका हौं ।’

कोरोना खोपकोरोना भाइरस

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully