काठमाडौँ — छिमेकी र अन्य मुलुकको तुलनामा कोभिड–१९ विरुद्धको खोप पर्याप्त उपलब्ध नभएको भन्दै सरकारको आलोचना भइरहेका बेला पूर्ण मात्रा लगाउने जनसंख्याको अनुपातमा नेपाल भारतकै हाराहारीमा देखिएको छ ।
भारतले गत फेब्रुअरीमा खोप अभियान सुरु गरेपछि नेपालले पनि थालेको थियो । भारतले प्रतिबद्धता गरे पनि खोप नदिँदा नेपालको अभियानले गति लिन सकेन । जसका कारण नेपाल–भारत संक्रमणको लहरको समय र प्रकृति फरक रहने अनुमान थियो । तर पछिल्ला दिन खोपको उपलब्धतामा वृद्धिसँगै पूर्ण मात्रा लगाउनेको प्रतिशतमा नेपाल भारतकै हाराहारीमा पुगेको छ ।
अब अवस्था धेरै पृथक् नहुने आकलन छ । पहिलो मात्रा लगाउने कुल जनसंख्याको प्रतिशतमा भने भारतभन्दा निकै पछि रहेकाले नेपालले खोप अभियानलाई तीव्रता दिनुपर्ने विज्ञहरू बताउँछन् । ‘भारतकै हाराहारीमा नेपालीलाई खोप सुनिश्चित भएको अवस्थामा दुवै देशमा मिल्दोजुल्दो अवस्था नै देखिनेछ,’ कोरोना खोप समन्वय समितिका सदस्य डा. जीडी ठाकुरले भने ।
नेपालमा खोप ४४ लाख ९४ हजार २ सय ६९ ले लगाएका छन् । यसमा पूर्ण मात्रा लगाउने २४ लाख ९२ हजार १ सय ८२ छन् । विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्व एसिया कार्यालयको शनिबारसम्मको तथ्यांकअनुसार नेपालमा पूर्ण मात्रा खोप लगाएकाहरू प्रतिएक सयमा ७.८१ जना छन् भने भारतमा ७.९१ जना छन् । तर एक डोज लगाउने भारतमा धेरै छन् । नेपालमा प्रतिसय जनामा १४.७१ जनाले एक डोज लगाइसकेका छन् भने भारतमा त्यो दर २७.७५ जना छ ।
