२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

यसरी जुट्दै छ खोप

अतुल मिश्र

काठमाडौँ — भण्डारणको समस्या रहे पनि कोभिड–१९ विरुद्धको खोप जुट्ने क्रम जारी छ । हालसम्म देशभर करिब १० प्रतिशतले एक मात्रा खोप लगाइसकेका छन् । चीनसँग खरिद गरिएको ४० लाखमध्ये बिहीबार ८ लाख डोज आइपुगेको छ भने शुक्रबारदेखि बाँकी २४ लाख आउने स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसअघि ८ लाख डोज आइसकेको छ ।

यसरी जुट्दै छ खोप

जापानबाट कोभाक्स सुविधामार्फत अस्ट्राजेनेकाको १६ लाख डोज आउने प्रक्रियामा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए ।

‘साउनभित्र चीनबाट जम्मा ५० लाख मात्रा आइपुग्छ,’ उनले भने, ‘१८ वर्षमाथिका ७२ प्रतिशत अर्थात् करिब २ करोड १७ लाखलाई निःशुल्क खोप लगाउने तयारी छ । एक तिहाइ जनसंख्यालाई असोजभित्रै खोप लगाइसक्छौं ।’ विज्ञहरूले कम्तीमा ६० प्रतिशतभन्दा बढीलाई खोप लगाए मात्रै कोभिडको सम्भावित लहरबाट जोगिन सक्ने बताएका छन् । अबको केही महिनामा लक्षित समूहमा खोप लगाइने डा. अधिकारीको भनाइ छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली समकक्षी शेरबहादुर देउवासँग सोमबारको टेलिफोन संवादमा खुला सीमा भएका दुवै मुलुकले कोरोना महामारीविरुद्ध मिलेर लड्नुपर्ने प्रतिबद्धता जनाएका थिए । यसलाई कतिपयले नेपालले खरिद गरेको बाँकी खोप भारतले छिटै दिने संकेतका रूपमा बुझेका छन् । नेपालका नागरिकलाई भारतकै गतिमा खोप सुनिश्चित नभए यसको नकारात्मक असर भारतमा समेत पर्ने देखिएको छ । भारतले कोभिसिल्डबाहेक कोभ्याक्सिन खोपसमेत दिन सक्ने संकेत मिलेको स्वास्थ्य मन्त्रालय स्रोतले बतायो । भारतको सिरम इन्स्टिच्युट अफ इन्डियासँग प्रतिमात्रा ४ अमेरिकी डलरमा खरिद गरिएको कोभिसिल्डको १० लाख मात्रा अझै आएको छैन ।

हालसम्म दुई मात्रा लगाउनुपर्ने ५८ लाख ४८ हजार र एक मात्रा लगाए पुग्ने १५ लाख ३४ हजार ८ सय ५० मात्रा गरी कुल ७३ लाख ८२ हजार ८ सय ५० डोज खोप आइसकेको छ । काठमाडौंमा बुधबारदेखि १८ वर्षमाथिकालाई जोन्सन एन्ड जोन्सनको जान्सेन खोप दिन थालिएको छ । प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले खोप उब्रिएकाले १८ वर्षमाथिकालाई लगाउने निर्णय भएको बताए ।

यसैबीच, कोभिडको डेल्टा भेरिएन्टका कारण खोपको दुवै मात्रा लगाए पनि संक्रमण भइरहेको इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) को नयाँ अध्ययनले जनाएको छ । नेपालमा समेत दोस्रो लहरको मुख्य कारण डेल्टा भेरिएन्टलाई मानिएको छ । भारतमा सय जनामा देखिएको संक्रमणमध्ये करिब ९० संक्रमणमा डेल्टा भेरिएन्ट जिम्मेवार छ । खोप लगाए पनि संक्रमित हुने खतरा कायमै रहेकाले घरबाहिर निस्किँदा उपयुक्त मास्क, सामाजिक दूरी र नियमित साबुनपानी अनिवार्य सर्त रहेको डा. अधिकारी बताए ।

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) ले खोपको पूर्ण मात्रा लिएका व्यक्ति दैनिक गतिविधिमा मास्क नलगाएर सामेल हुन सक्ने बताए पनि विश्व स्वास्थ्य संगठनले डेल्टा भेरिएन्टका कारण मास्क लगाउन सुझाव दिएको छ ।

तेस्रो लहरको चेतावनी

स्वास्थ्य मन्त्रालयले महामारीको तेस्रो लहर आउन सक्ने भन्दै स्वास्थ्य मापदण्ड अपनाउन सचेत गराएको छ । भारत सरकारले समेत गत शुक्रबार जोखिम बढ्ने संकेत गर्दै आगामी सयदेखि १ सय २५ दिन कोभिड–१९ विरुद्धको लडाइँका लागि धेरै महत्त्वपूर्ण रहेको जनाएको थियो ।

यसअघि भारतमा देखिएको महामारीको प्रभाव केही दिनपछि नेपालमा पर्ने गरेको थियो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा.जीडी ठाकुरले भने अब भारतका आधारमा यताको अवस्था आकलन गर्न नसकिने बताए । ‘भारतमा खोप लगाउनेको संख्या बढ्दै गएको छ । त्यहाँकै जस्तो महामारीको अवस्था यता नदेखिन सक्छ,’ उनले भने ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भारतमा पहिलो लहर आएको डेढ महिनापछि र दोस्रो लहर आएको महिना दिनमै नेपालमा त्यस्तै दृश्य देखिएको बताए । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार त्यहाँ खोप लगाउनेको संख्या ४१ करोड ७८ लाखभन्दा माथि छ भने ३१ दिनदेखि दैनिक संक्रमण दर करिब ३ प्रतिशत छ ।

नेपालमा भने बिहीबार १२ हजार ८ सय २९ नमुनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा २१.१५ प्रतिशत अर्थात् २ हजार ७ सय १४ जनामा संक्रमण देखिएको छ । थप २४ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन् ।

साउन लागेयता संक्रमितको संख्या र अनुपातमा क्रमिक वृद्धि देखिनु चिन्ताको विषय रहेको सहप्रवक्ता डा.अधिकारीले बताए । ‘कोभिडले गर्दा जटिल र जोखिम अवस्थाका बिरामी स्वास्थ्य निकायमा भर्ना हुने दरमा समेत वृद्धि देखिएको छ,’ उनले भने ।

प्रकाशित : श्रावण ८, २०७८ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?