यस्ता छन् देउवाका ४ मन्त्री- समाचार - कान्तिपुर समाचार

यस्ता छन् देउवाका ४ मन्त्री

कान्तिपुर संवाददाता

काठमाडौँ — सर्वोच्च अदालतको परमादेशपछि प्रधानमन्त्री नियुक्त भएका शेरबहादुर देउवाले मंगलबारदेखि कार्यभार सम्हालेका छन् । उनको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले  मंगलबार नै ५ सदस्यीय मन्त्रिपरिषद् गठन गरेकी छिन् ।

प्रधानमन्त्री देउवाले पहिलो चरणमा कांग्रेसबाट २ र माओवादीबाट २ गरी ४ जनालाई मन्त्री बनाएका छन् ।

शिक्षा, सिँचाइ र रक्षापछि गृह

बालकृष्ण खाँण, गृह

खाँण चौथो पटक मन्त्री भएका हुन् । २०६६ मा शिक्षा तथा खेलकुद राज्यमन्त्री भएका उनी सिँचाइमन्त्री भए । २०७३ मा रक्षामन्त्री भए । हाल कांग्रेस संसदीय दलका प्रमुख सचेतक हुन् । रूपन्देही तिलोत्तमा–८ का उनले स्नातक गरेका छन् । २०३३ मा कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघबाट राजनीति थालेका उनी रूपन्देहीको जिल्ला अध्यक्ष हुँदै २०३९ मा नेविसंघको केन्द्रीय समिति सदस्यसमेत भए । २०४३ मा त्रिवि स्ववियु सभापति र २०४४ मा नेविसंघ अध्यक्ष पनि भए । २०५४ मा उनी नेपाल तरुण दलको अध्यक्ष भए । २०५६ देखि कांग्रेस केन्द्रीय समिति सदस्य भए । २०४८ मै प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । २०६४ र २०७० मा रूपन्देही–३ बाट निर्वाचित भएका उनलाई २०७४ मा पार्टीले प्रतिनिधिसभामा समानुपातिक सांसद बनाएको हो ।

तीन मन्त्रालयको अनुभव

पम्फा भुसाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ

माओवादी नेतृ भुसालसँग यसअघि तीन पटक मन्त्रालय सम्हालेको अनुभव छ । २०६४ मा महिला, बालबालिका तथा समाज कल्याण, २०६५ मा सामान्य प्रशासन र २०६८ मा शान्ति तथा पुनर्निर्माणमन्त्री भइसकेकी छन् । ललितपुर–१३ की उनले स्नातकोत्तर गरेकी छन् । ललितपुर–३ बाट निर्वाचित उनी २०३७ मा नेकपा (चौम) बाट पार्टीगत राजनीतिमा प्रवेश गरेकी हुन् । २०३९ मा अनेम संघको महासचिव भइन । २०४६ मा नेकपा (एकता केन्द्र) मा क्षेत्रीय ब्युरो सदस्य, संयुक्त जनमोर्चा नेपालको केन्द्रीय सचिव, महासचिव हुँदै २०५१ मा अध्यक्षसमेत भइन् । नेकपा माओवादीका लागि उनी पहिलो महिला केन्द्रीय सदस्य हुन् । २०६४ मा ललितपुर–३ बाट संविधानसभा सदस्य निर्वाचित उनी पछिल्लोपटक २०७४ मा पनि उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन् ।

शान्ति, ऊर्जा र गृहपछि अर्थ

जनार्दन शर्मा, अर्थ

शान्ति तथा पुनर्निर्माण, ऊर्जा, गृहमन्त्री भइसकेका शर्माले अब अर्थ मन्त्रालयको नेतृत्व गर्दै छन् । संविधानसभा सदस्य निर्वाचित भएपछि उनी २०६५ मा शान्ति तथा पुनर्निर्माणमन्त्री थिए । २०७३ मा ऊर्जा र २०७४ मा गृहमन्त्री भएका थिए । सेना समायोजन विशेष समिति सदस्य भएका मुसीकोट–५ रुकुम पश्चिमका उनी सोही जिल्लाबाट निर्वाचित हुन् । २०३४ मा पार्टी इकाइ कमिटी (चौम) बाट राजनीति सुरु गरेका शर्मा २०५६ मा तत्कालीन नेकपा (माओवादी) को केन्द्रीय सदस्य भए । २०५७ मा पोलिटब्युरो सदस्य जनमुक्ति सेनाको डिभिजन र २०६० मा माओवादीको स्थायी समिति सदस्य भए । २०७० मा जनवर्गीय संगठन इन्चार्ज भए । अन्तरिम व्यवस्थापिका सदस्य, संविधानसभा सदस्यसमेत भएका उनी २०७४ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

अर्थपछि कानुन, न्याय

ज्ञानेन्द्रबहादुर कार्की, कानुन, न्याय तथा संसदीय मामिला

भोजपुरको देउराली गैरीगाउँका कार्की कांग्रेस सभापति शेरबहादुर देउवाका निकै विश्वासिला मान्छिन् । उनीसँग जलस्रोत र अर्थमन्त्रालय सम्हालेको अनुभव छ । उनी २०६३ मा गिरिजिाप्रसाद कोइराला सरकारमा जलस्रोत राज्यमन्त्री भएका थिए । कांग्रेसले आर्थिक विषय बुझेका नेतालाई मात्रै अर्थ मन्त्रालयको जिम्मेवारी दिँदै आएको परम्परा तोड्दै २०७४ मा शेरबहादुर देउवाले उनलाई अर्थमन्त्री बनाएका थिए । स्नातकोत्तर तहसम्म अध्ययन गरेका उनले २०२७ मा नेपाल विद्यार्थी संघमा आबद्ध भएपछि राजनीति सुरु गरेका हुन् ।

उनी नेविसंघको केन्द्रीय अध्यक्षसमेत भए । २०५८ देखि कांग्रेसमा केन्द्रीय सदस्य छन् । उनी कांग्रेसको भोजपुर सभापति पनि भए । पछिल्लो पटक उनी प्रतिनिधिसभा सदस्यमा सुनसरी क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका हुन् ।

प्रकाशित : असार ३०, २०७८ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्

‘टिम अफ द टुर्नामेन्ट’मा इटालीका पाँच

एएफपी

नियोन — युरोपियन च्याम्पियन इटालीका पाँच खेलाडीले मंगलबार घोषणा गरिएको यूईएफएको आधिकारिक ‘टिम अफ द टुर्नामेन्ट’ मा स्थान बनाएका छन् ।

आइतबार सम्पन्न युरोपियन च्याम्पियनसिपमा देखाएको प्रदर्शनलाई आधार बनाएर छनोट गरिएको टिममा विश्वका कहलिएका खेलाडीहरू क्रिस्टियानो रोनाल्डो, केलियन एमबाप्पे, रोबर्ट लेवान्डोस्की परेका छैनन् ।

अग्रपंक्तिमा इटालीका फेडेरिको किइसा, फाइनलमा पराजित इंग्ल्यान्डका रहिम स्टर्लिङ र बेल्जियमका रोमेलु लुकाकुलाई टोलीमा राखिएको छ । बेल्जियम क्वाटरफाइनलमा इटालीसँग पराजित भएको थियो । इटालीले वेम्बलीमा इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गर्दै दोस्रो पटक युरोपियन च्याम्पियनसिप जितेको थियो ।

पाँच गोल गरेका रोनाल्डोले गोल्डेन बुटको उपाधि जितेका थिए । चेक गणतन्त्रका प्याट्रिक सिकले पनि ५ गोल नै गरेका थिए । यूईएफएका १६ प्रशिक्षकका विज्ञ प्यानल र पूर्वखेलाडीहरूले छनोट गरेको उत्कृष्ट खेलाडी समावेश ‘टिम’ को सूचीमा यी दुवैलाई राखिएको छैन । छनोट प्यानलमा फाबियो कापेलो, रोबी किन, इस्टेबान काम्बियासो, डेविड मोयेजलगायत थिए ।

युरो २०२० मा सर्वाधिक गोल गर्ने ६ खेलाडीबाट ४ खेलमा ४ गोल गरेका लुकाकु मात्र छानिएका छन् । एमबाप्पेले ४ खेलमा कुनै गोल गर्न सकेनन् भने स्विट्जरल्यान्डसँगको अन्तिम १६ को खेलमा उनले पेनाल्टी सुटआउटमा निर्णायक पेनाल्टी गुमाएका थिए । फिफाको वर्तमान विश्व वर्षका खेलाडी लेवान्डोस्कीले तीन खेलमा तीन गोल गरे पनि उनको टोली पोल्यान्ड समूह चरणबाटै बाहिरिएको थियो ।

इंग्ल्यान्डका कप्तान ह्यारी केनले ४ गोल गरेका थिए । उनलाई पनि उत्कृष्ट खेलाडीको सूचीमा राखिएको छैन । इंग्ल्यान्डबाटै स्टर्लिङसहित रक्षकद्वय केयल वाल्कर र ह्यारी मगायरले स्थान पाएका छन् । इटाली टोलीका गोलरक्षक जियनलुइजी डोनारुमा, रक्षकद्वय लियानार्डो बोनुची र लियोनार्डो स्पिनाजोला तथा मिडफिल्डर जोर्गिन्होलाई उत्कृष्ट टिमभित्र समावेश गरिएको छ ।

युरो २०२० को टिम अफ द टुर्नामेन्ट इटालीका जियनलुइजी डोनारुमा (गोलरक्षक), रक्षकमा लियोनार्डो बोनुची, लियोनार्डो स्पिनाजोला, केयल वाल्कर (इंग्ल्यान्ड), ह्यारी मगायर (इंग्ल्यान्ड), मिडफिल्डर पिइरे–इमिल होजबर्ग (डेनमार्क), जोर्गिन्हो (इटाली), पेड्री (स्पेन) तथा फरवार्डमा फेडेरिको किइसा (इटाली), रोमेलु लुकाकु (बेल्जियम) र रहिम स्टर्लिङ (इंग्ल्यान्ड) छन् ।

प्रकाशित : असार ३०, २०७८ ०८:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×