खोपबारे हरेक मन्त्रीका कुरा चर्का

स्वास्थ्यमन्त्री श्रेष्ठले भने– ‘खोप ल्याएर चमत्कार देखाउनेछौं’

असार १२, २०७८

मकर श्रेष्ठ

काठमाडौँ — ‘जनताले नो भोट, नो खोप भनेका छन्, हामी एस खोप, एस भोट गराउँछौं,’ यो भनाइ बिहीबार मात्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नयाँ जिम्मेवारी पाएका मन्त्री कृष्णगोपाल श्रेष्ठको हो । सरकारले खोपको व्यवस्था नगरेसम्म मध्यावधि निर्वाचनमा भोट हाल्न नजाने सर्वसाधारणको अभिव्यक्ति सुनिन थालेपछि मन्त्री श्रेष्ठले शुक्रबार स्वास्थ्य मन्त्रालयको कार्यभार सम्हाल्दा खोपको व्यवस्था गर्ने भाषण गरेका हुन् ।

‘खोपका बारेमा अब धेरै हल्ला होइन, काम गरेर देखाउँछौं,’ उनले भने, ‘हामी कुराभन्दा काममा विश्वास गर्छौं, त्यसैले हल्ला नगरीकन छिट्टै खोप ल्याएर चमत्कार देखाउने छौं ।’ खोप लगाउने प्राथमिकता बाढीपहिरो प्रभावित क्षेत्रका सर्वसाधारणलाई दिने उनले बताए । खोप ल्याउन विभिन्न मुलुकसँग छलफल भइरहेको उनले बताए ।

तत्कालीन स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले जेठ १० को पत्रकार सम्मेलनमा अमेरिका, बेलायत, रुस, भारत र चीन सरकारसँग खोप खरिदका लागि सहजीकरण गरिदिन अनुरोध गरिएको बताएका थिए । त्रिपाठीले मात्रै नभई प्रधानमन्त्री केपी ओलीले समेत विभिन्न मुलुकका राजदूतलाई भेटेर खोपका लागि आग्रह गरे । राष्ट्रपति विद्यादेवी भण्डारीले पनि खोप उत्पादन गर्ने मुलुकका राष्ट्र प्रमुखलाई समेत पत्राचार गरिन् तर कसैले पत्याएका छैनन् । चीनबाट ४० लाख खोप खरिद गरेर ल्याउन लागेको हल्ला चलेको छ तर सरकारले त्यसलाई सार्वजनिक गरेको छैन ।

कोरोना संक्रमण सुरु भएयता तीन जना स्वास्थ्यमन्त्री भए । उनीहरू सबैले आफ्नो प्राथमिकता खोप ल्याउने भन्न छाडेका छैनन् । त्रिपाठीले मन्त्री भएको केही दिनमै खोप ल्याउने चमत्कार हुने बताएका थिए । बुधबार मन्त्रालयको जिम्मेवारी सम्हालेका श्रेष्ठ पनि उनकै शैलीमा खोप ल्याएर चामत्कारिकता देखाउने बताएका छन् । सबैजसो स्वास्थ्यमन्त्रीहरूले ७२ प्रतिशत जनतालाई खोप लगाउने बताएका थिए तर अहिलेसम्म १० लाखभन्दा बढी खोप खरिद गर्नै सकेको छैन । ‘स्वास्थ्यमा जो मन्त्री भएर आए पनि खोप ल्याउने प्रतिबद्धता जनाउँछन तर पूरा हुन सकेको छैन,’ मन्त्रालयका एक उच्च तहका कर्मचारीले भने, ‘अहिलेका मन्त्रीको पनि खोप लगाइछाड्ने अठोट छ । काम गरेपछि थाहा होला ।’

१९ दिन स्वास्थ्यमन्त्री भएका शेरबहादुर तामाङले पनि नियुक्ति भएको भोलिपल्ट जेठ २४ मा श्रेष्ठले जस्तै सबै नेपालीलाई खोप दिने सरकारको पहिलो प्राथमिकता रहेको बताएका थिए । ‘जसरी भए पनि छिटो खोप ल्याएर सबै नेपालीका लागि खोप सुनिश्चित गर्ने लक्ष्य रहेको छ । रोग लागेपछि उपचार गर्नेभन्दा रोग लान नदिन खोपको सहज उपलब्धताका लागि मेरो प्रहिलो प्राथमिकता हुनेछ,’ उनले भनेका थिए, ‘केही महिनाभित्र सबै नेपालीले खोप दिन सबै उपाय लगाइनेछ ।’

सर्वोच्चको आदेशपछि उनी स्वास्थ्य मन्त्रीबाट बाहिरिए तर खोप आउने आश्वासन भने बाँड्न भुलेनन् । तामाङले फेसबुकमा स्टाटस लेखेका छन,‘खोप ल्याउनेसम्बन्धी सबै प्रक्रिया भएको र केही दिनमा नै खोप आउने सुनिश्चित भएको छ । यदि पछिल्लो राजनीतिक घटनाक्रमले खोप आउन ढिलो हुने र नेपाली नागरिकको जीवनमाथि नै तलमाथि भएमा त्यसको नैतिक जिम्मेवारी मेरो हुनेछ । राजनीतिको खेलमा नेपाली नगरिकको जीवनमाथि खेलवाड गर्ने छुट कसैलाई छैन ।’

उनीभन्दा अघिका त्रिपाठीले पनि खोप खरिद, पारदर्शिता र स्थानीय तहमा आभारभूत अस्पताल बनाउने विषयलाई प्राथमिकतामा राखेको दाबी गर्थे । उनको पालामा २२ लाख ४८ हजार खोप अनुदानमा आयो । २० लाख खरिदका लागि अग्रिम पैसा दिए पनि १० लाख मात्रै आयो बाँकी १० लाख अझै आएको छैन । थप ५० लाख डोज खरिदको प्रस्ताव गरे पनि कमिसनमा कुरा नमिलेर खरिद नगरेको अभिव्यक्तिले उनी आलोचित बने ।

मन्त्रीबाट बाहिरिँदा उनले पनि भारतबाट १७ लाख खोप दुई साताभित्रै आउने दाबी गरेका थिए । तर, अझै आएको छैन । सरकारले काम देखाउन दोस्रो मात्राको समेत सुनिश्चित नगरी अनुदान र किनेको खोप लगाए । त्यही खोप लगाएका झन्डै साढे १४ लाखले अझै दोस्रो डोज पाउन सकेका छैनन् ।

कोरोना भाइरसकोरोना खोप

मकर विगत डेढ दशकदेखि पत्रकारिता गरिरहेका श्रेष्ठ शिक्षा, संसदीय मामिला र सुशासनका विषयमा लेख्छन्।

Link copied successfully