डेल्टा प्लस : खोप नआए झनै भयावह- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डेल्टा प्लस : खोप नआए झनै भयावह

लकडाउन खुकुलो भएपछि स्वास्थ्य मापदण्डमा हुने लापरबाही कोभिडको तेस्रो लहर ल्याउन जिम्मेवार हुने विज्ञहरुको चेतावनी
अतुल मिश्र

काठमाडौँ — खोपको अभावमा कोभिड–१९ को तेस्रो लहर आउने अवस्थामा ‘डेल्टा प्लस’ भेरिएन्टले धेरै प्रभाव पार्ने विज्ञहरूले बताएका छन् । हाल नेपालमा दोस्रो लहर फैलिएको डेल्टा भेरिएन्टको अर्को रूप ‘डेल्टा प्लस’ हो ।

निषेधाज्ञा खुकुलो भएसँगै काठमाडौंको सडकमा देखिएको सवारी साधनको चाप । तस्बिर : अंगद ढकाल

डेल्टा (बी.१.६१७.२) भेरिएन्टको विकसित रूप ‘एवाई.१’ वा डेल्टा प्लस भेरिएन्ट यसै साता नेपालमा समेत पुष्टि भएको छ । यो म्युटेसनको नाम ‘के४१७ एन’ हो । छिमेकी भारतलगायत ११ मुलुकमा डेल्टा प्लस भेरिएन्ट देखिएको छ । ‘हालसम्म ९ वटा नमुनामा देखिएको डेल्टा प्लस भेरिएन्ट उच्च संक्रामक छ,’ स्वास्थ्य मन्त्रालयका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले भने, ‘हामी जिम्मेवार भएनौं भने डेल्टा प्लसद्वारा उत्पन्न संक्रमण बढ्न सक्छ ।’

डेल्टा प्लस भेरिएन्ट कोभिडको तेस्रो लहरको ट्रिगर (उत्प्रेरक) हुने उच्च सम्भावना रहेको नागासाकी विश्वविद्यालयका प्राध्यापक एवं भाइरोलोजिस्ट डा. वासुदेव पाण्डेको भनाइ छ । डेल्टा प्लस भेरिएन्ट तेस्रो लहर ल्याउनमा जिम्मेवार हुन सक्ने उच्च सम्भावनापछि यसको उच्च संक्रामकतासँगै कोषमा भाइरस टाँसिन सक्ने क्षमतासमेत प्रमुख छ ।

खोप लगाएर वा प्राकृतिक रूपमा संक्रमण भएर शरीरमा उत्पन्न एन्टिबडीको प्रभावकारिता डेल्टा प्लस भाइरसले कम गराउन सक्छ तर मुलुकमा खोपको अभाव जारी रहेका कारण यसले झनै भयावह अवस्था निम्त्याउन सक्ने औंल्याउँदै डा. पाण्डेले भने, ‘डेल्टा प्लसले बालबालिकादेखि बूढापाकासम्म सबै उमेर समूहलाई संक्रमण गर्न र फोक्सोमा बढी असर पार्न सक्ने क्षमता देखिएकाले समयमै सचेतता आवश्यक छ ।’

विज्ञहरूका अनुसार धेरै संक्रामक रहेको डेल्टा प्लस फोक्सोको कोषिकाको रिसेप्टरमा बलियोसँग टाँसिन सक्छ । यही कारणले फोक्सोलाई छिटो नोक्सान पुर्‍याउँछ । यो मोनोक्लोनल एन्टिबडी ककटेललाई समेत माथ दिन सक्षम देखिएको छ । भारतको इन्डियन सार्स कोभ–२ कन्सोर्टियम अन जिनोमिक्स (आईएनएसएसीओजी) का अनुसार डेल्टा प्लस भेरिएन्टको ट्रान्समिसन क्षमता र फोक्सोको कोषिकाको रिसेप्टर्ससँग टाँसिने क्षमता बढी छ ।

भारत सरकारले डेल्टा प्लसलाई ‘भेरिएन्ट अफ इन्टरेस्ट’ (चासोको भेरिएन्ट) को श्रेणीमा राखेको छ । भारतीय सञ्चारमाध्यमले भने पछिल्लो समय सरकारी स्रोतलाई उल्लेख गर्दै डेल्टा प्लसलाई बढी गम्भीर श्रेणी अर्थात् भेरिएन्ट अफ कन्सर्नमा राखिसकिएको जनाएका छन् । ‘डेल्टा प्लस भेरिएन्ट तेस्रो लहरको जिम्मेवार हुन सक्छ वा सक्दैन अहिल्यै भन्न सकिन्न,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने, ‘तेस्रो लहरका लागि भाइरसमात्रै दोषी होइन, निषेधाज्ञा खुकुलो भएपछि आमनेपालीको व्यवहारसमेत दोषी हुन्छ ।’

मुलुकमा डेल्टा प्लसबाट संक्रमित नौ जनामा बालबालिका र वृद्धसमेत छन् । अधिकारीका अनुसार डेल्टा प्लसबाट संक्रमित नौ जना निको भइसकेका छन् तर हाल दोस्रो लहरमा केही कमी आएकै समय निषेधाज्ञा खुकुलो गरिएपछि आम नेपालीको देखिएको व्यवहारले तेस्रो लहर चाँडो आउने सम्भावना देखिएको समेत उनको भनाइ छ । डेल्टा प्लससहित हालसम्म नेपालमा

‘भेरिएन्ट अफ कन्सर्न’ का रूपमा अल्फा (बी.१.१.७) र डेल्टा (बी.१.६१७.२) भेरिएन्ट देखिएको छ । डा. पौडेलका अनुसार पहिलो लहरको भाइरसभन्दा सय प्रतिशतभन्दा बढी संक्रामक डेल्टा भेरिएन्ट हालसम्म ६४ वटा नमुनामा देखिसकिएको छ ।

यस्तै भेरिएन्ट अफ इन्टरेस्टका रूपमा रहेको कप्पा भेरिएन्ट (बी.१.६१७.१) समेत नेपालमा देखिसकिएको हो । कप्पा भेरिएन्ट पहिलो लहरको भाइरसको दाँजोमा २८ देखि ८९ प्रतिशतसम्म बढी संक्रामक देखिएको छ ।

हालसम्म मुलुकमा ४१३ नमुनामा कप्पा भेरिएन्ट देखिएको थियो । हाल मुख्य रूपले नेपालमा कप्पा देखिएको छैन तर डेल्टा, डेल्टा प्लस, कप्पा सबैको सर्ने दर उच्च छ । यी भेरिएन्टहरू बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिलाई असर पार्ने विभिन्न अध्ययनहरूबाट पाइएको डा. पौडेलको भनाइ छ ।

हालसम्म डेल्टा प्लस भेरिएन्ट नेपाल, भारत, अमेरिका, ब्रिटेन, क्यानाडा, पोल्यान्ड, जापान, पोर्चुगल, रुस, स्विट्जरल्यान्ड, टर्की गरी ११ मुलुकमा पाइएको जनाउँदै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. जीडी ठाकुरले भने, ‘हाल मुलुकमा देखिएको स्वास्थ्य सुरक्षा अपनाउन हेलचक्य्राइँ र खोपको उपलब्धता सुनिश्चित हुन नसक्नुले कोभिडको तेस्रो लहर ल्याउन सहज हुन्छ । यसमा पनि डेल्टा प्लस भेरिएन्टले उत्प्रेरकको काम गर्न सक्ने सम्भावना छ ।’

मुलुकमा दुई महिनाभित्र तेस्रो लहर आउने सम्भावना रहेको उनले बताए । ‘भारतको महाराष्ट्र राज्यको स्वास्थ्य विभागले पछिल्लो साता दिएको प्रेजेन्टेसनअनुसार डेल्टा प्लस महाराष्ट्रमा तेस्रो लहरको कारण बन्न सक्नेछ,’ उनले भने ।

प्रकाशित : असार १२, २०७८ ०६:४०
प्रतिक्रिया
पठाउनुहोस्

खोप नलगाएका कामदार खाडी जान नपाउने

होम कार्की

काठमाडौँ — सरकारले खाडी देशमा काम गर्न जाने कामदारका लागि खोपको व्यवस्था गर्न नसके वैदेशिक रोजगार धराशायी हुने जोखिम बढेको छ । खाडीका मुलुकहरूले खोप लगाएका कामदार मात्र लैजाने आदेश जारी गरेपछि नेपाली श्रमिक जान नपाउने भएका हुन् ।


संयुक्त अरब इमिरेट्स (यूएई) मा गत वैशाख २३ देखि नेपालबाट कामदारसहितको यात्रुलाई प्रवेश निषेध छ । सातामा यूएई–नेपाल चारवटा चार्टर उडान भइरहेको छ । जसमा नेपाल र यूएईका दुई/दुई हवाई कम्पनीहरूले अनुमति पाएका छन् । यी विमानहरूले यूएईबाट नेपालमा यात्रु ल्याउन मात्रै पाउँछन्, लैजान पाउँदैनन् । वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठका अनुसार यूएईले उडानमा रोक लगाउँदा मात्रै ५ हजार जना नयाँ र बिदामा घर आएका कामदार रोकिएका छन् ।

असार ९ गते जारी खोपसम्बन्धी अर्को सूचनाले नेपालीको खाडीमा रोजगारी थप अन्योलमा परेको छ । ‘हामी त चार्टर उडान भएपछि पठाउन पाउँछौं होला भनेर अन्तिम श्रम स्वीकृति पाएका कामदारलाई काठमाडौं बोलाएका थियौं । टिकट कन्फर्म गर्ने कोसिसमा थियौं, चार्टरमा जान नै पाएन,’ श्रेष्ठले भने, ‘अब त खोप लगाइसकेकालाई मात्रै आउन पाउने खालको नीति लिएको छ ।’

कोरोना संक्रमणविरुद्ध दिइने खोपमध्ये यूएईको स्वास्थ्य मन्त्रालयले फाइजर–बायोटेक, स्पुतनिक–५, सिनोफार्म, अक्सफोर्ड–अस्ट्राजेनेकालाई मात्रै मान्यता दिएको छ । यी खोप लगाएकाले मात्रै यूएई प्रवेश पाइन्छ । यी खोप नेपालमा अभाव छ ।

कोरोनाको पहिलो संक्रमणको लहर देखिएलगत्तै कुवेतले नेपालबाट कामदार लगेको छैन । नयाँ भिसा पनि जारी गरेको छैन । आउँदो साउन १७ देखि भने खोप लगाइसकेको कामदार भने

आउन पाउने सूचना जारी गरेको छ । कुवेतले कोभिडबाट उच्च र कम जोखिममा रहेको देशको सूचीलाई हटाउँदै कुवेतले अनुमोदन गरेको खोप लगाएकालाई प्रवेशको अनुमति दिने नीति लिएको हो ।

कुवेतको १७, १८, २० र २२ नम्बर भिसा पाएर नेपालमा रोकिएका कामदारले अनलाइनबाट नै नवीकरण गर्न पाउने बाटो खोलिदिएको छ । नवीकरण गरी उनीहरू साउन १७ देखि कुवेत जान पाउनेछन् । त्यसका लागि कुवेतले अनुमोदन गरेको खोप भने लगाइसक्नुपर्नेछ । कुवेतले अक्सफोर्ड–अस्ट्राजेनेका, फाइजर, मोडर्ना र जोनसन एन्ड जोनसनलाई अनुमोदन दिएको छ । सेप्टेम्बरपछि भने खोप नलगाएकाको भिसा नवीकरण नगरिने जनाएको छ । ‘कुवेतले भनेको खोप हाम्रोमा छैन । यसबारे अझै स्पष्ट हुन जरुरी छ । हामीले नेपालको यथार्थ जानकारी गराउने प्रयासमा छौं,’ कुवेतका लागि नेपाली राजदूत दुर्गाबहादुर भण्डारीले भने, ‘हामीसँग एक महिनाको समय छ ।’

नेपाली कामदारको माग भइरहेको साउदी अरबले पनि एयरलाइन्स कम्पनीहरूलाई खोप नलगाएका यात्रुलाई नबोक्न निर्देशनात्मक आदेश जारी गरेको छ । साउदी प्रवेश गर्ने यात्रुले बोर्डिङ पास लिने बेला खोप लगाएको प्रमाणपत्र पेस गर्नुपर्छ । आन्तरिक मन्त्रालय, साउदीको सूचनाअनुसार आउँदो साउन १७ देखि खोपको मात्रा पूरा भएका कामदार मात्रै कार्यक्षेत्रमा काम गर्न पाउनेछन् । बिनाखोप काम गरेको भेटिएमा जरिवाना, निलम्बनदेखि डिपोर्टसम्म गर्न सक्ने नीति ल्याइएको छ ।

कोभिड–१९ महामारी गन्तव्य मुलुकमा फैलिएको डेढ वर्षदेखि वैदेशिक रोजगारमा जाने नेपालीको संख्या न्यून छ । दोस्रो चरणको कोरोनाको संक्रमण लहर भइरहेका बेला मलेसियाबाहेकका प्रमुख गन्तव्यका रोजगारदाता कम्पनीले झन्डै १ लाख १७ हजार कामदार लैजानका लागि मागपत्र प्रमाणीकरण गरे पनि कामदारको भर्ना प्रक्रिया अगाडि बढ्न सकेको छैन ।

संघका महासचिव श्रेष्ठका अनुसार सबैभन्दा बढी कतारबाट ५० हजार, साउदी अरबबाट २६ हजार, साइप्रसबाट १७ हजार, संयुक्त अरब इमिरेट्स (यूएई) बाट ५ हजार, रोमानियाबाट ९ हजार, बहराइनबाट १७ सय र ओमानबाट १५ सय जना नेपाली कामदारको माग भएको हो । वैदेशिक रोजगारबाट घर बिदामा आएका हजारौं कामदार खोप नपाएका कारण पुनः रोजगारीमा जान नमिल्नाले रोजगार गुम्न लागेको छ । नेपालमा कोभिसिल्ड र भेरोसेल खोप ल्याइएको थियो । निकै कम परिमाणमा ल्याइएकाले वैदेशिक रोजगारीमा जानेहरू सरकारको खोपको प्राथमिकतामै परेनन् ।

वैदेशिक रोजगार व्यवसायी संघका पुर्व अध्यक्ष रोहण गुरुङले अबको वैदेशिक रोजगार अनिवार्य खोपसँग जोडिएको बताए । ‘खोप नलगाएका कामदारलाई गन्तव्य मुलुकहरूले प्रवेश अनुमति नदिने निश्चित देखिन्छ । खोप व्यव स्थापन गर्न नेपाल सरकारले बुद्धिमानी ढंगले योजना बनाउन नसकेको खण्डमा नेपालको बैदेशिक रोजगार कोल्याप्स हुनसक्दछ’, उनले भने,‘जुन खोपलाई गन्तव्य देशले प्रयोग गरेको छ । त्यो नेपालमा छैन ।’

प्रकाशित : असार १२, २०७८ ०६:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×