पर्सा — वीरगन्जस्थित नारायणी अस्पतालमा ६६ शय्याको कोभिड डेडिकेटेड अस्पताल निर्माण हुने भएको छ । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. वीरेन्द्र प्रधानका अनुसार, केन्द्रले अस्पताल निर्माणका लागि ३ करोड रुपैयाँ बजेट निकासा गरेको छ ।
टेन्डर प्रक्रिया पनि सुरु भइसकेकाले छिट्टै थालिने उनले दाबी गरे । ‘तत्काललाई ७० फिट चौडाइ र १ सय १० फिट लम्बाइ भएको अस्पताल भवनको भुइँतला निर्माण हुनेछ,’ उनले भने, ‘पछि तीनतले भवन निर्माण हुन सक्ने खालको बनाइँदै छ ।’ यो कक्षमा वयस्क कोभिड बिरामीहरूको उपचार हुने डा. प्रधान बताउँछन् ।
कोरोनाको पहिलो र दोस्रो लहरमा समेत वीरगन्ज हटस्पट बनेको र यहाँ बारा, रौतहट, सर्लाही र महोत्तरीसम्मका कोभिड बिरामी आउन गरेकाले कोभिड डेडिकेटेड अस्पतालको आवश्यकता महसुस भएको उनले बताए । अस्पतालका कोभिड कोअर्डिनेटर डा. उदयनारायण सिंह भवन बने बिरामीहरू निजी अस्पतालमा जान नपर्ने र आर्थिक व्ययभार घट्ने बताउँछन् । ‘सरकारी अस्पतालबाटै बिरामीले विश्वसनीय तथा सस्तो र सुलभ उपचार पाउनेछन्, हाल निजी अस्पतालहरूले कोभिड बिरामीको उपचारमा चर्को शुल्क लिइरहेको जनगुनासो पनि हट्नेछ,’ उनले भने ।
कोरोनाको तेस्रो लहर आए बालबालिका बढी प्रभावित हुने स्वास्थ्यविद्हरूले बताउँदै आएका छन् । त्यसैले अस्पतालमा बाल सघन चिकित्सा इकाई (पीआईसीयू) को व्यवस्थासमेत भइसकेको डा. सिंहले बताए । दुई साताअघि वीरगन्ज उद्योग वाणिज्य संघले अस्पतालमा निर्माण गरिदिएको पीआइीसीयूको उद्घाटन भएको हो । उक्त कक्ष ३० शय्याको छ ।
