फरक-फरक खोप लगाउँदा प्रभावकारी हुन्छ भन्ने आधार छैन : डब्लूएचओ

असार १०, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) नेपालले कोरोना भाइरस विरुद्धको पहिलो मात्रा ‘एस्ट्राजेनेका (कोभिसिल्ड)’ खोप लगाएका व्यक्तिले दोस्रो मात्रा ‘भेरोसेल’ खोप लगाउँदा अझै बढी प्रभावकारी हुन्छ भन्ने आधार पुष्टि नभएको बताएको छ । 

‘पहिलो मात्रा ‘एस्ट्राजेनेका (कोभिसिल्ड)’ खोप लगाएका व्यक्तिले दोस्रो मात्रा ‘भेरोसेल’ खोप लगाउँदा अझै बढी प्रभावकारी हुन्छ भन्ने भन्ने गलत समाचारप्रति डब्लुएचओ ध्यानआकर्षण गराउन चाहन्छ,’ डब्लूएचओले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘डब्लुएचओले यस किसिमको कुनै पनि बयान जारी गरेको छैन र यो झूटो आरोप हो । यस किसिमका गलत सूचनाले जनताको स्वास्थ्यमा गम्भीर परिणाम निम्त्याउन सक्छ ।’

डब्लूएचओले दुई भिन्न किसिमका खोप लगाउँदाको प्रभावकारिताका बारे सीमित तथ्याङ्क मात्र उपलब्ध भएको जनाएको छ । विज्ञप्तिमा भिन्न किसिमका खोपको प्रयोग र प्रभावकारिताका विषयमा अध्ययनहरु भइरहेको र  एस्ट्राजेनेका (कोभिसिल्ड) खोपको साटो (दोस्रो मात्रामा) भेरोसेल खोप लगाउन मिल्छ भन्ने निष्कर्षमा पुग्नका लागि पर्याप्त वैज्ञानिक प्रमाण आवश्यक रहेको जनाइएको छ । 

नेपालमा फागुन तेस्रो साता कोभिसिल्डको पहिलो मात्रा लगाएका करिब साढे १४ लाख ६५ वर्षमाथिका ज्येष्ठ नागरिक दोस्रो मात्राको पर्खाइमा छन् । विश्व स्वास्थ्य संगठनले गत फेब्रुअरीमा कोभिसिल्ड खोप ८ देखि १२ सातासम्मको अन्तरमा लगाए प्रभावकारी हुने भनेको थियो । जसअनुसार फागुन २३ देखिको खोप अभियानमा सहभागीले जेठ तेस्रो सातासम्म दोस्रो डोज लिइसक्नुपर्ने हो । तर स्वास्थ्य मन्त्रालयको नेतृत्व लिने मन्त्रीहरू छोटोछोटो समयमा फेरिँदा सरकारले अपेक्षाकृत रुपमा खोप भित्र्याउन सकेको छैन । 

सम्बन्धित समाचार

कोरोना भाइरसकोरोना खोप

कान्तिपुर

Link copied successfully