२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

बिहे भोज खाएका ३५ जनामा कोरोना

प्रकाश बराल

बागलुङ — दुई साताअघि बागलुङ नगरपालिका–३ खोलाखेत टोलमा विवाह भोजमा सहभागी ३५ जनामा मंगलबार कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहे भोज खाएका ३५ जनामा कोरोना

भोज खाएको केही दिनपछि कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि नगरपालिकाले ५० जनाको पीसीआर परीक्षण गराएको थियो । नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले अधिकांश लक्षणसहितका संक्रमित भएको बताए ।

‘निषेधाज्ञाको समयमा पनि धुमधामले भोज लगाएका रहेछन्,’ उनले भने, ‘सदरमुकाम नजिकै भएकाले बजारवासीसमेत त्रसित छन् ।’ खोला खेतवासीले भने विवाहमा आफ्नै परिवार र टोलवासी मात्रै रहेको दाबी गरेका छन् । संक्रमण कसरी फैलियो भन्नेमा उनीहरूसमेत अन्योलमा छन् ।

टोलभरि नै संक्रमण देखिएपछि प्रशासन र नगरपालिकाले उक्त क्षेत्रलाई सिल गर्ने तयारी गरेको वडाध्यक्ष लक्ष्मी बाँस्कोटाले बताइन् । ‘संक्रमितलाई बाहिर जान आउन नदिने, बरु अत्यावश्यक सेवा वडाले पठाउने गरी काम हुँदै छ,’ उनले भनिन्, ‘सिंगो बजारलाई जोखिम हुने गरी आउजाउ गर्न दिइने छैन ।’ संक्रमित सबैलाई होम आइसोलेसनमा राखिनेछ । जटिल समस्या भएमा तत्काल अस्पताल ल्याउने गरी व्यवस्थापन भएको समेत उनले जानकारी दिइन् ।

यसअघि गत जेठ पहिलो साता बागलुङकै बडिगाड गाउँपालिकामा विवाहको भोज खाँदा वडा नम्बर ४ मा एकै परिवारका ४ जनासहित ७ को मृत्यु भएको थियो । बागलुङकै बलेवा क्षेत्रमा पनि विवाह, चौरासी पूजालगायत पर्व मनाउँदा सबैभन्दा धेरै संक्रमित भेटिएका थिए ।बागलुङ–३ बाट वडा ८ मा जन्ती गएका गाडी प्रहरीले नियन्त्रणमा समेत लिएको थियो । निषेधाज्ञाकै समयमा यो टोलमा पनि विवाह उत्सव गरिएपछि संक्रमित बढेका हुन् ।

‘चेन ब्रेकका लागि पहल भइरहेको थियो, जानेबुझेकाले नै विवाह भोज गरिदिएपछि फेरि जोखिम भयो,’ स्वास्थ्य शाखा प्रमुख खनालले भने, ‘सबै जागरुक नभएसम्म संक्रमणबाट मुक्त हुन सकिँदैन ।’ कतिपय पालिकामा भने कडाइ गरेकै कारण चेन ब्रेक र संक्रमण मुक्तसमेत भएका छन् ।

प्रकाशित : असार ९, २०७८ ०६:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?