१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३३३

साढे १४ लाखलाई खोपको दोस्रो मात्रा कहिले ?

खोपविज्ञ भन्छन्– ‘बेलैमा लगाउन नसके प्रभावकारी नहुन सक्छ’
मकर श्रेष्ठ

काठमाडौँ — विजयकुमार बमले बिहीबार ट्वीट गरेका छन्, ‘यस्तो विषम परिस्थितिमा ज्येष्ठ नागरिकको भत्ता बढाउनुको सट्टा ज्येष्ठ नागरिकलाई दोस्रो डोज कोभिसिल्ड भ्याक्सिनको तु व्यवस्था गर सरकार, यसमा नै सबैको भलाइ छ । प्राणै नरहे त्यो जाबो पैसा के काम ।’

साढे १४ लाखलाई खोपको दोस्रो मात्रा कहिले ?

उनले जस्तै खोपको चासो हिमा विष्टले पनि गरेकी छन् । ‘सरकार, हाम्रा बा–आमालाई दोस्रो डोज खोप खै ? मेरो पहिलो त कता हो कता तर घरै बस्दा पनि नियम पालना गरेका घरका ठूलाको हालत देख्दा डर र त्रास कहिलेसम्म ?’ विष्टले ट्वीटरमा लेखेकी छन् ।

सरकारले फागुन तेस्रो साता ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको कोभिसिल्ड खोप दिएको थियो । बेलायतको अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेकाले विकास गरेको उक्त खोप भारतको सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको हो । पहिलो डोज खोप लगाउन पाएपछि खुसी भएका वृद्धवृद्धा अहिले दोस्रो डोजको पर्खाइमा छन् । यस विषयमा सरकारले कुनै निर्णय गरेको छैन । स्वास्थ्य सेवा विभागका अनुसार यसरी खोप कुरेर बस्ने १४ लाख ५३ हजारभन्दा बढी छन् । केही दिनअघि सांसद, संसद् सचिवालयका कर्मचारी, सांसदका स्वकीय सचिवसहित १ हजार ८ सय जनाले दोस्रो डोज खोप लगाए ।

विश्व स्वास्थ्य संगठनले गत फेब्रुअरीमा कोभिसिल्ड खोप ८ देखि १२ सातासम्मको अन्तरमा लगाए प्रभावकारी हुने भनेको थियो । जसअनुसार फागुन २३ देखिको खोप अभियानमा सहभागीले जेठ तेस्रो सातासम्म दोस्रो डोज लिइसक्नुपर्ने हुन्छ । खोप उत्पादक मुलुक भारतमा भने कोभिसिल्ड खोपका लागि अन्तर १२ देखि १६ साता गर्ने निर्णय गरिएको छ । खोपविज्ञ डा. श्याम उप्रेतीले बेलैमा दोस्रो डोज नलाए खोप प्रभावकारी नहुने बताए । ‘बेलैमा दोस्रो डोज लगाउन नसके कोरोना महामारीको दोस्रो र त्यसपछि आउने अर्को लहरले असर गर्न सक्छ,’ उनले भने ।

कोभिसिल्ड लगाएको व्यक्तिले अर्को खोप लगाउन मिल्ने भनेर कुनै निकायले अहिलेसम्म सिफारिस गरेको छैन । स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा. झलक गौतमले अघिल्लो मात्रामा जुन कम्पनीको खोप लगाएको हो, दोस्रो मात्रा पनि उही कम्पनीकै लगाउनुपर्ने बाध्यताले कोभिसिल्ड खोप नै कुर्नुको विकल्प नभएको बताए । ‘पहिलो डोज लगाएका सबैलाई पुग्ने कोभिसिल्ड खोप छैन । खोप नआएसम्म दिन सक्ने अवस्था पनि भएन,’ उनले भने, ‘त्यसका लागि पहल भइरहेको छ ।’ सरकारसँग एक लाख डोज खोप मात्रै मौज्दात छ । यो खोप पनि फागुन २३ भन्दा अघि पहिलो डोज लगाएका तर दोस्रो डोज लगाउन छुटेका अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मीलगायतलाई लगाउने निर्णय स्वास्थ्य मन्त्रालयले गरेको छ ।

स्वास्थ्य मन्त्रालयले गठन गरेको खोपविज्ञ समूहका संयोजकसमेत रहेका डा. उप्रेतीले पहिलो डोज कोभिसिल्ड खोप लगाइसकेकालाई भारतबाहेकका मुलुकमा बनेको अस्ट्राजेनेकाको खोप पाए पनि दोस्रो डोज लगाउन सकिने बताए । बेलायत, कोरिया र भारतमा यो खोप उत्पादन भइरहेको छ । ‘जहाँ बने पनि एउटै फर्मुलाको भएकाले ल्याउन सके त दोस्रो डोज लगाउन हुन्छ,’ उनले भने । सरकारले भारतबाट २० लाख डोज कोभिसिल्ड खरिद गर्न अग्रिम भुक्तानी गरे पनि १० लाख अझै पाउन सकेको छैन ।

सरकारले यही खोप आउने भन्दै दोस्रो डोजको जोहो नगरी सबै खोप पहिलो चरणमै सकाएको थियो । भारतबाट १० लाख डोज अनुदानमा पाएपछि सरकारले थप १० लाख डोज खरिद गरेर ल्याएको थियो । त्यस्तै कोभ्याक्समार्फत ३ लाख ४८ हजार डोज पाएको थियो । भारतबाट तत्काल खोप नआउने निश्चित भएको छ । खोप उत्पादक सिरमले भारतको खोप अभियानलाई प्राथमिकतामा राखेकाले कोभ्याक्स र बिक्रीका लागि सन् २०२१ को अन्त्यसम्ममा मात्रै खोप निर्यात गर्न सकिने जनाएको छ । सिरमले अग्रिम पैसा बुझाएको नेपालको हकमा खोप दिने वा नदिने प्रस्ट्याएको छैन । भारतबाट खोप आउने सम्भावना न्यून भएपछि सरकार अन्यत्रको विकल्पमा लागेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार बेलायती राजदूत निकोला पोलिटलाई भेटेर अस्ट्राजेनेका–अक्सफोर्ड विश्वविद्यालयले उत्पादन गरेको खोप उपलब्ध गराउन आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार भेटमा दुई देशबीचको आपसी सम्बन्ध, कोरोना भाइरसविरुद्धको लडाइँमा परस्पर सहयोग आदानप्रदानबारे पनि छलफल भएको थियो । सरकारले अमेरिकी सरकारसँग पनि खोपका लागि पत्राचार भइसकेको जनाएको छ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलले वैशाख ३० मा अमेरिकी राजदूत रेन्डी बेरीबीच संवाद गरेर खोप सहयोग गरिदिन आग्रह गरेका थिए । नेपालमा कोरोना भाइरसको तीव्र फैलावट रोक्न खोप नै उपपुक्त माध्यम भएकाले त्यसका लागि अमेरिका सरकारको सहयोग चाहेको पोखरेलले बताएका थिए । उनले नेपालस्थित संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक सारा बेस्लो न्यान्तीसँग पनि कोभ्याक्सअन्तर्गतको खोप सक्दो छिटो नेपाल ल्याउनका लागि सहजीकरण गरिदिन आग्रह गरेका थिए ।

अन्यलाई चीन, रसियालगायत अन्य जुनसुकै मुलुकबाट खोप ल्याएर लगाए पनि कोभिसिल्ड पहिलो डोज लगाएकालाई समस्या भएको डा. उप्रेतीले बताए । ६५ वर्षमाथिकालाई कोभिसिल्ड लगाइएको छ भने काठमाडौं उपत्यका र सिन्धुपाल्चोक, रसुवा, नुवाकोटका ४० देखि ५९ वर्ष उमेर समूहसम्मका ३ लाख ७० हजार ३ सय २६ जनाले भेरोसेल खोप लगाएका छन् ।

प्रकाशित : जेष्ठ ७, २०७८ ०७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?