कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पहिरोले थुनिएर ताल बनेको तामाकोसी ओभरफ्लो भएर बग्न थाल्यो

केदार शिवाकोटी

दोलखा — पहिरोले थुनिएर ताल बनेको तामाकोसीबाट पानी बग्न थालेको छ । नेपाल–चीन सीमानजिकै शुक्रबार रातिदेखि पहिरोका कारण थुनिएको तामाकोसी नदीको सहायक खोला रोङ्सी शनिबार साँझपखबाट बग्न थालेको हो । 

पहिरोले थुनिएर ताल बनेको तामाकोसी ओभरफ्लो भएर बग्न थाल्यो

शुक्रबार राति चीनको तिङ्ग्री काउन्टीनजिकै पहिरोले तामाकोसीको सहायक रोङसी खोला थुनिएको थियो । पहिरोले थुनिएको खोला ताल बनेपछि ओभरफ्लो भएर बग्न थालेको हो । ओभरफ्लो भएर बग्न थालेपछि तामाकोसीमा बहाव बढेको छ । तामाकोसीको बहाव बढ्दै गएको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका अनुगमन अधिकृत वरिष्ठ इन्जिनियर विमल गुरुङले बताए । तर आत्तिनुपर्ने अवस्था नभएको उनले बताए । उनका अनुसार प्रतिसेकेन्ड १ सय ५० घनमटिरमा बगिरहेको तामाकोसीको बहाव बढेर २ सय ५० घनमिटर प्रतिसेकेन्ड नाघेको छ ।

उक्त क्षेत्रमा पुगेको चिनियाँ टोलीले पहिरोले ताल बनाएको रोङ्सी खोलाको बहावलाई नियन्त्रण गर्ने प्रयास गरेको छ । रात परेकाले ताल खुलाउने कामलाई तीव्रता दिन नसकिएको चिनियाँ पक्षले जानकारी गराएको दोलखा प्रशासनले जनाएको छ । आइतबार बिहानदेखि पुन: काम सुरु गरिने पनि चिनियाँ पक्षले जानकारी दिएको छ । थुनिएको खोला सुरक्षित रुपमा खोल्नेगरी काम थाल्ने चिनियाँ पक्षले जवाफ पठाएको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिए । ‘तामाकोसीको बहाव नबढ्ने गरी थुनिएको खोला खोल्ने काम भइरहेको छ,’ घिमिरेले भने ‘चिनियाँ पक्षले पानीको बहाव नबढ्ने गरी खोल्ने प्रयास गरिरहेको बताएको छ ।’

दोलखाको लामाबगरबाट १८ किलोमिटर उत्तरतर्फको रोङ्सी तामाकोसी नदीको मुख्य सहायक खोला हो । धेरै ठूलो ताल बनेकाले सावधानी अपनाएर ताल खुलाउने काम भइरहेको घिमिरेले जानकारी दिए । नेपालतर्फबाट उक्त क्षेत्रमा जान असम्भव भएकाले उतैबाट टोली खोला थुनिएको क्षेत्रमा पुगेको हो ।

यसैबीच माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको जलाशयमा हाल पानीको सतह १९ सय ७८ मिटरमा रहेको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले जानकारी दिए । आयोजनाको बाँधले प्रतिसेकेन्ड ६ सय घनमिटरको बहाव आए ३ सय नदीमा छोडेर ३ सय जलाशयले डेढ घण्टा रोक्न सक्ने उनले बताए । तामाकोसीको बाँध ५ हजार घनमिटर प्रतिसकेन्डसम्मको बहाव थेग्न सकिने गरी निर्माण गरिएको पनि उनले जानकारी दिए ।

सम्बन्धित समाचार

प्रकाशित : असार ५, २०७८ २२:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?