'चीनतर्फ पहिरोले तामाकोसीको प्रवाह रोकिएको सूचना आयो, सतर्क रहनू'

असार ५, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — जिल्ला प्रशासन कार्यालय दोलखाले पहिरोका कारण चीनतर्फ तामाकोसी नदीको प्रवाह रोकिएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

शुक्रबार राति ९ बजेर ४५ मिनेट जाँदा जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै नेपाल–चीन सीमा क्षेत्रमा रहेको तिङग्री काउन्टीको रोङ्जिया सहरमा पहिरोका कारण नदीको प्रवाह रोकिएको सूचना प्राप्त भएको बताएको हो । रोङ्जिया सहर र आसपासमा भारी वर्षासँगै आएको पहिरोले नदीको प्रवाह रोकिएको सूचना प्राप्त भएको कार्यालयले जनाएको छ । 

कार्यालयले तामाकोसी नदीमा जुनसुकै बेला पानीको मात्रा बढेर बाढी आउन सक्ने भएकाले सतर्क रहन आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा भनिएको छ, 'नेपाल चीन सीमा क्षेत्रमा रहेको तिङ्ग्री काउन्टीको रोङ्जी सहर र सोको आसपासमा भारी वर्षा आएसँगै पहिरो आउँदा नदीको प्रवाह रोकिन गएको सूचना प्राप्त हुन आएकोले सोको कारणले कुनै पनि समयमा तामाकोसी नदीमा पानीको मात्रा बढेर बाढी आउन सक्ने हुँदा नेपाल चीन सीमा नजिकको बस्तीलगायत तामाकोसी नदीको तटीय क्षेत्रमा जोखिम सिर्जना हुन सक्ने सम्भावना देखिएकोले सो क्षेत्रमा बसोबास गर्नुहुने सम्पुर्ण दिदीबहिनी तथा दाजुभाइहरु सतर्क र सजक रहन एवं कुनै खतराको संकेत प्राप्त हुँदा साथ सुरक्षित स्थानतर्फ जान हुन र स्थानीय तहका पदाधिकारी र नजिकको सुरक्षा निकायमा तुरुन्त जानकारी समेत गराउनु हुन अनुरोध गरिन्छ ।'

बाढी-पहिरो

कान्तिपुर

Link copied successfully