कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

नार्पाभूमिको लेकमा ६० जना सम्पर्कविहीन

आश गुरुङ

लमजुङ — मनाङको विकट फू गाउँको लेकमा यार्चागुम्बा संकलन गर्न गएका ६० जना स्थानीयवासी सम्पर्कविहीन छन् । सोमबार रातिदेखिको अविरल वर्षापछि उनीहरू आफन्तसँग सम्पर्कविहीन बनेका हुन् ।

नार्पाभूमिको लेकमा ६० जना सम्पर्कविहीन

उनीहरू गएको ठाउँमाथि हिमालमा हिमपात भएको र यार्चागुम्बा खोज्ने ठाउँमा पानी परेर बाढी आएपछि उनीहरूको अवस्थाबारे थाहा नभएको मनाङ प्रशासनले जनाएको छ ।

फू गाउँबाट दुई दिन लाग्ने लेकमा गत जेठ १५/१६ तिर गएका १ सय १० जनामध्ये नामयुङ लेक गएका ५० जनामात्रै सम्पर्कमा रहेको डीएसपी सुवास खड्काले बताए । उनका अनुसार लघु लेक र कुलुङ लेकमा गएका ३०/३० जना सम्पर्कविहीन छन् । यो क्षेत्र समुद्री सतहदेखि ५ हजार मिटर उचाइमा छ । कोरोना संक्रमणको जोखिमले मनाङमा स्थानीयबाहेक बाहिरकालाई यार्चागुम्बा टिप्न प्रतिबन्ध लगाइएको छ । फू लेकमा नार र फू गाउँका स्थानीयमात्रै यार्चागुम्बा टिप्न पुगेका छन् । बाढीका कारण उनीहरू गाउँ फर्किन सकेका छैनन् ।

मनाङका विघटित प्रतिनिधिसभा सदस्य पोल्देन छोपाङ गुरुङ, डीएसपी खड्का र चामे गाउँपालिका अध्यक्ष लोकेन्द्र घलेलेसहितको टोली बिहीबार हेलिकप्टरमार्फत निरीक्षणमा गएका थिए । ‘लेकमा जान सकिँदैन, ठाउँठाउँमा बाढी बगेको छ, पहिरो खसेको छ,’ डीएसपी खड्काले भने । नार्पाभूमिको फू गाउँ जान सदरमुकाम चामेनजिकै कोतोबाट दुई दिन लाग्छ । फू गाउँबाट यार्चा संकलक सम्पर्कविहीन भएको ठाउँ जान दुई दिन लाग्छ । पोल्देन छोपाङ गुरुङका अनुसार हेलिकप्टरबाट हेर्दा लेकमा मानिसहरू देखिएका छन् ।

ठूलो हेलिकप्टर जान नसक्ने अवस्था र मौसममा आएको खराबीले उद्धार हुन नसकेको उनले बताए । चामे गाउँपालिका अध्यक्ष लोकेन्द्र घलेले भने, ‘पानी परिरहेको छ, हिमालमा हिमपात भइरहेको छ । कुहिरो र बाढीपहिरो छ । मौसममा सुधार आएपछि भोलि (शुक्रबार) देखि उद्धारमा लाग्छौं ।’

वर्षाले कोतादेखि नार्पाभूमि जाने मर्स्याङ्दी नदीमाथिको एकमात्र झोलुंगे पुल बगाएको छ । बाढीले नार्पाभूमिको नार र फू क्षेत्र साथै तल्लो क्षेत्रका पुलहरूसमेत बगाएको उनले बताए । ‘नार्पाभूमिमा न बिजुली छ, न टेलिफोन । चामेमा पनि बिजुली छैन । सबै बाढीले बगायो,’ उनले भने ।

प्रकाशित : असार ४, २०७८ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?