सबै जिल्लामा अक्सिजन कन्सन्ट्रेटर बैंक बन्दै

कम्तीमा २० वटा पर्ने गरी १,५६३ कन्सन्ट्रेटर वितरण गरिँदै
जनकराज सापकोटा

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सहयोगी निकायहरूबाट प्राप्त अक्सिजन कन्सन्ट्रेटर उपयोग गर्न ७७ वटै जिल्लामा ‘अक्सिजन कन्सन्ट्रेटर बैंक’ स्थापनाको प्रक्रिया अगाडि बढाएको छ । मन्त्रालयले पहिलो चरणमा सबै जिल्लामा कम्तीमा २० वटाका दरले गरेर १ हजार ५ सय ६३ वटा अक्सिजन कन्सन्ट्रेटर वितरण गर्न लागेको हो ।

सबै जिल्लामा अक्सिजन कन्सन्ट्रेटर बैंक बन्दै

मन्त्रालयले जिल्लास्थित जनस्वास्थ्य कार्यालयअन्तर्गत बैंक स्थापना गर्ने, आवश्यकताका आधारमा सरकारी वा निजी अस्पताल, स्वास्थ्य चौकी वा आइसोलेसन सेन्टरलाई कन्सन्ट्रेटर उपलब्ध गराइने र बिरामीको संख्या घटेपछि ती सामग्री फेरि बैंकमा जम्मा गर्नुपर्ने प्रावधानसहितको कार्यविधि बनाइरहेको छ । अक्सिजन कन्सन्ट्रेटर वितरणको प्रक्रिया अगाडि बढाउन गत बिहीबार मन्त्रालयको समन्वय महाशाखाले स्वास्थ्य सेवा विभागलाई पत्राचार गरेको थियो । समन्वय महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक भीमप्रसाद सापकोटाका अनुसार अक्सिजन कन्सन्ट्रेटर जिल्लामा पुर्‍याउने काम सुरु भइसकेको छ ।

पहिलो चरणमा वितरण गरिन लागिएको अक्सिजन कन्सन्ट्रेटरमध्ये प्रदेश १ का १४ जिल्लामा पठाइने २ सय ८० वटा गैरआवासीय नेपाली संघले उपलब्ध गराएको हो । प्रदेश २ मा वितरण गर्न लागिएको १ सय ६० अक्सिजन कन्सन्ट्रेटरमध्ये १ सय ४० वटा सोस एक्सन हङकङ र २० वटा एमआईटी फाउन्डेसनले उपलब्ध गराएका हुन् । वाग्मती प्रदेशमा वितरण गर्न लागिएका २ सय ८० अक्सिजन कन्सन्ट्रेटरमध्ये सोस एक्सन हङकङले उपलब्ध गराएका ४०, एमआईटी फाउन्डेसन अस्ट्रेलियाले उपलब्ध गराएका ४०, गैरआवासीय नेपाली संघले उपलब्ध गराएका ४० र सांघाई जादा बुद्ध टेम्पलले उपलब्ध गराएका १ सय ४० वटा छन् ।

गण्डकी प्रदेशमा भने १० जिल्लामा २० का दरले र तनहुँमा २३ वटा अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराइँदै छ । गण्डकीमा वितरण गरिने २ सय २३ अक्सिजन कन्सन्ट्रेटरमध्ये एक सय ६३ वटा गैरआवासीय नेपाली संघले, १० वटा एमआईटी फाउन्डेसनले, २० वटा कम्युनिटी पार्टनर्स इन्टरनेसनल र २० वटा सांघाई जादा बुद्ध टेम्पलले उपलब्ध गराएका हुन् । लुम्बिनी प्रदेशका १२ जिल्लामा २ सय ४० वटा अक्सिजन कन्सन्ट्रेटर वितरण गर्ने योजना छ । सांघाई जादा बुद्ध टेम्पलले उपलब्ध दिएका सय वटा, सोस एक्सन हङकङबाट प्राप्त २० वटा, एमआईटी फाउन्डेसन अस्ट्रेलियाले उपलब्ध गराएका ८० वटा र कम्युनिटी पार्टनर्स इन्टरनेसनलले दिएका ४० वटा कन्सन्ट्रेटर लुम्बिनी प्रदेशनमा वितरण गर्न लागिएको हो ।

मन्त्रालयले कर्णाली प्रदेशका १० जिल्लामा २० वटाका दरले २ सय वटा अक्सिजन कन्सन्ट्रेटर वितरण गर्दै छ । जसमध्ये १ सय २० वटा सांघाई जादा बुद्ध टेम्पलले, ७० वटा एमआईटी फाउन्डेसन अस्ट्रेलियाले र १० वटा कम्युनिटी पार्टनर्स इन्टरनेसनलले उपलब्ध गराएका हुन् । सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा एक सय ८० वटा अक्सिजन कन्सन्ट्रेटर वितरण गर्ने योजनामा छ । ती अक्सिजन कन्सन्ट्रेटरमध्ये एक सय वटा सांघाई जादा बुद्ध टेम्पलले, २० वटा एमआईटी फाउन्डेसन अस्ट्रेलियाले र ३० वटा कम्युनिटी पार्टनर्स इन्टरनेसनलले र ३० वटा भृकुटी देवी ट्रस्टले उपलब्ध गराएका हुन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार भृकुटी देवी ट्रस्ट, एमआईटी फाउन्डेसन अस्ट्रेलिया र कम्युनिटी पार्टनर्स इन्टरनेसनले उपलब्ध गराएका अक्सिजन कन्सन्ट्रेटर मंगलबारसम्म हुम्ला, रुकुम, धनुषा, धादिङ, रोल्पा, अछाम, दैलेख, सुर्खेत, प्यूठान, दाङ, बाँके, बैतडी, दार्चुला, जाजरकोट, बर्दिया, बाजुरा, नुवाकोट, गोर्खा र मनाङमा पुग्नेछन् । यी तीन संस्थाले रोल्पा, अछाम, दैलेख, सुर्खेत, प्यूठान, दाङ, बाँके, बैतडी, दार्चुला, जाजरकोट, बर्दिया, बाजुरामा २७ सय ८० थानका दरले मास्क पनि पठाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वैशाख २७ मा कोभिडसँग लड्न ४१ सामग्रीको १५ दिनदेखि एक महिनाभित्र उपलब्ध गराएर सहयोग गर्न भन्दै दातादेखि अन्य सहयोगी निकायलाई पत्राचार गरेको थियो । मन्त्रालयले अक्सिजन जेनेरेसन प्लान्ट ७ वटा, लिक्विड अक्सिजन १० ट्रयाक र प्रतिदिन २० टन अक्सिजन, १० हजार अक्सिजन कन्सन्टेटर ३० दिनभित्र उपलब्ध गराइदिन अनुरोध गरेको थियो । स्वास्थ्य मन्त्रालयको समन्वय महाशाखाका अनुसार व्यक्तिगत वा संस्थागत रूपमा ल्याएर सोझै जिल्लामा वितरण गर्दा कतै अत्यावश्यकीय स्वास्थ्य सामग्री थुप्रिने, कतै बिरामी थुप्रिने तर स्वास्थ्य सामग्री नहुने अवस्था नआओस् भनेर यस्तो अभ्यास थालिएको हो ।

अक्सिजन बेचेर व्यापार घाटा कम गर्ने दाबी

प्रधानमन्त्री केपी शर्मा ओलीले गत आइतबार उद्योगी शंकर अग्रवालले स्थापना गरेको पहिलो लिक्विड अक्सिजन प्लान्टको उद्घाटन भर्चुअल माध्यमबाट गरेका थिए । उद्घाटनपछि उनले प्रधानमन्त्रीले कोभिड–१९ को महामारी हटेपछि अक्सिजन प्लान्टबाट उत्पादन हुने अधिक मात्राको अक्सिजन के गर्ने भन्ने प्रश्न उठ्न सक्ने उल्लेख गर्दै त्यसलाई छिमेकी देश र औद्योगिक क्षेत्रमा आपूर्ति गर्न सकिने बताए ।

कोरोना संक्रमणको दोस्रो लहर नसकिसकेको र संक्रमणको रफ्तार बढ्नेबित्तिकै विकट जिल्लामा हुन् अक्सिजन अभावको समस्या हल नभइसकेका बेला प्रधानमन्त्रीले अक्सिजन बेच्ने कल्पना गर्नुलाई स्वास्थ्य क्षेत्रका जानकारले अनौठो मानेका छन् । प्रधानमन्त्री ओलीले भने अझै एक कदम अघि बढेर अक्सिजनको पर्याप्त मात्रामा उत्पादन गर्न सके व्यापार घाटा कम गर्न सकिनेसमेत बताए ।

मन्त्रालय स्रोतका अनुसार योबीचमा गम्भीर संक्रमितको संख्या घटे पनि पहाडी जिल्लामा अक्सिजन ओसारपसारको समस्या कायम छ । मन्त्रालयले १० हजार अक्सिजन कन्सन्ट्रेटर चाहिने अनुमान गरे पनि योबीचमा तीन हजार हाराहारी मात्रै थपिएको छ । स्वास्थ्य सेवा विभागका एक उच्च अधिकारीले भने, ‘देशभित्र अक्सिजनको हाहाकार सकिए पनि दुर्गम जिल्लामा अझै सजिलै अक्सिजन पुर्‍याउन सकिने वातावरण बनिसकेको छैन । प्रधानमन्त्रीले अलिक धेरै हौसिएर अक्सिजन बेचेर मुनाफा कमाउने कुरा गर्नुभएछ ।’

प्रकाशित : असार २, २०७८ १६:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?