‘पोष्ट कोभिड’ले निम्त्याउँदै शारीरिक तथा मानसिक समस्या, चिकित्सक भन्छन्– ‘परामर्शको अभाव छ’

बुनु थारु

काठमाडौँ — परिवारका सबै सदस्य कोरोना संक्रमित भएपनि ३५ वर्षीया छोरी र ६५ वर्षीया आमालाई अस्पताल भर्ना गर्नुपर्‍यो । उपचारपश्चात ठिक भएर दुवै घर त फर्किए तर उनीहरुमा अरु नै समस्या थपियो ।

‘पोष्ट कोभिड’ले निम्त्याउँदै शारीरिक तथा मानसिक समस्या, चिकित्सक भन्छन्– ‘परामर्शको अभाव छ’

‘निको भइसकेर फर्किएका उनीहरुमा निद्रा नलाग्ने र बेलाबेला झसंग हुने समस्या आएछ,’ दुवैको केस हेरेका बीएन्डबी अस्पतालका मनोचिकित्सक प्राडा सुदर्शन नरसिंह प्रधानले भने, ‘३ हप्तासम्म राम्ररी निद्रा नलागेपछि उनीहरु मकहाँ आइपुगेका रहेछन् । दुवैलाई एक अर्काको चिन्ताले सताइरहने समस्या बढी देखियो ।’

अर्की ३० वर्षीया रुपा (नाम परिवर्तन) लाई पनि संक्रमण मुक्त भइसकेपछि समस्या देखियो । डिस्चार्ज भएको ४–५ हप्तापछि छाती भारी भएको महसुस भएपछि उनी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगिन् । फेरि संक्रमण भएको हो कि भन्दै आत्तिएर उनी फलओपका लागि पुगेकी थिइन् । त्यहाँका चिकित्सकले संक्रमण नभइ पोस्ट कोभिडको लक्षण हो भनेर आवश्यक परामर्शसहित पठाएपछि उनी अहिले समान्य अवस्थामा छिन् ।

...

कोरोना संक्रमणबाट मुक्त भएका व्यक्तिमा जाँगर नचल्ने, थकान लागिरहने, स्याँस्याँ हुने, जिउ तातो जस्तो हुने, लामो समयसम्म ख्याक ख्याक लागिराख्ने लक्षणहरु देखा परिरहेका छन् । चिकित्सकका अनुसार यो पोष्ट कोभिडको लक्षण हो । यो भनेको कोरोना संक्रमणबाट मुक्त भएपछि देखिन लक्षण तथा समस्या हुन् । उचित परामर्श नपुगेकाले धेरै व्यक्ति यी लक्षण देखिए फेरी संक्रमित भइयो की भनेर अलमल्ल परेका देखिन्छन् र डराएको स्थितिमा अस्पतालसम्म आइपुग्छन् । पोष्ट कोभिडले शारीरिक मात्र होइन मानसिक रुपमा पनि उत्तिकै प्रभाव पारेको देखिन्छ ।

शुक्रराज अस्पतालको रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनले दैनिक औसतमा डेढ दर्जनजति बिरामी पोस्ट कोभिडका लक्षण लिएर अस्पताल आउने गरेको बताए । ‘उपचारबाट निको भइसकेका संक्रमितलाई पुनः शारीरिक तथा मानसिक समस्या थपिन सक्छ,’ उनले भने, ‘जाँगर नचल्ने, स्याँस्याँ हुने, खोकी लागिरहने, मुटुको धड्कन बढिराख्ने, स्वास्प्रश्वासमा समस्या, सुत्न नसक्ने, बिर्सिने समस्या, डराउने, कान कराउने आदि समस्या त्यस्ता व्यक्तिमा देखिन्छ, यो पोष्ट कोभिड हो ।’ विदेशमा ५० वर्ष माथिकालाई यस्तो समस्या देखिए पनि नेपालमा युवा उमेरमा नै यसखाले समस्या बढी देखिएको उनी बताउँछन् ।

निजामती कर्मचारी अस्पतालका छाती रोग विशेषज्ञ डा. विदेश विष्टका अनुसार अहिले पोस्ट कोभिडको समस्या लिएर ओपीडीमा आउने बिरामी बढेका छन् । उनका अनुसार शारिरिक भन्दा पनि समस्या लिएर आउने बिरामीको संख्या तुलनात्मक रुपमा बढी छ । ‘धेरै जसो बिरामीहरु मुटु धेरै ढुकढुक गर्‍यो, निद्रा नै लागेन, केही गर्न पनि जाँगर चलेन भन्ने जस्ता समस्या लिएर आउनु हुन्छ,’ उनले भने । त्रिवि शिक्षण अस्पतालका छातीरोग विशेषज्ञ डा. निरज बमले पनि पोष्ट कोभिडका बिरामी बढेको बताए । ‘आईसीयू तथा भेन्टिलेटरमा बसेर निको भइसकेका बिरामी छाती तथा फोक्सोमा संक्रमणमा लिएर आइरहेका छन् । अक्सिजन चाहिएको अवस्थामा छन्,’ उनले भने ।

संक्रमण हुँदा फोक्सोमा दाग देखिएर निको भएका व्यक्तिमा अझै पनि दाग देखिएको उनले बताए । ‘१२ देखि १४ लिटर प्रति मिनेट अक्सिजन लिएका विशेषगरी आईसीयू तथा भेन्टिलेटरमा बसेकाको एक्सरे हेर्दा छातीमा घ्यार घ्यार आवाज आउने पाइयो । हामी त्यसलाई ब्याक्टेरियल वा फंगल इन्फेक्सन हुने शंकामा भर्ना गरिरहेका छौँ,’ उनले भने । डा. विष्टका अनुसार दैनिक जस्तो स्वास्थ्य सम्बन्धी समस्या थपिँदै गएमा चिकित्सकलाई सम्पर्क गरिहाल्नुपर्छ । उनका अनुसार काममा एकाग्र हुन नसक्ने, अति नै कमजोरी तथा थकान महसुस हुने, क्वालिटी अफ लाइफमा नै परिवर्तन आइरहेको छ भने चिकित्सकको सम्पर्कमा जानुपर्दछ । ‘पोस्ट कोभिडको समस्या समाधानमा ध्यान नपुगेको देखिन्छ । पोस्ट कोभिड क्लिनिकहरु सञ्चालन गर्नुपर्छ,’ उनले भने । कसैलाई पोस्ट कोभिडका समस्या निको हुन ३ देखि ६ महिना नै लाग्न सक्ने पनि अध्ययनहरुमा देखिएको उनले बताए ।

कोरोनाले कुन अंगमा प्रभावित पार्छ ?
कोभिडले शरीरका विभिन्न अंगलाई पनि असर पार्न सक्छ । जस्तैः मुटु, फोक्सो, मिर्गौला, छाला, आँखा, दिमाग आदि । मल्टिसिस्टम इन्फ्लामेटरी सिन्ड्रम (एमआईएस ) यस्तो अवस्थामा अंगहरु सुुनिन्न सक्छन् । एमआईएस–सी समस्या देखिएका बालबालिकामा ज्वरो आउने, वाकवाकी लाग्ने, पखाला लाग्ने, घाँटी दुख्ने, आँखा रातो हुने, कमजोरी महसुस हुने आदि लक्षणहरु देखिन सक्छन् । यो सामान्तया कोरोना संक्रमितको भएको २ देखि ४ हप्तापछि देखा पर्छ ।

त्यसैगरी कोरोेना संक्रमणमुक्त भइसकेका व्यक्तिमा अर्को समस्या देखिएको छ । त्यो हो ब्ल्याक फंगस । कुनै नयाँ रोग नभएपनि कोभिडका समयमा यो बढी रुपमा देखिएको समस्या हो । कोरोना निको भैसकेका तर प्रतिरोधी क्षमता कमजोर भएका, मधुमेहका रोगी र कोभिड लाग्दा अक्सिजनको मात्रा कम हुँदा स्टेरोइडजस्ता औषधि उपयोग गरेका बिरामीहरूलाई यो ढुसीले आक्रमण गर्न सक्ने चिकित्सकहरु बताउँछन् ।

ब्ल्याक फंगसले नाक, आँखा र अनुहारमा आक्रमण गर्नुका अतिरिक्त मस्तिष्कमा समेत क्षति पुर्‍याउन सक्छ । ज्वरो आउने, टाउको दुख्ने, नाक बन्द हुने, नाकबाट रगत बग्ने, पिनास दुख्ने, अनुहार सुन्निने, आँखाको ढकनी सुनिने÷झुक्ने, आँखाले धमिलो देख्ने, दाँत दुख्ने/हल्लिनेजस्ता लक्षणहरु देखिन सक्छन् ।

पोस्ट कोभिड र मानसिक समस्या
मनोचिकित्सक प्राडा. सुदर्शन नरसिंह प्रधानले पोस्ट कोभिडमा धेरै मानिसमा मनोवैज्ञानिक त्रास देखिएको बताउँछन् । कोरोना संक्रमण मुक्त भएपनि संक्रमित भएको अवस्थामा आइसोलेट भएर परिवारजनसँग छुटेर बस्नुपर्दा मानिसमा डर र त्रास उत्पन्न हुने उनको भनाइ छ । उनका अनुसार नाम चलेका व्यक्तिहरुको देहावसन भएको खबरले आफू पनि मरिन्छ की भन्ने भयले मनमा सताउने त्यसमाथि आफन्तजनसँग बसेर पनि कुरा सेयर गर्न नपाउँदा मनमा डर बढ्दै जान्छ ।

संक्रमण मुक्त भएका व्यक्तिमा निद्रा नपर्ने, ढुकढुकी बढ्ने, जिउ सिरिंग भएर आउने, जिउ तातिएर आएको महसुस हुने, टाउको भारी हुने, घाँटीमा अड्केको जस्तो महसुस हुने लगायतका लक्षणहरु लिएर आउने गरेको डा प्रधानले बताए । ‘कोभिड १९ गएको छैन भनेर भ्रम भइरहेको हुन्छ मानिसमा । एन्जाइटी, प्यानिक अट्याकका लक्षणहरु प्राय जस्तो मानिसमा देखिरहेको छ,’ उनले भने, ‘डर हटाउनलाई लामो श्वासप्रश्वासका व्यायामले मद्धत पुर्‍याउँछ ।’ प्राडा. प्रधानले आइसोलेसन सेन्टरमा औषधि, अक्सिजनको व्यवस्था भए पनि मनोवैज्ञानिक परामर्शको अभाव भएको बताउँछन् ।

प्रकाशित : असार २, २०७८ १६:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?