भक्तपुर — गुणस्तरहीन ह्याण्ड स्यानिटाइजर उत्पादन तथा बिक्री वितरण गरेको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीस्थित मेडिग्राफ ग्रुप अफ कम्पनी लोकन्थलीबाट स्यानिटाइजर बनाउन प्रयोग हुने मेसिनसहित उनीहरुलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा उक्त कम्पनीमा कार्यरत रामेछाप सुनापति गाउँपालिका–१ गुन्सी भदौरे घरभई नयाँ बानेश्वर बस्ने २२ वर्षीय सुजन गौतम र बझाङ केदारस्यूँ गाउँपालिका–८ भण्डार घरभई कोटेश्वर बस्ने २८ वर्षीय चन्द्रप्रसाद जोशी छन् ।
कोभिड–१९ महामारीका कारण ह्याण्ड स्यानिटाइजरको अत्याधिक माग भइरहेको सन्दर्भमा ‘नेपालय ह्याण्ड स्यानिटाइजर’ नामको स्यानिटाइजर गुणस्तर जाँचका लागि औषधि व्यवस्था विभागको प्रयोगशालामा परीक्षणको लागि पठाइएको थियो । उक्त स्यानिटाइजरमा मिथानोल रसायन ६८ प्रतिशत भेटिएको तथा स्यानिटाइजरमा प्रयोग भएको रसायनले मानव स्वास्थ्यमा घातक असर गर्ने विभागको रिपोर्ट प्राप्त भएपछि अनुसन्धानका क्रममा स्यानिटाइजरको उत्पादन एवं प्याकिङ भइरहेको स्थानबाट उनीहरुलाई पक्राउ गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ । साथै मेडिग्राफ ग्रुप अफ कम्पनीले औषधि व्यवस्था विभागमा दर्ता समेत नगरी सञ्चालन गरेको पाइएको छ । प्रहरीले ‘नेपालय ह्याण्ड स्यानिटाइजर’ सहित उक्त स्यानिटाइजर बनाउन प्रयोग हुने मेसिन समेत बरामद गरेको छ ।
पक्राउ परेका दुवै जनालाई कालो बजारी तथा केही अन्य सामाजिक अपराध ऐन, २०३२ अन्तर्गत आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त थिमि पठाईएको महाशाखाले जनाएको छ । उक्त प्रालिका संचालक काठमाडौं सामाखुसीका सुजन दाहाल फरार छन् ।
यसैबीच सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्र हत्या गरेको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालय साइबर ब्युरोका अनुसार पक्राउ पर्नेहरुमा काठमाडौं महानगर–१७ डल्लुका २६ वर्षीय सानु पौडेल र बागलुङ, बागलुङ नगरपालिका–८ सिगानाका ५२ वर्षीय रामेन्द्र खड्का छन् ।
पक्राउमध्ये पौडेलले नाबालिकाको फेसबुक म्यासेन्जरमा पटक–पटक अश्लिल भिडियो पठाउने तथा पीडितको अनुहार एवं अपरिचित महिलाको नग्न शरीर जोडेर चरित्र हत्या गर्ने कार्य गरेको प्रहरीले जनाएको छ । त्यस्तै, खड्काले सामाजिक सञ्जाल फेसबुक, टिकटक, यूट्युब लगायतमा व्यक्तिहरुको तस्बिर/भिडियो दुरुपयोग गरेको पाइएको ब्युरोले जनाएको छ ।
पक्राउ परेका दुईलाई काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको ब्युरो प्रमुख एसएसपी नविन्द अर्यालले बताए ।
