अमेरिकाले नेपालसहित विभिन्न एसियाली मुलुकलाई करिब ७० लाख डोज कोरोना खोप दिने

इकान्तिपुर डेस्क

काठमाडौँ — अमेरिकाले पहिलो चरणमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि विश्वका विभिन्न मुलुकलाई २ करोड ५० लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार संसारभर अमेरिकाले कोरोना खोप दिने घोषणा गरेका हुन् ।

अमेरिकाले नेपालसहित विभिन्न एसियाली मुलुकलाई करिब ७० लाख डोज कोरोना खोप दिने

विश्व स्वास्थ्य संगठनको कोभ्याक्स परियोजनामार्फत अमेरिकाले विश्वव्यापी रुपमा कोरोना खोप उपलब्ध गराउने भएको हो । राष्ट्रपति बाइडेनले नेपाललगायत विभिन्न एसियाली मुलुकलाई करिब ७० लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेका छन् । उक्त सूचीमा कोरोना महामारीबाट निकै प्रभावित मुलुक भारत पनि छ ।

७० लाख खोप नेपाल, भारतसहित बंगलादेश, पाकिस्तान, श्रीलंका, अफगानिस्तान, मालदिभ्स, मलेसिया, फिलिपिन्स, भियतनाम, इन्डोनेसिया, थाइल्यान्ड, लाओस, पपुवा न्यु गिनी, ताइवान र प्यासिफिक आइल्यान्डलाई बाँडिनेछ । यी मुलुकलाई कति-कति डोज खोप उपलब्ध गराउने भन्ने कुराचाहिँ खुलाइएको छैन ।

नेपाललाई खोप उपलब्ध गराउने घोषणा गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीट गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई धन्यवाद व्यक्त गरेका छन् । साथै उनले यसले नेपाल-अमेरिका सम्बन्ध अझ मजबुत हुने पनि बताएका छन् ।

त्यस्तै अमेरिकाले ब्राजिल, अर्जेन्टिना, कोलम्बिया, कोस्टारिका, पेरु, इक्वेडर, पाराग्वे, बोलिभिया, ग्वाटेमाला, एल साल्भाडोर, होन्डुरस, पनामा, हाइटीलगायतका दक्षिण र मध्ये अमेरिकी मुलुकलाई ६० लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको छ ।

त्यस्तै गरी करिब ५० लाख खोप अफ्रिकी मुलुकलाई उपलब्ध गराइनेछ भने करिब ६० लाख डोज खोप मेक्सिको, क्यानडा, दक्षिण कोरिया, गाजा क्षेत्र र वेस्ट ब्यांक, युक्रेन, कोसोभो, जर्जिया, इजिप्ट, जोर्डन, इराक, यमन र अग्रपंक्तिमा खटिएका संयुक्त राष्ट्र संघका कर्मचारीलाई दिइनेछ ।

अमेरिकाले फाइजर-बायोएनटेक, मोडर्ना र जोन्सन एन्ड जोन्सनले उत्पादन गरेको कोरोना खोप दिन लागेको हो ।

प्रकाशित : जेष्ठ २०, २०७८ २२:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?