सुनसरी — धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा कोरोना संक्रमित पाँच वर्षीय बालकको ब्रेन ट्युमरको सफल शल्यक्रिया भएको छ । ती बालक भारतीय हुन् । प्रतिष्ठानका न्यूरो सर्जन डा. आलोक दाहालकाअनुसार बालकको अवस्था ज्यादै गम्भीर भएको कारण बुधबार राति नै कोभिड अस्पतालमा शल्यक्रिया गरिएको हो ।
प्रतिष्ठानको कोभिड अस्पतालमा ल्याउनु अघि ती बालकलाई उनका अभिभावकले विराटनगरको एक अस्पतालमा उपचारका लागि ल्याएका थिए । त्यहाँका अस्पतालमा एमआरआई गर्दा पनि ब्रेन ट्युमर नै देखिएको थियो । तर बालकको पीसीआर जाँच गर्दा कोरोना पुष्टि भएपछि शल्यक्रिया हुँदैन भनेर डिश्चार्ज दिएपछि प्रतिष्ठानमा आएका थिए ।
प्रतिष्ठानमा उपचारका लागि ल्याइएका ती बालकको पीसीआर परीक्षण गर्दा पनि कोरोना पोजेटिभ नै देखिएको थियो । कोरोना पोजेटिभ भएपनि ब्रेन ट्युमरको शल्यक्रिया गर्नै पर्ने अवस्था भएकाले प्रतिष्ठानका कोभिड अस्पताल फोकल पर्सन डा.विकास साह, पेडियाट्रिक विभागका डा.जितेन्द्र ठाकुर, डा.स्नेहा किरणसँग परामर्श गरेपछि न्यूरो सर्जन डा.दाहालको टिमले डा.निमेष विष्ट, डा.शुसिल, एनेस्थेसिया विभागका सिनियर कन्सल्टेन्ट डा.आशिष सुवेदी, जेआर डा.प्रशान्त, स्टाफ नर्स कविता, टेक्निसियन चन्द्र, हेल्पर पुजा लगायतको सहयोगमा सफल शल्यक्रिया गरेको थियो ।
शल्यक्रिया पछि डा. दाहालले भने, ‘प्रतिष्ठानमा ल्याउँदा बच्चाले आँखा पनि नहेर्ने, आँखाको नानी सुन्निएको र हातखुट्टा पनि नचलाउने स्थितिमा पुगिसकेको थियो । त्यस्तो अवस्थामा बच्चाको रिपोर्ट कोरोना नेगेटिभ आउँदासम्म पर्खने स्थिति नै नभएपछि तत्काल अप्रेशन गरिएको हो ।’
उनकाअनुसार बालकको ब्रेन ट्युमरको शल्यक्रिया गर्न करिब साढे ४ घण्टा लागेको थियो । शल्यक्रिया गरेर बच्चाको दिमागको दुवैतर्फ भएको ट्युमर, मस्तिष्कमा जमेको अनावश्यक मासुको डल्ला निकालेपछि हाल बच्चाको अवस्थामा क्रमश सुधार देखिएको छ ।
ट्युमर के कारणले भएको हो त्यसको बायोस्पी र कल्चर गर्न दिएको र त्यसको रिपोर्ट कस्तो आउँछ सोही अनुसार रेडियो थेरापी गर्ने वा अरु नै गर्ने भन्ने निर्णय गरिने डा. दाहालले बताए । डा. दाहालको टिमले यसअघि जेठ पहिलो साता धरानकै एक संक्रमित पुरुषको टाउकोको न्युरो सर्जरी सफलतापूर्वक गरेको थियो ।
