कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

चुरे प्रदेश २ को रक्षा-कवच : मुख्यमन्त्री राउत

निर्णय फिर्ता नलिए प्रदेश सरकारले ‘आवश्यक निर्णय’ लिने चेतावनी
अजित तिवारी

जनकपुर — चुरे उत्खन्नबारे संघीय सरकारको बजेटमा समेटिएको प्रावधान आपत्ति जनाउँदै प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले त्यो निर्णय फिर्ता नलिए प्रदेश सरकारले ‘आवश्यक निर्णय’ लिने चेतावनी दिएका छन् । बिहीबार अपरान्ह मुख्यमन्त्री राउतले प्रेस विज्ञप्ति निकाल्दै चुरे क्षेत्रबाट ढुंगा, गिट्टी, बालुवा उत्खनन गर्ने बजेटमा समेटिएको प्रावधान हटाउनुपर्ने माग गरेका छन् ।

चुरे प्रदेश २ को रक्षा-कवच : मुख्यमन्त्री राउत

‘आर्थिक वर्ष २०७८/०७९ को आयव्ययको सार्वजनिक जानकारी वक्तव्यको बुँदा नम्बर १९९ मा उल्लेखित वातावरणीय प्रभाव मूल्यांकनको आधारमा खानीजन्य ढुंगा, गिटी, बालुवा निकासी गरी व्यापार घाटा न्यूनिकरण गरिने भनिएकोप्रति प्रदेश २ सरकारको गम्भीर ध्यानाकर्षण भएको छ,’ मुख्यमन्त्री राउतले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा प्रदेश २ को सप्तरीदेखि पर्सासम्म फैलिएको चुरे पहाड प्रदेशको रक्षा कवच रहेको भनिएको गरिएको छ । मुख्यमन्त्री राउतले प्रदेश २ हरेकवर्ष बाढी–पहिरो, डुबानको समस्या र कृषि उपज समेतको समस्याबाट पीडित रहेको उल्लेख छ । ‘चुरे क्षेत्रको माटो एकदमै कमजोर छ । कमजोर भू–वनोटका कारण यहाँका ढुंगागिटी निकालियो भने नदीको बहाव तीव्र हुन्छ,’ मुख्यमन्त्री राउतले भने,‘तीव्र बहावले बगाएर ल्याउने बालुवा मधेसमा थुप्रिदै जाने निश्चित छ । चुरेक्षेत्र बालुवा गिट्टीको स्रोत मात्र नभई प्राकृतिक सम्पदामा समेत धनी छ ।’

प्रदेश सरकार मातहत रहेको वन सम्पदाको ठूलो हिस्सा चुरे भावर क्षेत्रमा नै रहेकोले चुरे दोहनले यी सबै प्राकृतिक सम्पदाले आफ्नो बासस्थान गुमाउने निश्चित रहेको मुख्यमन्त्री राउतको भनाइ छ । राउतले संघीय सरकारको अदुरदर्शी निर्णयले प्रदेश २ बाट ढुंगा, गिटी र बालुवा उत्खनन् गर्ने योजनाले देशकै अन्न भण्डर प्रदेश २ को सबै भू–भाग मरुभूमिकरण भई शतप्रतिशत जनताको बिल्लीबाठ हुने निश्चित रहेको बताए ।

‘वन विनाश, वातावरणीय सन्तुलन, जैविक विविधताको संरक्षण, पानी मुहान संरक्षणका साथै प्रदेश २ लाई मरुभूमिकरण हुनबाट जोगाउने कार्यप्रति प्रदेश सरकार सजग छ,’ मुख्यमन्त्री राउतले विज्ञप्तिमा भनेका छन,‘तसर्थ, नेपाल सरकारको बजेट वक्तव्यलाई सच्याउन हुन आग्रह छ । यस्तो कार्य तत्काल नरोकिए तराई–मधेसको चुरे संरक्षण र प्राकृतिक सम्पदाको रक्षार्थ प्रदेश सरकारले आवश्यक निर्णय लिनेछ ।’

प्रकाशित : जेष्ठ २०, २०७८ १७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?