मुख्यमन्त्रीको सचिवालयद्वारा छानीछानी आफ्ना मान्छेलाई खोप

उद्योगी, व्यवसायी, नेता कार्यकर्तालाई खोप लगाउँदा स्थानीयले गरे अवरोध

जेष्ठ १५, २०७८

देवनारायण साह

विराटनगर — प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको सचिवालयले विराटनगरका उद्योगी–व्यवसायीका साथै एमालेका नेता–कार्यकर्तालाई मात्र छानीछानी खोप लगाएको भन्दै शुक्रबार स्थानीयले विरोध गरेका छन् ।

सुरुमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयम लगाउने तय गरिएको खोप पछि त्यहाँ बैठक बस्ने भएकाले असुरक्षित हुने भन्दै सचिवालयले विराटनगरको तीनपैनीस्थित सिटी सिनेमा हलमा लगेको थियो । त्यहीँ  धमाधम नेता–कार्यकर्ता र उद्योगी–व्यवसायीलाई मात्र खोप लगाइएको देखेपछि स्थानीयले नाराबाजी गरेका हुन् । 

उनीहरूका अनुसार सिनेमा हलको गेटमा ताल्चा लगाएर दिउँसो १ बजेदेखि छानीछानी मानिस भित्र पठाउँदै खोप लगाइएको थियो ।  उद्योगी व्यवसायीहरुको भीड देखेर स्थानीयले सोधीखोजी गर्दा खोप लगाइरहेको जानकारी पाएपछि अवरोध गरेका थिए । खोप लगाउन आउनेमा यहाँका उद्योगी–व्यवसायीका साथै एमालेका नेता, कार्यकर्ता तथा समर्थकका साथै एमालेनिकट कर्मचारी संगठनका पदाधिकारीलगायत थिए ।

स्थानीय अक्षय सहनीले अग्रमोर्चामा खटिएका कतिपय व्यक्तिहरूले दोस्रो डोज खोप नपाएको अवस्थामा मुख्यमन्त्रीको सचिवालयले उद्योगी, व्यवसायीलगायत आफ्ना पार्टीका नेता, कार्यकर्ता तथा समर्थकलाई मात्रै खोप लगाएकाले विरोधमा उत्रिन बाध्य भएको बताए । स्थानीयले जिल्ला स्वास्थ्य कार्यालय मोरङको बा१झ ९३६५ नम्बरको गाडी र खोप लगाउन आएका ४ जना स्वास्थ्यकर्मीहरुलाई १ घण्टा नियन्त्रणमा लिएका थिए ।

खोप लगाइरहेकोबारे जिल्ला प्रहरी कार्यालयलाई समेत जानकारी थिएन । असुरक्षित भएपछि सुरक्षाका लागि प्रहरीलाई खबर आएको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए ।

प्रहरीले प्रदर्शनकारीहरुलाई सम्झाइबुझाइ गरी स्थिति साम्य पारेर गाडी र स्वास्थ्यकर्मीलाई बाहिर निकालेको थियो । खोप प्राविधिक हरि घिमिरेले आफूलाई जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सुरेश मेहताले खोप दिन खटाएको र १ सय ५० जनालाई खोप दिइएको बताए । यसअघि सरकारी कार्यालय तथा स्थानमा खोप केन्द्र राख्दै आएको जिल्ला स्वास्थ्य कार्यालय मोरङले मुख्यमन्त्रीको सचिवालयको दबाबमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट सिनेमा हलमा केन्द्र परिवर्तन गरेको एक कर्मचारीले बताए ।

यसरबारे बुझ्न खोज्दा जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख सुरेश मेहतासँग सम्पर्क हुन सकेन । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कर्मचारीलगायत कोही पनि सम्पर्कमा आउन चाहेनन् ।

खोप समन्वय समितिका संयोजक प्रमुख जिल्ला अधिकारी निरौलाले आफू जिल्लाको खोपको संयोजक भएको तर यो प्रदेश सरकारको विषय भएकाले यसबारे भन्न नसक्ने बताए । उनले जिल्लामा पहिलो डोज लगाएका करिब ५० हजारभन्दा बढी व्यक्तिले दोस्रो डोज लगाउन बाँकी रहेकाले मापदण्ड बनाउनुपर्नेमा जोड दिए । 

सामाजिक विकासमन्त्री उषाकला राईले प्रदेशमा बाँकी रहेको खोप र त्यसका लागि आएको मागको सूचीसहित जिल्ला स्वास्थ्य कार्यालय मोरङलाई जिम्मा लगाइसकेकाले यसबारे तत्काल आफूलाई केही जानकारी नभएको बताइन् । ‘खोप लगाउने क्रममा अवरोध भएको सुनेको तर यसबारे विस्तृत जानकारी भएन,’ उनले भनिन्, ‘के भएको हो, जानकारी लिन्छु । खोपको दुरुपयोग भएको हो भने दुरुपयोग गर्नेलाई कारबाही हुन्छ ।’

कोरोना खोपकोरोना भाइरस

देवनारायण

Link copied successfully