पाल्पामा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु  

जेष्ठ १५, २०७८

माधव अर्याल

पाल्पा — पाल्पामा कोरोना भाइरसको संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ ।

माथागढी गाउँपालिका–३, कसेनीका ४७ वर्षीय पुरुषको उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।

जेठ ५ गते संक्रमण पुष्टि भएका उनको मिसन अस्प्तालमा उपचारका क्रममा मृत्यु भएको सूचना अधिकारी पन्थीले बताए । 

त्यस्तै बगनासकाली गाउँपालिका–१, चिर्तुङधाराकी ४९ वर्षीया महिलाको पनि शुक्रबार राति कोरोना संक्रमणबाट मृत्यु भएको छ । जेठ ७ गते एन्टिजेन पोजिटिभ देखिएर उपचार गराइरहेकी महिलाको मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयले  जनाएको छ । त्यस्तै रम्भा गाउँपालिका–१, हुँगीका ५५ वर्षीय पुरुषको पनि मिसन अस्पतालमा उपचारका क्रममा शुक्रबार राति नै मृत्यु भएको रम्भा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख शिव अर्यालले बताए । 

हुँगीस्थित कोभिड अस्पतालमा उपचार गराएर उनलाई थप उपचारका लागि मिसन अस्पताल ल्याइएको थियाृ । उनी गत जेठ ५ गते एन्जिेन पोजिटिभ आएपछि उपचाररत थिए । अक्सिजन लेभल कम भएको र श्वासप्रश्वासमा समस्या देखिएपछि थप उपचारका लागि मिसन पठाइएको कोभिड अस्पतालका मेडिकल अधिकृत डा. पुजन श्रेष्ठले बताए ।

यसैगरी गुल्मी चन्द्रकोट गाउँपालिकाका ४२ वर्षीय पुरुषको लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा शनिबार बिहान निधन भएको स्वास्थ्य कार्यालयले जनाएको छ । 

कोरोना भाइरस

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully