संक्रमण र मृत्युदर घट्दो

ग्रामीण भेगका बिरामीहरु ढिलो गरी उपचारका लागि आउने प्रवृत्ति कायमै

जेष्ठ १५, २०७८

कान्तिपुर संवाददाता

पर्सा — पर्सा र छिमेकी जिल्लामा कोरोना संक्रमण र मृत्यु दरमा कमी आए पनि बिरामी ढिलो अस्पताल आउने समस्या कायमै छ । वीरगन्जस्थित नारायणी अस्पतालका कोभिड संयोजक डा. उदयनारायण दासका अनुसार अस्पतालमा शुक्रबार भर्ना भएका ६० मध्ये ६ जना सिकिस्त छन् । 

‘पर्सामा संक्रमण र मृत्यु दर घटेकै हो, अस्पतालमा भर्ना रहेका संक्रमित तथा गम्भीर खालका संक्रमितहरू छिमेकी जिल्लाका बढी छन्,’ उनले भने, ‘ग्रामीण भेगका बिरामीहरू ढिलो गरी उपचारका लागि आउने प्रवृत्ति यसपटक पनि देखियो, सामान्यतः ज्वरो र टाइफाइडका बिरामीले गाउँघरमै उपचार गराएर बस्छन्, कोभिडको ज्वरो एक सातापछि बिसेक पनि हुन्छ, त्यसपछि बिरामीलाई खोकी लाग्न थाल्छ, शरीरमा अक्सिजनको कमी हुन्छ, अनि उनीहरू गम्भीर अवस्थामा मात्र अस्पताल ल्याइन्छन् ।’ 

२ साता यता जिल्लामा कोरोना संक्रमण र मृत्यु दरसमेत क्रमशः ओरालो लाग्दै गएको डा सिंहको बुझाइ छ । ‘दुई साताअघिसम्म पनि नारायणी अस्पतालमा दैनिक १ सय २५ सम्म संक्रमित उपचारार्थ भर्ना हुन्थे, दैनिक ६ देखि १२ जना संक्रमितको ज्यान गइरहेको थियो,’ उनले भने, ‘हाल भने भर्ना हुने संक्रमितको संख्या आधाले घटेको छ, मृत्यु पनि ७५ प्रतिशतले घटेको छ ।’ 

नारायणी अस्पतालको प्रयोगशालामा दैनिक हुने परीक्षणको नतिजाले पनि संक्रमण घट्दो क्रममा रहेको पुष्टि गर्छ । बिहीबार १ सय ७७ जनाको स्वाब परीक्षण गर्दा ४२ मा संक्रमण पुष्टि भएको थियो । तीमध्ये २५ जना पर्साका छन् । बुधबार १ सय ९२ जनाको स्वाब परीक्षण गर्दा ४० जनामा कोरोना पुष्टि भएको थियो, जसमा पर्साका दुई दर्जन व्यक्ति थिए । मंगलबार २ सय ८२ जनाको स्वाब परीक्षण गर्दा ६० मा संक्रमण पुष्टि भयो, जसमा २ दर्जन पर्साका थिए । सोमबार १ सय ९२ जनाको स्वाब परीक्षण गर्दा ४१ जनामा कोरोना संक्रमण पुष्टि भयो । जसमा दुई दर्जन पर्साका थिए ।

सातायताकै तथ्यांकले दैनिक संक्रमण दर ओरालो लाग्दै गएको देखिन्छ । विगतमा ७० देखि ७५ प्रतिशतको हाराहारीमा रहेको संक्रमण दर हालका दिनहरूमा २० देखि २५ प्रतिशतमा झरेको छ । मंगलबार ३, बुधबार १, बिहीबार ३ र शुक्रबार १ जनाको ज्यान गएको छ । तीमध्ये छिमेकी जिल्लाका बढी छन् । जिल्ला प्रशासन कार्यालयको तथ्यांकअनुसार, बिहीबारसम्म जिल्लाका विभिन्न अस्पताल तथा आइसोलेसनहरूमा गरी २ सय ३७ संक्रमित भर्ना छन् । अस्पताल र आइसोलेसनहरूमा ४ सय ९९ शय्या खाली छन् । १ हजार ३ सय ७३ अक्सिजन सिलिन्डरमध्ये ७ सय ३३ बाँकी छन् । 

दुई सातायता वीरगन्जका विभिन्न अस्पतालमा भर्ना भएका संक्रमितहरूमा ब्ल्याक फंगसको संक्रमण देखिएकोमा पछिल्ला दिनहरूमा भने त्यो पनि नदेखिएको डा. सिंह बताउँछन् । ‘यहाँका अस्पतालहरूमा झन्डै आधा दर्जन कोरोना संक्रमितहरूमा ब्ल्याक फंगस संक्रमण देखिएको थियो, अहिले भने छैन,’ उनले भने, ‘यो अवसरवादी संक्रमण हो, विशेष गरी मधुमेह भएका तथा इम्युनिटी कमजोर भएका संक्रमितहरूलाई यो संक्रमणले छिटो थिच्छ ।’

नाकबाट प्रवेश गर्ने ब्ल्याक फंगसको किटाणु आँखा हुँदै मस्तिष्कसम्म पनि पुग्ने र ज्यानै पनि लिन सक्छ । संक्रमितहरूको इम्युनिटी पावर कमजोर हुने भएकाले उनीहरूमा यो अवसरवादी संक्रमण हुने सम्भावना बढी हुने डा. सिंह बताउँछन् ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully