गोरखा अस्पतालमा अक्सिजन प्लान्ट र एचडीयू बेड

निर्माणाधीन भवनको क्यान्टिन ब्लकमा बेड राखी सेवा 

जेष्ठ १५, २०७८

हरिराम उप्रेती

गोरखा — गोरखा जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट र सुविधासम्पन्न एचडीयू बेड सञ्चालनमा आएको छ । गण्डकी प्रदेश सरकारबाट प्राप्त २८ बेडको एचडीयू (हाई डिपेन्डेन्सी युनिट) ठाउँ अभावमा तीन महिनादेखि स्टोरमा थन्किएको थियो ।

क्यान्टिन ब्लकमा ठाउँ व्यवस्थापन गरी १५ बेड एचडीयू सञ्चालन थालिएको अस्पतालकी व्यवस्थापक लिपासा श्रेष्ठले बताइन् ।

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेत र गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले शुक्रबार बेड र प्लान्टको उद्घाटन गरे । ‘१५ मध्ये १० बेडमा पाइपलाइनबाट अक्सिजन जडान भएको छ,’ श्रेष्ठले भनिन्, ‘बाँकी ५ बेडमा भने सिलिन्डिरमार्फत अक्सिजनको व्यवस्थापन गरेका छौं ।’ बाँकी एचडीयू बेड भने ठाउँ अभावमा तत्काल जडान गर्न नसकिएको अस्पतालले जनाएको छ ।

भूकम्पले भत्काएको भवन निर्माणाधीन भएकाले अस्पताल हाल कर्मचारी आवास गृहको भवनबाट सञ्चालन गरिएको छ । कोरोना संक्रमितको संख्या बढेपछि निर्माणाधीन भवनको क्यान्टिन ब्लकमा एचडीयू बेड राखिएको हो । एचडीयू सञ्चालनमा आएसँगै कोभिड बेडको संख्या ३० पुगेको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले बताए । हाल जटिल अवस्थाका १० कोरोना संक्रमित उपचाररत छन् । ‘यो एचडीयू बेड पनि तत्कालका लागि कोभिडका बिरामीलाई मात्र प्रयोग गर्छौं,’ उनले भने ।

कोरोना संक्रमितको संख्या दिनानुदिन बढेपछि अस्पतालले ठाउँ व्यवस्थापन गरी बेड संख्या थपेको हो । अहिले क्यान्टिन ब्लकमा जडान गरिएको एचडीयू बेड भने नयाँ भवन निर्माणले पूर्णता पाएपछि स्थानान्तरण गर्ने ढकालले बताए । शुक्रबारबाट सञ्चालनमा आएको अक्सिजन प्लान्टबाट प्रतिमिनेट ८० लिटर अक्सिजन ग्यास उत्पादन गर्ने ढकालले बताए ।

‘तत्काल सिलिन्डरमा भर्न मिल्दैन, सिलिन्डरमा भर्न अर्को प्लान्ट चाहिन्छ,’ उनले भने, ‘अहिले जडान भएको प्लान्टबाट एचडीयू बेडसम्म अस्थायी पाइप लाइन विस्तार गरेका छौं, सिधै एचडीयू बेडमा अक्सिजन आउँछ ।’ दोस्रो लहरको कोभिडका बिरामीलाई श्वासप्रश्वासको समस्या देखिएकाले कोभिड महामारीलाई लक्षित गरेर अक्सिजन प्लान्ट सञ्चालनमा ल्याएको उनले बताए । अक्सिजन प्लान्ट तत्कालका लागि पर्याप्त रहेको उनले बताए । 

४९ लाख रुपैयाँमा अस्प्तालले ६ महिनाअघि प्लान्ट खरिद गरेको थियो । ‘ठाउँ अभावले जडान गर्न सकेका थिएनौं, ढिलै भए पनि जडान भयो,’ ढकालले भने, ‘यो प्लान्ट सञ्चालनमा आएपछि सिलिन्डर बोक्नुपर्ने चाप घट्छ ।’ मन्त्री बस्नेतले अब अक्सिजनको अभावमा बिरामी समस्यामा नपर्ने बताए । ‘प्रदेशका ११ जिल्लामा अक्सिजन प्लान्ट सुरु गर्ने योजना हो, गोरखा नवौं जिल्लामा परेको छ,’ उनले भने, ‘नवलपुरमा केही दिनमा सुरु गर्छौं, मनाङमा थ्रिफेज विद्युत् लाइन नहुँदा समस्या परेको छ ।’ 

थप १० दिन निषेधाज्ञा

गोरखामा १० दिन निषेधाज्ञा लम्बाएर जेठ २५ गतेसम्म पुर्‍याइएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सिफारिसमा प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले निषेधाज्ञा थप गरेका हुन् । संक्रमणको दर, प्रवृत्ति र मृत्युदरको विश्लेषणका आधारमा निषेधाज्ञालाई निरन्तरता दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका अधिकृत हर्क रोकाले बताए । 

बैठकले होम आइसोलेसनमा बस्नेको निगरानी तथा समुदायस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न जनप्रतिनिधिको संयोजकत्वमा प्रहरीसमेत रहने गरी निगरानी तथा सचेतना समूह गठन गरी प्रभावकारी रूपमा परिचालन गर्न स्थानीय तहहरूलाई अनुरोध गरेको छ ।

निषेधाज्ञाको अवधिमा संक्रमितको सम्पर्कमा आएकाहरूको कन्ट्याक्ट ट्रेसिङलाई तीव्रता दिन सम्बन्धित स्थानीय तह र स्वास्थ्य कार्यालयलाई अनुरोध गरिएको छ । निषेधाज्ञाको अवधिमा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र हिँडडुल नगर्न प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ ।

कोरोना भाइरस

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully