नयाँ भर्ना बन्द, उपचाररतलाई डिस्चार्ज

जेष्ठ १५, २०७८

देवनारायण साह

विराटनगर — अक्सिजनको सहज आपूर्ति नभएको भन्दै विराट मेडिकल शिक्षण अस्पतालले शुक्रबारदेखि कोरोना संक्रमित बिरामी भर्ना लिन बन्द गरेको छ ।

उपचाररत संक्रमितलाई पनि डिस्चार्ज गरेको छ । अस्पतालका कोभिड इन्चार्ज डा. सुनिल देवले आवश्यकताअनुसार अक्सिजनको आपूर्ति नभएकाले यस्तो गर्नु परेको बताए । 

‘संक्रमितलाई अत्यधिक अक्सिजन चाहिन्छ तर उद्योगले थोरै दिने गरेकाले समस्या भयो,’ उनले भने, ‘उपचाररत बिरामी पनि डिस्चार्ज गर्न बाध्य भएका छौं ।’ अस्पतालले विनायक र हिमाल अक्सिजन उद्योगबाट दैनिक ३ सय १० सिलिन्डिर अक्सिजन आपूर्तिको सम्झौता गरेको थियो । २ सय ५० शय्याको अस्पतालमा अक्सिजन अभाव हुन थालेपछि संख्या घटाएर १ सय २० जना मात्रै संक्रमितलाई उपचारमा राखिएको छ । 

कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा पनि अक्सिजन आपूर्तिमा समस्या भएको छ । अस्पताल संयोजक बैजनाथ साहले दैनिक ५ सय सिलिन्डर अक्सिजन आवश्यक भए पनि उद्याोगहरूले पूरा नदिदा गाह्रो भएको बताए । केन्द्रमा विनायक र हिमाल अक्सिजन उद्योगले अक्सिजन दिन्छन् । झापाको मेची अस्पतालमा पनि अक्सिजनको अभाव भएको मेडिकल सुपरिन्टेन्डेन्ट डा. पीताम्बर ठाकुरले बताए । ताप्लेजुङ, इलाम, पाँचथर र झापाका संक्रमितको चाप भए पनि अक्सिजन पर्याप्त नभएर बिरामी भर्ना लिनै समस्या हुने गरेको उनले गुनासो गरे । उनले भने, ‘६ देखि ८ घण्टा लाइनमा बसी सिलिन्डर ल्याउनुपर्छ ।’

नोबेल अस्पतालमा ३ सय शय्यामा पुग्ने आफ्नै अक्सिजन प्लान्ट भए पनि नपुगेर थप ३ सय सिलिन्डरका लागि तीन उद्योगसँग सम्झौता भएको छ । आपूर्ति पर्याप्त नहुँदा समस्या रहेको अस्पताल प्रबन्धक नारायण दाहालले बताए । 

कोरोना भाइरस

देवनारायण

Link copied successfully