१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

चितवनमा कोरोनाबाट थप २० जनाको मृत्यु

रमेशकुमार पौडेल

चितवन — कोरोना भाइरसको संक्रमण पुष्टि भएर भरतपुरका विभिन्न अस्पतालमा उपचार गराइरहेकामध्ये बुधबार २० जनाको मृत्यु भएको छ । यो संख्या हालसम्मकै उच्च हो । यसअघि सोमबार १५ जनाको मृत्यु भएको थियो । 

चितवनमा कोरोनाबाट थप २० जनाको मृत्यु

मृतक २० मध्ये ६ जना चितवनका हुन् । अरु १४ जना उपचारका लागि भरतपुरका विभिन्न अस्पतालमा भर्ना भएका चितवन बाहिरका संक्रमितहरु हुन् ।

चितवन स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार भरतपुर अस्पतालमा सातजनाको मृत्यु भएको छ । सो अस्पतालमा चितवनका तीन, नवलपरासीका दुईजना र कपिलवस्तु तथा धनुषाका एक एकजनाको मृत्यु भएको हो । चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा पाँचजना र पुरानो मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा पनि पाँचजनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

त्यसैगरी भरतपुरमा रहेको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कोरोना उपचार केन्द्रमा थप तीनजना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा भरतपुरका विभिन्न अस्पतालमा उपचार गराइरहेकामध्ये ५१ जना डिस्चार्ज भएर घर गएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । भरतपुरका विभिन्न ठुला अस्पतालमा ५२१ जना संक्रमितको उपचार भइरहेको छ ।

संक्रमितमध्ये २६० जना आईसीयूमा, ५९ जना भेन्टिलेटरमा र ९६ जना एचडीयूमा छन् । भरतपुरका अस्पतालहरुमा चितवनकाभन्दा चितवन बाहिरका धेरै संक्रमितको उपचार भइरहेको छ । स्वास्थ्य कार्यालयका अनुसार बुधबारसम्म चितवनमा निको हुन बाँकी संक्रिय संक्रमित चार हजार ३८९ जना छन् । तीमध्ये २१३ जना मात्रै अस्पताल भर्ना भएका छन् । चितवनका संक्रमितमध्ये हालसम्म १८२ जनाको निधन भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।


प्रकाशित : जेष्ठ ५, २०७८ १६:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?