कैलालीमा संक्रमितको शव व्यवस्थापनमा खटिए महिला सैनिक

जेष्ठ ५, २०७८

अर्जुन शाह

धनगढी — कोरोना संक्रमितको शव व्यवस्थापनमा यसअघि पुरुष सैनिक मात्रै खटिदै आएकोमा अब महिला सैनिक पनि खटिन थालेका छन् ।

कैलालीको अत्तरियास्थित भवानी दल गणले बुधबार पहिलो पटक उपसेनानी शशी केसीको नेतृत्वमा ६ जना महिला सैनिकहरुलाई संक्रमितको शव व्यवस्थापनमा खटाएको हो । उपसेनानी केसीको नेतृत्वमा खटिएका महिला सैनिकले सेती प्रादेशिक अस्पतालमा मृत्यु भएकी एक महिलाको शव गोदावरी आर्यघाटमा हिन्दु परम्पराअनुसार व्यवस्थापन गरेका हुन् । 

गणका गणपति प्रमुख सेनानी विकास केसीले महिला तथा बालबालिकाको शव व्यवस्थापनका लागि तालिमप्राप्त महिला सैनिक खटाइएको बताए ।

गणले शव व्यवस्थापन कार्यविधि ०७७ अनुसार बुधबारसम्म कैलालीमा मृत्यु भएका १ सय ६६ जनाको शव व्यवस्थापन गरेको जनाएको छ ।

कोरोना खोपकोरोना भाइरस

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully