तिलोत्तमा नगरपालिकाले बनायो ४० शय्याको अस्थायी कोरोना अस्पताल

जेष्ठ ५, २०७८

सन्जु पौडेल

तिलोत्तमा — कोरोना संक्रमित बिरामीको चाप बढ्दै जाँदा तिलोत्तमा नगरपालिकाले वडा ९ केवलानीस्थित नगरपालिकाको सभाहलमा ४० शय्याको अस्थायी कोभिड अस्पताल निर्माण गरेको छ ।

बुधबार नगरप्रमुख बासुदेव घिमिरेले उक्त अस्पतालको उद्घाटन गर्दै कोरोना फोकल पर्सन केशव भट्टराईलाई चाबी हस्तान्तरण गरे । शंकरनगरमा रहेको आइसोलेसन सेन्टरले बिरामीको चाप थेग्न नसक्ने देखिएपछि पुन : नयाँ अस्पताल निर्माण गरिएको नगर प्रमुख घिमिरेले बताए । तत्काल ४० बेड रहेपनि अस्पतालमा बेड संख्या एक सय पुर्याउन सकिने नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । 

अस्पतालमा सेन्टर फ्लो अक्सिजन सिस्टमबाट बिरामीलाई आवश्यकता अनुसार अक्सिजन उपलब्ध गराइने कोरोना फोकल पर्सन भट्टराईले जानकारी दिए । उनका अनुसार यो सिष्टमबाट बिरामीलाई अक्सिजन दिँदा अक्सिजन किफायती हुन्छ ।

नगर प्रमुख घिमिरेले कोरोना महामारीसँग जुध्‍न नगरपालिकाले उपलब्ध सबै साधन स्रोतको उच्चतम् प्रयोग गर्ने बताए । अस्थायी अस्पताल निर्माणमा सहयोग गर्ने सम्पूर्णमा आभार व्यक्त गर्दै नगर प्रमुख घिमिरेले अस्पतालमा थप सेवा सुविधा थप्दै लगिने बताए । नगरपालिकाले अस्थायी अस्पताल सञ्चालन तथा व्यवस्थापनको लागि नगर उपप्रमुख जागेश्वरी चौधरीको संयोजकत्वमा समिति समेत गठन गरेको छ ।

कोरोना खोपकोरोना भाइरस

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully