राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा अक्सिजन अभाव

जेष्ठ ३, २०७८

राजविराज — सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा अक्सिजनको अभाव भएको छ । भएका सिलिन्डर रितिँदै गएको र दुहबीस्थित डिपोमा खाली सिलिन्डर भर्न जाँदा तीनदिनपछि मात्र दिन सक्ने बताएपछि अक्सिजन अभाव हुने अवस्था आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जितकुमार झाले जानकारी दिए ।

डा. झाका अनुसार गजेन्द्रनारायण सिंह अस्पतालमा एक सय १० वटा अक्सिजन सिलिन्डर छन् । तीमध्ये ७० वटा खाली भइसकेको छ । बाँकी रहेका सिलिन्डरबाट बिरामीलाई अक्सिजन उपलब्ध गराइरहेको छ । 

‘आजरातिसम्म पुग्ने मात्र अक्सिजन हामीसँग छ,’ मेडिकल सुपरिटेन्डेन्ट डा. झाले भने,‘अहिले अस्पतालको आइसोलेसनमा रहेका तर अक्सिजन नलगाएकाहरुलाई पनि अक्सिजन दिनु परे राति पनि आवश्यक पर्न सक्छ ।’ अस्पतालले अहिलेसम्म इटहरी र दुहबीबाट अक्सिजनको आपूर्ति गर्दै आएको थियो । ‘अक्सिजनको अवस्थाले तनाव बढाएको छ,’ डा. झाले भने,‘व्यवस्थापनमा सहयोग गरिदिन जनप्रतिनिधि र राजनीतिक नेतृत्वलाई अनुरोध गर्दछु ।’

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको एचडीयुमा २५ जना,आकस्मिक कक्षमा २० जना र साईकृष्णा मेकिडल कलेजको पुरानो भवनमा रहेको कोभिड अस्पतालमा १६ जना कोरोना संक्रमित चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचाररत छन् । ‘अस्पतालमै उपचार गराइरहेका ६१ मध्ये ४७ जनालाई अक्सिजन आवश्यक भए अनुसार लगाइएको छ,’ डा. झाले भने,‘तत्काल अक्सिजन व्यवस्था भएन भने ठूलो खतरा हुन सक्छ ।’

राजविराज नगरपालिकाका नगरप्रमुख शम्भु यादवले इटहरी र दुहबीको डिपोमा बुटवल लगायत पश्चिमका सिलिन्डरहरु आएको र उनीहरुलाई प्राथमिकता दिने तर राजविराजलाई तीनदिनभित्र मात्र दिने बताएपछि अक्सिजनको अभाव भएको बताए । उनले प्रदेश सरकार लगायत अन्य निकायसँग अक्सिजनका लागि आवश्यक पहल गरिरहेको बताए । ‘अक्सिजन व्यवस्थाका लागि वैकल्पिक ठाउँहरुमा प्रयासरत छौ,’ नगरप्रमुख यादवले भने,‘सहयोगका लागि प्रदेश र संघीय सरकारलाई आग्रह गर्दछु ।’

सप्तरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले इटहरी र दुहबीको डिपोले अक्सिजन दिँदै आएकोमा अचानक रोकेपछि समस्या सिर्जना भएको र अन्य नयाँ डिपोहरुमा अक्सिजनबारे प्रयासरत रहेको बताए ।  

कोरोना खोपकोरोना भाइरस

Link copied successfully