१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

स्वास्थ्य सामग्री जुटाउन पहल गर्न विदेशस्थित सबै नियोगमा परराष्ट्रको पत्राचार

जगदीश्वर पाण्डे

काठमाडौँ — कोरोना भाइरसको दोस्रो लहरका कारण मुलुकमा अक्सिजन ग्यास सिलिन्डरसहित अन्य अतिआवश्यक स्वास्थ्य सामग्रीको अभाव हुन थालेपछि परराष्ट्र मन्त्रालयले विदेशस्थित आफ्ना नियोगहरुलाई सम्बन्धित मुलुकसँग त्यहाँको अवस्था अनुसार सहयोग जुटाउनको लागि पहल गर्न निर्देशन दिएको छ ।

स्वास्थ्य सामग्री जुटाउन पहल गर्न विदेशस्थित सबै नियोगमा परराष्ट्रको पत्राचार

मन्त्रालयले आफ्ना सम्पूर्ण राजदूतावास र नियोगहरुलाई संकटको बेलामा नेपाललाई आवश्यक स्वास्थ्य सामग्री जुटाउनको लागि निर्देशन दिइसकेको प्रवक्ता सेवा लम्सालले बताइन् । मन्त्रालयले वैशाख २३ गते विदेशस्थित नेपालका ३० राजदूतावास, तीन संयुक्त राष्ट्र संघीय स्थायी नियोग र ६ वाणिज्य दूतावासलाई सम्बन्धित मुलुकको अवस्था अनुसार सहयोगको लागि काम गन पत्राचार गरेको थियो । ‘जुन मुलुकहरुले नेपाललाई सहयोग गर्न सक्छन्, ती मुलुकहरुसँग संवाद गरेर सहयोगको लागि पहल गर्न भनेको हौ,’प्रवक्ता लम्सालले भनिन् ।

मन्त्रालयकै निर्देशन अनुसार बेल्जियमस्थित युरोपेली युनियन (ईयू) का लागि नेपालका राजदूत गहेन्द्र राजभण्डारीले ईयूसँग संवाद गरेर बुधबार नेपालको लागि २० लाख यूरो बराबरको आपत्तकालीन मानवीय अन्तरगत स्वास्थ्य सामग्री सहयोग उपलब्ध गराउने प्रतिबद्धता गराएको थियो । ‘मन्त्रालयको निर्देशन अनुसार ईयूसँग वार्ता गरेर नेपाललाई स्वास्थ्य सामग्रीहरुको सहयोग गर्ने प्रतिबद्धता भएको र ईयूले थप सहयोग गर्ने प्रतिबद्धता गरेको पनि छ,’ उनले कान्तिपुरसँग भने ।

मन्त्रालयले जारी गरेको निर्देशनपछि ओमानका लागि नेपालकी राजदूत शर्मिला पराजुली ढकालले पनि त्यहाँ रहेका नेपालीको संगठन एनआरएन र अन्य नेपालीहरुको सहयोगमा ५५० अक्सिजन सिलिन्डर खरिद गरेर नेपाल पठाउन लागेको बताइन् । उक्त सामग्री दिन नेपाल एयरलायन्सको विमान त्यसतर्फ गइसकेको छ । ‘नेपालबाट सहयोग जुटाउनु पर्ने भन्ने विषय आएपछि मैले यहाँ रहेका नेपाली समुदायसँग छलफल आयोजना गरे । र, त्यहि अनुसार सबै मिलेर सहयोग जुटाएका हौं । केहि दिनमै यी अक्सिजन सिलिन्डरहरु नेपालमा पठाउने तयारी गरेका छौं,’ राजदूत ढकालले भनिन् । थाइल्यान्डबाट पनि शुक्रबार २४ ओटा अक्सिजन सिलिन्डर नेपाललाई सहयोग आइपुगेको थियो ।

मन्त्रालयकै निर्देशनपछि गत साता चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेले पनि चिनियाँ परराष्ट्र मन्त्रालय र चिनियाँ भ्याक्सिन तथा स्वास्थ्य सामग्री उत्पादक कम्पनी सिनो फार्मका पदाधिकारीहरुसँग छलफल गरेका थिए । उनले सिनो फार्मका पदाधिकारीहरु नेपालको लागि चीनले २० लाखसम्म भेरो सेल खोप उपलब्ध गराउने प्रतिबद्धता लिएर आएका थिए । त्यहि अनुसार नेपालमा पत्रचार भए पनि खोप खरिदको विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबारसम्म कुनै पनि निर्णय गर्न सकेको छैन ।

परराष्ट्र मन्त्रालयको स्रोत अनुसार नेपालले अमेरिकाबाट ठूलो मात्रामा सहयोग कोसिस गरिरहेको छ । अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडा त्यसमा अहिले लागिरहेका छन् । केहि दिनमा सुःखद सूचना आउन सक्ने अनुमान गरिएको छ । बिहीबार उपप्रधानमन्त्री इश्वर पोखरेलसँगको टेलिफोन संवादमा पनि नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले अमेरिकाले छिटै सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यसै साता अमेरिकी टेलिभिजन र बेलायतको पत्रिका गार्जियन पत्रिकामा पत्रकाशित लेखमा पनि अन्तर्राष्ट्रिय समुदायलाई नेपाललाई सहयोग गर्न आग्रह गरेका थिए ।

परराष्ट्र मन्त्रालयले विदेशस्थित आफ्नो राजदूतावासहरुमा पठाएको पत्रमा अहिले नेपालमा आवश्यक स्वास्थ्य सामग्रीलाई केन्द्रमा राखेर सहयोग जुटाउनको लागि पहल गर्ने भनिएको छ । नेपालका सम्पूर्ण मिसनहरुले उक्त पत्र प्राप्त गरिरहेका छन् । यस्तै, नेपालका विकास साझेदारहरुलाई पनि सहयोगको लागि अपिल गर्नको लागि राजदूतावासहरुलाई भनिएको छ ।

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा रहेका विदेशी विकास साझेदार र अन्य सहयोगी संस्थाहरुलाई यो संकटको घडिमा नेपाललाई सक्दो सहयोग गर्नको लागि भन्दै अनुरोध गरिसकेको छ ।

प्रकाशित : जेष्ठ १, २०७८ १४:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?