भक्तपुर — मध्यपुर थिमि नगरपालिकाले नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालमा अक्सिजन उत्पादन सुरु गरेको छ ।
कोरोना संक्रमितको चाप बढेसँगै अक्सिजनको माग बढ्दो छ । मौज्दात अक्सिजन सिलिन्डरले नधान्ने अवस्था आएपछि अस्पतालमा ‘एयर बेस अक्सिजन प्लान्ट’ जडान गरिएको मध्यपुर थिमि नगरप्रमुख मदनसुन्दर श्रेष्ठले बताए ।
नगरपालिकाको ६५ लाख रुपैयाँ खर्चमा जडान गरिएको अक्सिजन प्लान्टबाट दैनिक १ लाख ९२ हजार लिटर अर्थात् ३२ सिलिन्डर अक्सिजन उत्पादन हुन्छ । सुरुमा दैनिक ३२ सिलिन्डर अक्सिजन उत्पादन हुने र केही थप प्रविधि जडानपछि दैनिक ९० सिलिन्डरसम्म उत्पादन गर्न सकिने नगरप्रमुख श्रेष्ठ बताउँछन् । अक्सिजन प्लान्ट शुक्रबारबाट सञ्चालनमा आएको हो ।
नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालमा ४३ जना कोरोना संक्रमित उपचाररत छन् । ती बिरामीका लागि दैनिक करिब ७० सिलिन्डर अक्सिजन आवश्यक पर्छ । तत्कालका लागि प्लान्टबाट उत्पादित अक्सिजन उपचाररत बिरामीका लागि पर्याप्त नभए पनि केही राहत हुने अस्पतालका प्रशासकीय अधिकृत रूपेश श्रेष्ठले बताए ।
अक्सिजन अभावका कारण अस्पतालले थप बिरामी भने भर्ना लिन सकेको छैन । अक्सिजन उत्पादनमा वृद्धि भएसँगै अस्पतालले संक्रमित बिरामीलक्षित थप २० शय्याको एचडीयू कक्ष सञ्चालनमा ल्याउने जनाएको छ । आकस्मिक कक्ष, कोभिड आईसीयू र भेन्टिलेटरमा उपचाररत बिरामीलाई पाइपबाट सिधै अक्सिजन पुर्याउने व्यवस्था गरिएको छ । पाइप जडान नभइसकेका स्थानमा भने तत्कालका लागि सिलिन्डरबाटै अक्सिजन दिने अस्पतालले जनाएको छ ।
१ सय २ शय्याको नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालमा १ सय ११ चिकित्सक, ९३ नर्ससहित ३ सय ६५ कर्मचारी कार्यरत छन् । जसमध्ये, अस्पतालमा कार्यरत ६ चिकित्सक, ९ नर्ससहित १७ संक्रमित भएका छन् । दोस्रो लहरको महामारी फैलिएपछि अस्पतालमा गाइनो र कोभिड वार्ड मात्र सञ्चालन आएको र अन्य बिरामीका लागि अनकल सेवा सञ्चालनमा ल्याएको अस्पतालका प्रशासकीय अधिकृत श्रेष्ठले बताए ।
