वीरगन्ज — कोरोना संक्रमणको दर उच्च भइरहँदा लक्षण शंका हुनेबित्तिकै उपचार थाल्नुको साटो सिकिस्त भएपछि मात्रै अस्पताल पुग्ने बिरामीको मृत्यु भइरहेको छ ।
गम्भीर अवस्थामा ल्याइएका बिरामीलाई हरसम्भव प्रयास गर्दा पनि बचाउन गाह्रो परिरहेको नारायणी अस्पतालको कोरोना उपचार केन्द्रका चिकित्सकहरूले बताएका छन् । यहाँ बुधबार मात्रै ५ जना संक्रमितको मृत्यु भएको छ । यसअघि मंगलबार ४ र सोमबार ३ जना संक्रमितको मृत्यु भएको थियो ।
अस्पतालका कोरोना उपचार संयोजक डा. सरोजरोशन दासका अनुसार गत चैत १५ यता नारायणीमा भर्ना भएका १ सय १३ संक्रमितमध्ये हालसम्म १९ जनाको मृत्यु भएको छ ।
यो अवधिमा ४१ जना निको भएर घर फर्किएका छन् । सुरुवाती चरणमा ज्वरो आउने, टाउको दुख्ने, रुघाखोकीजस्ता लक्षण हुँदा मौसमी रोग भनेर लापरबाही गर्दै अन्तिम समयमा अस्पताल आइपुग्नेलाई बचाउन गाह्रो परिरहेको हो । रौतहट माधव नारायण नगरपालिकाको पिप्रा–रजवाडा निवासी ५० वर्षीय महिलालाई श्वासप्रश्वासमा समस्या देखिएपछि परिवारले उनलाई बुधबार बिहान वीरगन्जको नारायणी अस्पताल ल्याए ।
कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकाले अस्पतालमा उनको कोरोना एन्टिजेन टेस्ट गरियो । नतिजा पोजिटिभ आएपछि करिब पौने १२ बजेको समयमा ती महिलालाई आइसोलेसन कक्षमा भर्ना गरी उपचार थालियो । भर्ना भएको दुई घण्टामै उनको मृत्यु भयो । अस्पतालका कोरोना उपचार संयोजक डा. सरोजरोशन दासका अनुसार ती महिलामा कडा खालको निमोनियासमेत देखिएको थियो । बुधबार नै नारायणी अस्पताल पुर्याएकी वीरगन्ज–२७ बगहीकी ६० वर्षीय महिलाको भर्ना भएको केहीबरमै मृत्यु भयो । सिकिस्त भएपछि परिवारले बुधबार बिहान उनलाई अस्पताल ल्याएका थिए । लक्षणबाट चिकित्सकले कोरोनाको शंका गरेका थिए । एन्टिजेन परीक्षणमा पोजिटिभ रिपोर्ट आएको थियो ।
स्वास्थ्यकर्मीका अनुसार दम, मधुमेह र उच्च रक्तचापको पुरानै समस्या भएकी उनलाई श्वासप्रश्वासमा गाह्रो परिरहेको थियो । परीक्षणमा उनमा निमोनिया पनि देखिएको थियो । ‘गम्भीर बिरामी अन्तिम समयमा अस्पताल आइपुग्ने गरेकाले उपचारमा समस्या भएको छ,’ डा. दासले भने । नारायणी अस्पतालमा उपचार गराइरहेका सर्लाहीको धनगढी–४ का ४३ वर्षीय संक्रमित पुरुषको बुधबार दिउँसो मृत्यु भयो । कडा खालको निमोनिया भएका उनी मंगलबार अस्पताल भर्ना भएका थिए । श्वासप्रश्वासमा समस्या भएपछि आफन्तले उनलाई नारायणी अस्पताल ल्याएका थिए ।
गत सोमबार कोरोना पोजिटिभ पुष्टि भएपछि नारायणी अस्पताल भर्ना भएकी बाराको सुवर्ण–७ की ३० वर्षीया महिलाको बुधबार बिहान मृत्यु भयो । डा. दासका अनुसार उनमा पनि श्वासप्रश्वास र कडा खालको निमोनिया देखिएको थियो । गत आइतबार नारायणीको आइसोलेसनमा भर्ना भएका वीरगन्ज–७ रामटोलका ४५ वर्षीय पुरुषको पनि बुधबार मृत्यु भएको छ । कोरोना संयोजक डा. दासका अनुसार श्वासप्रश्वास र कडा निमोनियाबाट ग्रसित उनको उपचारका क्रममा मृत्यु भएको हो ।
कोरोनाको दोस्रो लहर उकालो लागिरहँदा मृत्युदरसमेत बढेको छ । ‘मान्छेले अझै पनि मलाई कोरोना हुन सक्छ भनेर स्विकार्न सकिरहेका छैनन्,’ नारायणी अस्पतालका वरिष्ठ फिजिसियन डा. नीरज सिंहले भने, ‘घरमै उपचार गर्ने र ढिला भएपछि मात्र अस्पताल आउनेलाई बचाउन गाह्रो हुने गरेको छ ।’ उनका अनुसार सिकिस्त भएर आउने संक्रमितलाई ‘हाई फ्लो’ मा अक्सिजन दिनुपर्छ, त्यो सफल भएन भने बचाउन कठिन हुन्छ ।
