काठमाडौँ — कोभिड–१९ प्रतिरोधात्मक भ्याक्सिन (खोप) नेपाललाई बिक्री गर्न ४ कम्पनीको प्रस्ताव परे पनि सरकारले भने निर्णय गर्न सकेको छैन । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले भने पछिल्लो समय बिचौलियाका कारण खोप खरिदको निर्णय हुन नसकेको बताउँदै आएका छन् ।
त्यस्ता बिचौलियाको पहिचान तथा विवरण सार्वजनिक भने गरेका छैनन् । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार खोप बिक्री गर्न चाहने चारवटा कम्पनीका प्रस्ताव थन्किएर बसेको छ । ‘रुस, चीन र भारतका दुई उत्पादकको खोप खरिदका लागि मूल्यसहितको प्रस्ताव पेस भइसकेको छ,’ स्रोतले भन्यो, ‘निर्णय भने भएको छैन ।’
स्रोतका अनुसार भारत बायोटेक कम्पनीले उत्पादन गर्ने कोभ्याक्सिन, चीनको सरकारी कम्पनी सिनोफार्मअन्तर्गत बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट्स कम्पनी लिमिटेड (बीआईबीपी) ले उत्पादन गर्ने सिनोभ्याक्स, रुसको गमालिया इन्स्टिच्युटले विकास गरेको स्पुतनिक–५ र सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरिरहेको कोभिसिल्ड खोप नेपाललाई बिक्री गर्ने गरी यहाँका एजेन्ट कम्पनीहरूमार्फत प्रस्ताव पेस भएको हो ।
चिनियाँ खोपको स्थानीय एजेन्ट कोही पनि छैन । नेपालस्थित चिनियाँ दूतावासले समन्वय गरिदिएको छ । ‘हालसम्म रुसको खोप खरिदका लागि वार्ताहरू अलि बढी भएको बुझिएको छ, खासगरी मन्त्री त्रिपाठी यो खोप खरिदमा लागिपरेका छन्,’ स्रोतले भन्यो, ‘कुरा मिल्यो भने सरकार–सरकारबीच (जीटुजी) सम्झौताअनुसार यो खोप खरिद हुनेछ ।’
रुसले आगामी डिसेम्बरसम्ममा नेपाललाई ८० लाख डोज खोप किन्न दिने प्रतिबद्धता जनाएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री त्रिपाठी र मस्कोबाट आएको उच्चस्तरीय टोलीबीच गत बुधबार भएको छलफलमा खोप बिक्रीको प्रतिबद्धता आएको हो । छलफलका क्रममा मन्त्री त्रिपाठीले ४० लाख डोज खोप तत्काल आवश्यक पर्ने जानकारी गराएका थिए । ‘रुसी खोप ल्याउने करिब–करिब तय भइसकेको छ, दुई–चार दिनमा यो विषयमा टुंगो लाग्छ,’ मन्त्री त्रिपाठीले गत साता भनेका थिए ।
अन्य तीन खोप उत्पादक कम्पनीले पनि नेपाली एजेन्ट नियुक्त गरी उनीहरूमार्फत खोप बिक्रीको प्रस्ताव गरेका हुन् । स्वास्थ्य स्रोतले उपलब्ध गराएअनुसार भारतको कोभ्याक्सिनले प्रतिडोज २६ सय रुपैयाँमा प्रस्ताव गरेको छ । सबैभन्दा महँगो यही हो । त्यसपछि चिनियाँ खोप सिनोभ्याक्स प्रतिडोज २१ सय रुपैयाँमा दिन सक्ने गरी प्रस्ताव गरेको छ । ‘रुसको स्पुतनिक–५ प्रति डोज १७२० रुपैयाँमा दिन सक्ने प्रस्ताव आएको छ,’ स्रोतले भन्यो, ‘भारतकै कोभिसिल्डले भने ७५० रुपैयाँमा एक डोज खोप उपलब्ध गराउने गरी प्रस्ताव गरेको छ ।’ उक्त मूल्य नेपाल सरकारलाई उपलब्ध गराउने गरी पेस भएको हो । रुसी खोपको मूल्यका विषयमा नेपालस्थित रुसी दूतावासले प्रस्ताव पेस गरेको हो । स्थानीय एजेन्टका रूपमा नियुक्त लोमस फर्मास्युटिकल्सले खोप आएपछि व्यवस्थापनको काम गर्ने गरी अनुमति पाएको हो ।
‘सबै खोपको प्रस्तावित मूल्यमा ढुवानी भाडा र एजेन्ट कमिसन पनि जोडिएको छ,’ स्रोतले भन्यो, ‘यही मूल्यमा सरकारले वार्ता गर्नेछ र घटाउने प्रयास हुनेछ ।’ यसअघि सरकारले कोभिसिल्ड खोप (दुई डोज) ४ अमेरिकी डलर (करिब ४७६ रुपैयाँ) मा खरिद गरेको थियो । भारत सरकारको मध्यस्थतामा खरिद गर्दा २० लाख डोज ल्याउने सम्झौता भएको थियो तर हालसम्म १० लाख डोज मात्रै नेपाललाई दिएको छ । बाँकी १० लाख डोज ल्याउने समय भने अन्योलमा परेको छ । भारतको सिरम इन्स्टिच्युट अफ इन्डियासँग भएको सम्झौताअनुसार गत फेब्रुअरीभित्र १० लाख र मार्च महिनाभित्र बाँकी १० लाख डोज खोप ल्याउने भन्ने थियो । पहिलो मिति फेब्रुअरीभित्रै १० लाख डोज ल्याए पनि बाँकी १० लाख डोज आउने मिति अनिश्चित छ ।
सिरमबाट खोप ल्याउनका लागि मन्त्रिपरिषद्ले सार्वजनिक खरिद ऐनमा भएको बैंक ग्यारेन्टी, अग्रिम भुक्तानी र भुक्तानीसम्बन्धी व्यवस्थाहरू निलम्बन गरेको थियो । त्यसपछि सरकारले सिरमलाई सोझै करिब ९३ करोड रुपैयाँ अग्रिम भुक्तानी थियो । स्वास्थ्य सचिव लक्ष्मण अर्यालका अनुसार मन्त्रालयले विभिन्न विकल्पहरूमा छलफल गरिरहेकाले छिट्टै त्यसमा निर्णय हुनेछ । ‘हामीले चार मात्रै होइन, धेरै कम्पनी र देशहरूसँग छलफल गरिरहेका छौं, अमेरिकालाई नै ३० देखि ५० लाख डोज खोप दिन आग्रह गरेका छौं,’ उनले भने, ‘कोभ्याक्सलाई १ करोड २० लाख डोज उपलब्ध गराउन भनेका छौं भने युनिसेफलाई पनि सहयोग गर्न भनेका छौं ।’
सचिव अर्यालले सुपथ मूल्यमा खोप आपूर्तिको ग्यारेन्टी गर्छ भने मन्त्रालय कुनै पनि खोप खरिद गर्न तयार रहेको बताए । ‘मूल्य र गुणस्तरमा कुरा मिल्न पर्यो, अब यो वा त्यो भनेर हेरेर बस्नु हुन्न भन्ने अन्तर्राष्ट्रिय मान्यता नै बनिसकेको छ,’ उनले भने, ‘त्यस्तै परे निजी क्षेत्रले ल्याएर हामीले भनेको मार्जिनमा बिक्री गरे पनि हुन्छ । हामीले त्यसलाई पनि रोकेका छैनौं ।’
हालसम्म नेपालमा चार खोपले मात्रै आपत्कालीन प्रयोग अनुमति पाएका छन् । तीमध्ये चीनको सिनोभ्याक्स खोप ८ लाख डोज अनुदानका रूपमा प्राप्त भइसकेको छ । भारतको कोभिसिल्ड १० लाख डोज भारत सरकारले अनुदानका रूपमा दिएको थियो । १० लाख खरिद गरेर ल्याइएको हो । पछि कोभ्याक्समार्फत ३ लाख ४८ हजार डोज कोभिसिल्ड पनि नेपालमा भित्रिएको थियो । यस्तै भारतीय सेनाले नेपाली सेनालाई पनि सहयोगस्वरूप १ लाख डोज कोभिसिल्ड खोप नै दिएको थियो ।
भारतको कोभ्याक्सिन र रुसको स्पुतनिक–५ खोप हालसम्म नेपालमा आएको छैन । रुसबाहेक तीनवटै खोपका लागि विश्व स्वास्थ्य संगठनले आपत्कालीन परीक्षण अनुमति दिइसकेको छ । स्पुतनिक–५ लाई भने विश्व स्वास्थ्य संगठनले अनुमति दिएको छैन ।
सरकारले निजी क्षेत्रलाई समेत खोप ल्याउन खुला गरिदिइसकेको छ तर निजी क्षेत्रले सोझै ल्याउन सकेका छैनन् । सरकारले खरिद गर्ने र निजी क्षेत्रले आयात गर्ने विषयमा सरकारले छुट्टै मापदण्ड बनाइसकेको छ । मापदण्डअनुसार निजी क्षेत्रलाई खोप ल्याउन कर छुटदेखि आयात अनुमतिको नीतिगत निर्णय भइसकेको छ तर सार्वजनिक गरिसकिएको छैन । खोपको कारोबारमा निजी क्षेत्रले १० प्रतिशतभन्दा बढी नाफा लिन पाउने छैन । ‘नेपालमा खोप आयात अनुमति दिँदा खोपको एकाइ मूल्य निर्धारणका लागि एक्स फ्याक्ट्री मूल्य, ढुवानी, भण्डारण, सम्बन्धित मुलुकको कर र सेवा शुल्क विश्लेषण गरी मुनाफा १० प्रतिशतभन्दा बढी नहुने गरी तोक्ने,’ मन्त्रिपरिषद्ले तय गरेको मापदण्डमा भनिएको छ ।
साथै खोप आयात र स्थानीय रूपमा बिक्रीवितरण गर्दा कर, महसुल र शुल्क छुट दिने निर्णय पनि छ । ‘खोपको प्रयोगबाट कुनै प्रतिकूल असर पर्न गएमा उत्पादक, वितरक तथा दातृ निकायसँग क्षतिपूर्तिको कुनै माग दाबी नगर्ने,’ मापदण्डमा भनिएको छ । हालसम्म नेपालमा कोभिसिल्ड खोपको पहिलो डोज १८ लाख १९ हजार ४ सय ३६ जनाले लगाइसकेका छन् भने दोस्रो डोज ३ लाख ६२ हजार १ जनाले लगाएका छन् । यस्तै चिनियाँ खोप भेरोसेलको पहिलो डोज २ लाख ७२ हजार ७५ जनाले लगाएका छन् ।
