बुटवल — प्रदेश सरकारले कोरोना नियन्त्रण र उपचारमा गरेका काम बारे जानकारी दिन र सुझाव लिन लुम्बिनी प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुबीच छलफल भएको छ ।
मुख्यमन्त्री मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा बिहीबार मुख्यमन्त्रिपरिषद्को कार्यालयमा छलफल भएको थियो । जसमा प्रदेश सरकारबाट अहिलेसम्म गरेका कामबारे जानकारी दिँदै अब गर्नुपर्ने कामबारे सुझाव मागिएको थियो । कोरोना नियन्त्रण र उपचारमा प्रदेश सरकार केन्द्रित भएको बताउँदै मुख्यमन्त्रीले प्रभावित क्षेत्रमा गरिएको निषेधाज्ञा र लकडाउन कार्यान्वयनको लागि सबैले सकारात्मक भूमिका खेल्न आग्रह गरे ।
प्रमुख प्रतिपक्ष दल कांग्रेसका प्रमुख सचेतक फकरुद्दीन खानले कोरोना रोकथाम र उपचारमा प्रदेश सरकार थप संवेदनशील हुन आग्रह गरे । माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले उपचार अभावमा कोही नागरिक मर्नुपर्ने अवस्था ल्याउन नहुने बताए । छलफलमा सत्तारुढ एमाले प्रमुख सचेतक भूमिश्वर ढकाल, प्रदेश सरकारका मन्त्रीहरु आर्थिक मामिलामन्त्री बैजनाथ चौधरी, आन्तरिक मामिला, स्वास्थ्य तथा जनसंख्यामन्त्री लिला गिरी, भौतिक पूर्वाधार विकासमन्त्री सन्तोष पाण्डे, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विजय यादव र शिक्षा तथा सामाजिक विकासमन्त्री कल्पना पाण्डे सहभागी थिए ।
लुम्बिनी प्रदेशमा प्रदेश सरकारको सहयोग रहेका ४ वटा कोरोना विशेष अस्पताल छन् । पाल्पा, रुपन्देही र बाँकेका ७ वटा निजी अस्पताल एवं मेडिकल कलेजमा पनि कोरोनाका बिरामीको उपचार भइरहेको छ । यी सबै अस्पतालमा गरी ५ सय ७३ वटा आइसोलेसन बेडहरु रहेका छन् । आईसियू १ सय ४२ बेड छन् । १ सय ५९ वटा एचडियू र ७५ वटा भेन्टिलेटर रहेका छन् ।
कोरोना संक्रमणको जोखिम बढ्दै र उपचार सेवा प्रभावित हुँदै गएपछि लुम्बिनी प्रदेश सरकारले यही साता कोरोना विशेष अस्पतालहरुलाई १ करोड ७५ लाख उपलब्ध गराउने निर्णय गरेको छ । जसमा बुटवल, दाङ र बाँकेका कोरोना विशेष अस्पताललाई ५०/ ५० लाख र भीम अस्पताल भैरहवालाई २५ लाख रुपैयाँ तत्काल उपलब्ध गराउने छ । यस्तै कोरोना रोकथाम तथा उपचार कोषमा १० करोड रुपैयाँ थप गर्ने छ ।
