वैशाखभरि भर्चुअल कक्षा सिफारिस
काठमाडौँ — कोरोना भाइरसको संक्रमण पुनः बढेसँगै अतिप्रभावित जिल्लामा वैशाख मसान्तसम्म भर्चुअल कक्षा मात्र लिन शनिबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ ।
सिफारिसलाई अब बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरे अब चालु महिनाभरि अतिप्रभावित जिल्लाका शैक्षिक संस्था बन्द हुनेछन् । पछिल्ला दिनमा कोभिड–१९ को संक्रमण बढेसँगै स्वास्थ्य मन्त्रालयले अतिप्रभावित जिल्लाहरूमा शैक्षिक संस्थालाई केही समय बन्द गर्न भनेको थियो । तर शिक्षा मन्त्रालयलाई निजी विद्यालय सञ्चालकहरूले अहिले नै विद्यालय बन्द गर्न नहुने भन्दै दबाब दिएपछि सरकारले के गर्ने भन्ने अन्योल थियो । तर सीसीएमसीको शनिबारको बैंठकले स्वास्थ्य मन्त्रालयकै प्रस्तावलाई छलफल गरेर अघि बढाउन स्वीकृति दिएको हो ।
सीसीएमसीका एक सदस्यका अनुसार अहिलेका लागि वैशाख मसान्तसम्म कोरोना भाइरसको संक्रमणको अवस्था हेर्ने र त्यसपछि अर्को निर्णय लिने गरी अहिले सिफारिस गरिएको हो । स्वास्थ्य मन्त्रालयले यसअघि नै काठमाडौं, भक्तपुर, ललितपुरसहित १५ सहरका विद्यालय बन्द गर्नुपर्ने सुझाव दिएको थियो । मन्त्रालयले कोरोना भाइरस संक्रमणको अतिप्रभावित जिल्लाका रूपमा काठमाडौं, ललितपुर, कास्की, रूपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङलाई वर्गीकरण गरेको छ ।
मन्त्रालयले अति जोखिम १४ जिल्लाका बालबालिकालाई विद्यालय नपठाउन आग्रह गरे पनि ती जिल्लाका स्थानीय तहले पूर्ण रूपमा विद्यालय बन्द गर्ने कुनै पनि निर्णय गरेका छैनन् । काठमाडौं महानगरपालिकाले भने मन्त्रालयको सुझावपछि शिक्षक र विद्यार्थीमा कोरोना पुष्टि भएका विद्यालयले कम्तीमा एक साता पठनपाठन बन्द गर्नॅपर्ने निर्णय गरेको छ । शिक्षा मन्त्रालयले पनि शुक्रबार विज्ञप्ति जारी गरि जिल्ला कोभिड–१९ संकट व्यव्स्थापन केन्द्र (डीसीसीएमसी) को समन्वयमा स्थानीय तहले विद्यालय बन्द वा खुला गर्न सक्ने निर्णय गरेको थियो । विद्यालय पुनः सञ्चालन कार्यढाँचा २०७७ अनुसार पालिकाले जोखिमको प्रकृतिअनुसार विद्यालय बन्दको निर्णय गर्ने सक्ने मन्त्रालयले जनाएको थियो ।
मापदण्डलाई कडाइ सिफारिस
सीसीएमसीको शनिबारको बैठकले मन्त्रिपरिषद्लाई अब कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सुरक्षाको मापदण्डलाई कडा रूपमा लागू गर्न सिफारिस गरेको छ । सार्वजनिक संस्था, यातायात, भीडभाड हुने बजारलगायत स्थानहरूमा स्वास्थ्य सुरक्षाको मापदण्ड कडाइको रूपमा पालना गराउने निर्णय भएको एक मन्त्रीले बताए ।
‘स्वास्थ्य सुरक्षाको मापदण्ड कडाइको रूपमा नहुँदा कोरोना भाइरस रोकथाम र नियन्त्रणमा समस्या देखियो । त्यसैले अब मापदण्डलाई कडा रूपमा अपनाउनका लागि भनेका छौं,’ उनले भने । अब कसैले पनि सभा, सम्मेलन र भेला गर्न नपाइने भएको छ । सीसीएमसीको शनिबारको बैठकले संक्रमणको जोखिम थप बढ्ने निष्कर्ष निकाल्दै बढी मान्छेहरू भेला गएर गरिने बैठक, सम्मेलन र सभाहरू नगर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको हो ।
बैठकमा लकडाउन तत्काल नै लकडाउनको विषय अगाडि बढाउनुभन्दा पनि सुरक्षाको मापदण्डलाई कडाइका साथ अपनाउनुपर्ने छलफल भएको थियो । सरकारले यसअघि मुलुकव्यापी लकडाउन गरे पनि अहिले भने अति प्रभावित क्षेत्रमा त्यहाँको डीसीसीएमसी र स्थानीय तह मिलेर गर्नुपर्ने निर्णय गरेको छ ।
प्रकाशित : वैशाख ४, २०७८ १७:१०