पालो नआउँदै कोरोना खोप लगाएको आरोपमा पेरुका पूर्वराष्ट्रपतिलाई कारबाही

१० वर्षसम्म सार्वजनिक पद धारणमा प्रतिबन्ध

वैशाख ४, २०७८

इकान्तिपुर डेस्क

काठमाडौँ — दक्षिण अमेरिकी मुलुक पेरुका पूर्वराष्ट्रपति मार्टिन भिज्कार्रालाई १० वर्ष सार्वजनिक पदमा बसेर काम गर्न प्रतिबन्ध लगाइएको छ । कोरोना भाइरसविरुद्धको खोप गोप्य रुपमा लगाएको आरोपमा उनलाई कारबाही गरिएको हो । 

समाचार संस्था रोयटर्सले जनाएअनुसार पूर्वराष्ट्रपति मार्टिनले मुलुकमा कोरोनाविरुद्धको खोप अभियान सुरु हुनुपूर्व खोप लगाएका थिए । उनीसहित ४ सय ७० जनाको समूहले आधिकारिक रुपमा खोप अभियान सुरु हुनुपूर्व नै खोप लगाएको आरोप लागेको थियो । त्यही आरोपमा संसद्ले मार्टिनलाई १० वर्षसम्म सार्वजनिक पद धारणमा रोक लगाएको हो । पेरुको संसद्मा भएको मतदानमा मार्टिनलाई प्रतिबन्ध लगाउने पक्षमा ८६ मत परेको थियो । प्रस्तावको विपक्षमा कसैले मत हालेनन् । 

त्यस्तै पूर्वस्वास्थ्य मन्त्री पिलार माजेटीलाई ८ र पूर्वविदेश मन्त्री एलिजाबेथ एस्टेटलाई एक वर्ष सावजनिक पद धारणमा रोक लगाइएको छ । दुवै मन्त्रीले पनि अभियान सुरु हुनुपूर्व नै खोप लगाएका थिए । खोप काण्ड सार्वजनिक भएसँगै दुवैले राजीनामा दिएका थिए । गत फेब्रुअरीमा पूर्वराष्ट्रपति मार्टिनले आफू र श्रीमतीले गत वर्षको अक्टोबरमै चिनियाँ कम्पनी सिनोफार्मको परीक्षणमा खोप लगाएको दाबी गरेका थिए । तर पेरुमा सिनोफार्मको कोरोना खोपमा परीक्षणमा सहभागी स्थानीय विश्वविद्यालयले उक्त दाबीलाई खारेज गरेको बताएको छ । 

मार्टिन सन् २०१८ को मार्चमा पेरुको राष्ट्रपति बनेका थिए । सरकारी कार्यालयहरुमा हुने भ्रष्टाचार अन्त्य गर्ने वाचासँगै सत्तामा आएका उनी आफै भ्रष्टाचारको आरोपमा सत्ताबाट बाहिरिएका थिए । गत वर्षको नाभेम्बर महिनामा उनलाई संसद् भ्रष्टाचार आरोपमा महाभियोग लगाउँदै पदमुक्त गरेको थियो । 

सिनोर्फामले गत वर्षको सेप्टेम्बर र डिसेम्बरको बीचमा पेरुमा कोरोना खोपको परीक्षण गरेको थियो । परीक्षणमा १२ हजार सहभागी भएका थिए ।

जनवरीको पहिलो साता पेरु सरकारले सिनोफार्मसँग ३ करोड ८० लाख डोज खोप किन्ने सहमति गरेको थियो । पहिलो खेपअन्तर्गत गत साता ३ लाख डोज खोप आइपुगेपछि पेरुमा मंगलबारेदेखि खोप अभियान सुरु भएको हो । पेरुमा पहिलो चरणमा स्वास्थ्यकर्मी र उच्च जोखिममा रहेका व्यक्तिलाई खोप दिइने बताइएको छ । 

कोरोना खोपकोरोना भाइरस

इकान्तिपुर

Link copied successfully