परीक्षण गराएका ५२ प्रतिशतमा कोरोना

वैशाख १, २०७८

ठाकुरसिंह थारू

नेपालगन्ज — पीसीआर परीक्षण गरिएका आधाभन्दा बढी नमुनामा कोरोना संक्रमण देखिएको छ । बाँकेमा दुई महिनाअघिसम्म नियन्त्रणमा रहेको कोरोना संक्रमण एक्कासि बढेको हो ।

मंगलबार भेरी अस्पताल नेपालगन्जमा मात्र १ सय १३ जनाको पीसीआर परीक्षण गर्दा ५९ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । नेपालगन्जका ४२, कोहलपुरका १, खजुराका ३, राप्तीका ३ गरी ४९ जनामा कोरोना पुष्टि भएको हो । कामको सिलसिलामा बाँकेमै रहेका बर्दियाका ४, कैलालीका १, दैलेखका ३, अछामका १ र सोलुखुम्बुका १ जनामा पनि संक्रमण पुष्टि भएको छ । यसअघि सोमबार ७८ जनाको परीक्षण गर्दा ४१ जना संक्रमित भेटिएका थिए । 

बाँकेका सबै पालिकामा संक्रमण फैलिएको पुष्टि भएको छ । भारतबाट फर्किएका ३ जनामा पनि कोरोना देखिएको छ । नेपालगन्ज सीमामा एन्टिजेन परीक्षण गर्दा उनीहरूको रिपोर्ट पोजिटिभ देखिएको हो । जिल्ला स्वास्थ्य कार्यालयले भारतबाट फर्किने नेपालीमा शंकास्पद लक्षण देखिए सीमामै एन्टिजेन परीक्षण गर्ने व्यवस्था मिलाएको छ । 

भेरी अस्पताल नेपालगन्जका प्रमुख डा. प्रकाश थापाले बाँकेमा संक्रमण एकाएक बढेको बताए । ‘लक्षणका आधारमा परीक्षण गर्दा आधाभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भइरहेको तथ्यांक आउन थालेको छ । यो निकै डरलाग्दो हो,’ उनले भने, ‘संक्रमितहरू समुदायमा घुलमिल भइसकेका कारण धेरैमा संक्रमण फैलिसकेको हुन सक्छ ।’ भेरी अस्पतालमा अक्सिजनसहित १ सय ४२ कोभिड वार्ड, १५ आइसोलेसन र २५ वटा एभडीयू वार्ड बनाइएको छ । यहाँका कोभिड वार्ड पनि भरिन थालेका छन् । उपचारका लागि भर्ना भएका संक्रमितमध्ये २४ जनाको अवस्था गम्भीर छ । पछिल्लो समय संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्तिको खोजी नगर्ने र पीसीआर परीक्षण नहुँदा समुदायमा महामारीका रूपमा संक्रमण फैलिन थालेको हो । 

लकडाउन हटेपछि नै भीडभाडमा मास्कबिना हिँड्ने र सामाजिक दूरी कायम गर्न छोडिएको छ । संक्रमण बढ्दै गए पनि सावधानी छैन । जिल्ला स्वास्थ्य कार्यालय प्रमुख धीरजंग शाहका अनुसार कोरोना संक्रमणको दर यसैगरी फैलिए नियन्त्रण काबुभन्दा बाहिर जाने जनाए । ‘परीक्षणको दायरा विस्तार गर्ने हो भने यो संख्या अझै बढ्न सक्छ,’ उनले भने । मंगलबारसम्म बाँकेमा १ सय ४७ जनामा संक्रमण पुष्टि भएको छ ।

कोरोना भाइरस

ठाकुरसिंह

Link copied successfully