कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

नाकामा निगरानी फितलो

चिकित्सकले भारतबाट आएकालाई कम्तीमा १० दिन क्वारेन्टाइनमा राख्नुपर्ने बताउँदै आए पनि तापक्रम मात्र जाँचेर अभिलेख नै नराखी प्रवेश गर्न दिइएको छ

वीरगन्ज/भैरहवा — छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या विश्वमै दोस्रो स्थानमा पुग्दा नेपालका सीमावर्ती क्षेत्र उच्च जोखिममा पुगेका छन् । नाकामा स्वास्थ्य जाँच र क्वारेन्टाइन व्यवस्थापन प्रभावकारी नहुँदा भारतबाट फर्किएका नेपाली सिधै घर पुग्दा संक्रमणले भयावह रूप लिने जोखिम बढेको छ ।

नाकामा निगरानी फितलो

होली मनाउन गत चैत १४ मा भारतको हैदराबादबाट बाराको जितपुर सिमरा उपमहानगरपालिका–९ छातापिपरा घर फर्किएका ३७ वर्षीय युवकको मंगलबार बिहान नारायणी अस्पतालमा मृत्यु भयो । ज्वरो र रुघाखोकी आएपछि चैत २६ मा उनी वीरगन्जको एडभान्स मेडिकेयर भर्ना भएका थिए । संक्रमण पुष्टि भएपछि चैत ३० को मध्यरात उनलाई नारायणी अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालका कोभिड कोअर्डिनेटर डा. सरोज रोशन दासले बताए ।

नारायणी अस्पतालका वरिष्ठ फिजिसियन डा. नीरजकुमार सिंहका अनुसार संक्रमितमा निमोनियाबाहेक कडा खालको झाडापखालासमेत देखिएको छ । ‘होलीमा घर फर्किएका नेपालीसँगै कोरोनाको नयाँ भेरिएन्ट प्रवेश भइसकेको छ,’ उनले भने, ‘अधिकांश अस्पताल शंकास्पद संक्रमितले भरिएका छन्, जोखिम बढ्दो छ ।’ उनका अनुसार पछिल्लो एक साताको ट्रेन्ड हेर्ने हो भने नयाँ स्ट्रेनको सामुदायिक संक्रमण सुरु भइसकेको छ । ‘भयावह अवस्था रोक्न राजनीतिक कार्यक्रम, पार्टी प्रवेश, कार्यकर्ता प्रशिक्षणजस्ता कार्यक्रममा अविलम्ब प्रतिबन्ध लगाउनुपर्छ,’ उनले भने ।

राखिन्न अभिलेख

मंगलबार मध्याह्न वीरगन्जको मुख्य नाका इनर्वामा वीरगन्ज महानगरपालिकाका स्वास्थ्यकर्मी र सशस्त्र प्रहरी भारतबाट नेपाल भित्रिरहेका यात्रुको थर्मल गनले तापक्रम जाँचिरहेका थिए । सयभन्दा कम तापक्रम भएकालाई प्रवेश दिइयो, त्योभन्दा माथि तापक्रम भएकालाई त्यहीँ रोकेर केही समयपछि पुनः जाँच गरियो । तर, उनीहरूसँग ट्राभल हिस्ट्री (यात्रा विवरण) लिइएन ।

चिकित्सक तथा स्वास्थ्य विज्ञ भारतबाट आएकालाई कम्तीमा १० दिन क्वारेन्टाइनमा राख्नुपर्ने बताउँदै आएका छन् । तर, यो नाकामा भने तापक्रम मात्र जाँचेर अभिलेख नै नराखी प्रवेश गर्न दिइएको छ । ‘कतिपय संक्रमितमा लक्षण देखिँदैन तर संक्रमण भने फैलाइरहेका हुन्छन्,’ डा. नीरजकुमार सिंहले भने, ‘त्यसैले भारतबाट आएकालाई कम्तीमा १० दिन क्वारेन्टाइनमा राख्नैपर्ने हुन्छ ।’ नेपाल चिकित्सक संघ नारायणी शाखाका सचिव डा. उदयनारायण सिंह झन्डै न्यून केस रहेको पर्सामा एक सातायता औसत ४० प्रतिशत पोजिटिभ केस देखिनु आफैंमा ठूलो चेतावनी भएको बताउँछन् । ‘जाँच गराउँदा अधिकांशमा कडा लक्षण देखिन्छ,’ उनले भने, ‘जुन समग्र केसको एक चौथाइ छ, तीन चौथाइ पोजिटिभ केस त निर्धक्कसाथ समाजमा घुमिरहेका छन् ।’

यसैबीच, जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्लाभित्र स्वास्थ्य सुरक्षाका मापदण्डको पालना भए/नभएको सम्बन्धी अनुगमन गर्न सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलको संयोजकत्वमा ७ सदस्यीय अनुगमन समिति गठन गरेको छ । सरकारी अस्पताल तथा स्वास्थ्य संस्था कोभिड उपचारका लागि पर्याप्त नभएमा नेसनल मेडिकल कलेजले व्यवस्थापन गरेको कोभिड–१९ अस्थायी बाबा अस्पताललाई पुनः सञ्चालन गराउने व्यवस्थाका लागि स्वास्थ्य मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको प्रजिअ पीताम्बर घिमिरेले बताए । इनर्वा नाकामा स्थापित हेल्थ डेस्कमार्फत स्वास्थ्य जाँच एवं अभिलेख व्यवस्थापन प्रभावकारी बनाउने निर्णय भएको छ । सोबाहेक अन्य नाकाबाट हुने आवागमन पूर्ण रूपमा नियन्त्रण गरिनेछ । स्वदेश फर्किनेलाई अनिवार्य १० दिन आइसोलेसन सेन्टर/क्वारेन्टाइनमा बस्ने व्यवस्था स्थानीय तहले मिलाउनुपर्ने निर्णय भएको छ । घरबाहिर र सार्वजनिक स्थानमा मास्कको अनिवार्य प्रयोग गर्न लगाउने तथा अटेर गर्नेलाई संक्रामक रोग ऐनबमोजिम तत्काल कारबाही गर्ने संकट व्यवस्थापन केन्द्रले निर्णय गरेको छ ।

बेपर्वाह सीमापार

भैरहवा–सुनौली नाका पार गर्न आधा घण्टाभन्दा बढी समय चर्को घाममा पालो कुरिन् । स्वास्थ्य जाँचपछि नागरिकता देखाइन् । तर एसएसबीका सुरक्षाकर्मीले उनलाई रोके । सीमापारि किनमेलका लागि जान दिन बिन्ती गरिन् तर जान पाइनन् । सिद्धार्थनगर–७ की भगवती दाहालले आइतबार सुनौली बजार जान नदिएको भन्दै दुखेसो पोखिन् । उनी पारि जान ‘चोरबाटो’ खोजिरहेकी थिइन् ।

पछिल्लो समय बिनाकारण सीमाबाट फर्काइने गरेको भन्दै धेरै नेपालीले गुनासो गर्न थालेका छन् । पारि जान नपाउँदा नाकामा बेला–बेलामा उनीहरूको भारतीय सुरक्षाकर्मीसँग विवादसमेत हुने गरेको छ । सुनौलीमा किनमेल गरेर नेपालतर्फ फर्किंदा पनि एसएसबीले रोकेर झोला खानतलासी गर्ने र धेरै सामान वा बिनाबिल सामान ल्याएमा फिर्ता पठाइदिने गरेको गुनासो नेपाली उपभोक्ताको छ । यसरी सीमामा सास्ती झेल्नुपरे पनि सीमापारि जाने नेपालीको संख्यामा कमी आएको छैन । एसएसबीले मुख्य नाकामा कडाइ गरे पनि चोरी बाटोबाट हूलका हूल नेपाली उपभोक्ता सुनौली जानेआउने गरिरहेका छन् । भन्सार छलेर सामान ओसार्ने पेसेवर समूह पनि उत्तिकै सक्रिय छन् । घरायसी सामान किनमेल भन्दै भारत ओहोरदोहोर गर्ने नेपालीको ठूलो उपस्थितिकै कारण सीमामा स्थापना गरिएको हेल्थ डेस्कमा स्वास्थ्य मापदण्ड प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउन नसकिएको अहेव लालमोहन चौधरीले बताए । उनका अनुसार यसरी जाने अधिकांशले मास्कसमेत लगाएका हुँदैनन् ।

गत माघ दोस्रो सातादेखि सीमानाका खुला गर्ने सरकारको निर्णयसँगै नेपाली उपभोक्ता किनमेल गर्न भारततर्फ जाने क्रम बढेको हो । ‘सस्तो मूल्यमा पाइन्छ भन्दै भारतका सीमावर्ती बजारमा पुग्नु नेपाली उपभोक्ताको आवश्यकताभन्दा प्रवृत्ति हो,’ भैरहवा भन्सार कार्यालयका प्रमुख मणिराम पौडेलले भने, ‘कतिपय सामान भारतमा भन्दा नेपालमै सस्तो र गुणस्तरीय पाइन्छ । तर अधिकांश नेपाली उपभोक्तामा यसबारेमा सचेतना देखिँदैन ।’ बेलहिया इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक ईश्वरी अधिकारीले केही सातायता किनमेलकै लागि पारि जान थामिनसक्नुको भीड लाग्ने गरेको बताए । ‘शनिबार त नेपाली ग्राहकको भीड अत्यधिक हुन्छ,’ उनले भने, ‘नेपालमै बनेको सामान पनि पारि गएर किन्ने चलन छ ।’ प्रमुख जिल्ला अधिकारी असमान तामाङले व्यवस्थित गर्नेबारे सम्बद्ध निकाय र सरोकारवालासँग छलफल भइरहेको बताए ।

प्रकाशित : वैशाख १, २०७८ ०७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?