पर्सा — भारतको कोलकातास्थित मेदनापुरका ३७ वर्षीय शेष असरुलसहित चार जनाको टोली मंगलबार बिहान साढे ९ बजे रक्सौल नाका हुँदै नेपाल प्रवेश गर्यो । रोजगारीका लागि वीरगन्ज हुँदै सोझै काठमाडौं जान लागेको बताउने उनीहरू सुरुमा सीमा नाकास्थित हेल्थ डेस्कमा स्वाब परीक्षणका लागि लाम लागेका थिए ।
तर, समय धेरै लागेको र प्रक्रिया झन्झटिलो रहेको भन्दै टोली घेराबेरा तोड्दै बाहिरियो । त्यहाँ सुरक्षाकर्मीसमेत नभएपछि उनीहरूलाई भाग्न सहज भयो । असरुलले प्रक्रिया पुर्याउन समय निकै लागेकाले दिक्क भएर स्वाब परीक्षण नगराई बाहिरिन खोजेको बताए । ‘हामीलाई काठमाडौं पुग्नु छ । यहाँ धेरै समय लाग्ने भयो,’ उनले भने, ‘त्यसकारण हामी लाइन छाडेर बाहिरिएका हौं ।’ पछि परीक्षण अनिवार्य रहेको थाहा पाएपछि मात्रै उनीहरू पुनः लाइनमा बसेका थिए ।
सीमित जनशक्तिले सञ्चालन गरेको हेल्थ डेस्क र उनीहरूलाई सहजीकरण गरिदिन खटिने प्रहरी जनशक्तिको कमीले मुख्य नाका हुँदै दिनहुँ भारतबाट ठूलो संख्यामा भित्रिनेको स्वास्थ्य परीक्षणको अवस्था भद्रगोल छ ।
भारतबाट भित्रिनेहरू धेरैजसो स्वास्थ्य परीक्षण गराउनै चाहँदैनन् । प्रहरीले बोलाउँदा पनि उनीहरू अटेर गरेर भाग्न खोज्छन् । टेम्पो र टाँगा चालकले हेल्थ डेस्कनजिकै डेरा जमाएकाले उनीहरूले भारतबाट भित्रिने यात्रुहरूलाई सहजै नेपाल प्रवेश गराइरहेका छन् । प्रहरीले पनि सीमावर्ती भारतीय सहर रक्सौल र आसपासका बासिन्दालाई बिनास्वास्थ्य परीक्षण नेपाल प्रवेश गर्न दिएका छन् । अन्य भारतीय सहरबाट आउनेलाई मात्र स्वास्थ्य परीक्षण गर्न लगाइएको छ । चैत २३ देखि सीमास्थित हेल्थ डेस्कमा एन्टिजेन परीक्षण गरिएको र यस क्रममा ५ जना संक्रमित पनि फेला परेको हेल्थ डेस्कका स्वास्थ्यकर्मी महम्मद सैनुल्लाह हवारीले बताए ।
सीमा प्रहरी चौकी इनर्वाका इन्चार्ज प्रहरी नायब निरीक्षक पूर्णप्रसाद दाहालले जनशक्ति र पूर्वाधार अभावले हेल्थ डेस्कको व्यवस्थापन गर्न समस्या भइरहेको बताए । ‘हाम्रो टिममा १७ जना छौं । केहीलाई हेल्थ डेस्कमा खटाएको छु,’ उनले भने, ‘यहाँ स्वास्थ्य परीक्षण गराउन लामबद्ध हुनेलाई न बस्ने ठाउँ छ, न टेन्ट छ । दैनिक ५० हजार हाराहारी मानिस यो नाकाबाट आवागमन गर्छन्, कतिलाई रोक्ने, अनि कतिको स्वास्थ्य परीक्षण गर्ने ?’
चार दिनयता हेल्थ डेस्कमा स्वास्थ्यकर्मीको जनशक्ति थप गर्न माग गर्दा कतैबाट सुनुवाइ नभएको उनले बताए । ‘स्वास्थ्यकर्मीले गर्ने काम मैले कसरी गर्ने, कोरोना पोजिटिभ देखिए भने तिनको व्यवस्थापन खर्चदेखि एम्बुलेन्स खर्च पनि आफैंले दिनुपर्ने अवस्था छ,’ उनले भने, ‘यो मेरो अधिकार क्षेत्रभन्दा बाहिरको व्यवस्थापन हो । मसँग त्यसका लागि बजेट पनि छैन ।’ नाकामा टेम्पो र टाँगा चालकले उत्तिकै हैरान बनाएको उनले दुःखेसो पोखे ।
दुई संक्रमितको मृत्यु
वीरगन्जमा मंगलबार कोरोना संक्रमित दुई जनाको मृत्यु भएको छ । दुवैको नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासका अनुसार वीरगन्ज महानगरपालिका–३ का ६२ वर्षीय पुरुषको सोमबार राति र बारा जितपुर–सिमरा उपमहानगरपालिका–९ छातापिपराका ३७ वर्षीय पुरुषको मंगलबार बिहान मृत्यु भएको हो । पर्सामा संक्रमितको संख्या दुई दिनमै ह्वात्तै बढेको छ । सोमबार नारायणी अस्पतालमा ९५ जनाको स्वाब परीक्षण गरिएकोमा ४० जनामा कोरोना पुष्टि भयो । तीमध्ये ३७ जना पर्सा र ३ जना बाराका छन् ।
