२०७७ फर्केर हेर्दा : तंग्रिँदै पर्यटन

यात्रु अभाव र कोभिड संक्रमण पुनः बल्झिएपछि विभिन्न मुलुक तथा सहरले कडाइ गर्दा अन्तर्राष्ट्रिय उडान प्रभावित भइरहेको छ । लकडाउनका कारण पूर्ण रुपमा बन्द तारे होटलहरु अझै पूरै खुलिसकेका छैनन् । तर, हिमाल आरोहण र पदयात्रामा आउने पर्यटकको संख्या भने बढेको छ ।
सुरज कुँवर

काठमाडौँ — लकडाउनअघि मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक सय हाराहारीमा अन्तर्राष्ट्रिय उडान हुन्थे । तर २०७६ चैतयता १३ महिना बितिसक्दा पनि अझै अन्तर्राष्ट्रिय उडान पूर्ण रूपमा सञ्चालनमा आइसकेको छैन ।

२०७७ फर्केर हेर्दा : तंग्रिँदै पर्यटन

‘हिजोआज दैनिक ३० देखि ४० वटा मात्रै अन्तर्राष्ट्रिय उडान भइरहेका छन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले भने, ‘अझै भुटान, थाइल्यान्ड, कोरियाबाट नियमित उडान सुचारु नै भएको छैन । धेरै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरू नियमित होइन, चार्टर उडान गर्न बाध्य छन् ।’ उनका अनुसार, आन्तरिक उडान करिब–करिब पुरानै लयमा फर्किसकेको छ । काठमाडौंबाट दैनिक १ सय २० हाराहारीमा उडान भइरहेका छन् । तर, यात्रु अभाव र कोभिड संक्रमण पुनः बल्झिएपछि विभिन्न मुलुक तथा सहरले कडाइ गर्दा अन्तर्राष्ट्रिय उडान प्रभावित भइरहेको छ ।

अन्तर्राष्ट्रिय उडानमा नेपालका चारवटा वायुसेवासहित ३० वटा विमान कम्पनी छन् । हाल २० वटा वायुसेवाले मात्रै नागरिक उड्डयन प्राधिकरणबाट नियमित उडानको तालिका स्वीकृत गराएका छन् । स्वीकृत उडान पनि यात्रु अभावकै कारण गर्न सकिरहेका छैनन् । प्राधिकरणका अनुसार, हवाई यातायात क्षेत्रमा सन् २०१९ को दाँजोमा कोभिड संक्रमणका बेला ७२ प्रतिशतले कमी भयो । अर्थात् अघिल्लो वर्ष अन्तर्राष्ट्रिय उडानतर्फ ४१ लाख यात्रु आवागमन भएको थियो तर सन् २०२० मा यो अंक साढे १० लाख हाराहारीमा खुम्चियो । आन्तरिक उडानमा पनि कम्तीमा ६४ प्रतिशतले गिरावट आयो । २०१९ मा आन्तरिक उडानमार्फत झन्डै ३२ लाख यात्रुको आवागमन भएको थियो तर २०२० मा साढे १० लाख हाराहारी मात्रै पुगेको प्राधिकरणले जनाएको छ ।

कोभिडका कारण आन्तरिक उडानका वायुसेवा कम्पनीहरूले करिब १० अर्ब ६२ करोड, नेपाल वायुसेवा निगमले करिब ५ अर्ब, विदेशी लगानीमा सञ्चालित हिमालय एयरलायन्सले करिब २ अर्ब बराबरको आम्दानी गुमाएको तथ्यांक प्राधिकरणलाई बुझाएका छन् । त्यस्तै यात्रु र वायुसेवाबाट शुल्क उठाउने प्राधिकरणले कोरोनाकालमा ५ अर्ब ६९ करोड आम्दानी गुमाएको छ । यसमा अझै सुधार आइसकेको छैन ।

‘होटल संघ नेपाल’ (हान) का अनुसार कोराना महामारीका कारण होटल तथा रिसोर्टहरूले प्रतिमहिना १ अर्ब ८० करोड घाटा बेहोर्नुपरेको छ । लकडाउनका कारण पूर्ण रूपमा बन्द तारे होटलहरू अझै पूर्ण रूपमा सञ्चालनमा नआइसकेको हान अध्यक्ष सिर्जना राणाले बताइन् । लकडाउनले पर्यटक आगमन रोकिँदा तारे स्तरका होटल तथा रिसोर्टहरूले आम्दानी गुमाउनुगरेको हो । हानमा देशभरका ३५ सय तारे होटल तथा रिसोर्ट र पर्यटकीय होटल सदस्य छन् । पर्यटन विभागमा १४ वटा पाँचतारे, १५ वटा चारतारे, ३३ वटा तीनतारे, ४३ वटा दुईतारे र ३४ वटा एकतारे होटल दर्ता छन् ।

नेपाल पर्यटन बोर्डका अनुसार कोभिडका कारण सन् २०२० मा नेपाल आउने पर्यटकको संख्या २ लाख ३० हजार ८५ मात्रै रह्यो । २० लाख पर्यटक ल्याएर नेपाली अर्थतन्त्रलाई कायापलट गर्ने लक्ष्य राखिएको उक्त वर्षमा ३४ वर्षयताकै थोरै पर्यटक आएका हुन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तथ्यांकअनुसार सन् १८८६ (विसं २०४३ ) मा नेपालमा २ लाख २३ हजार ३ सय ३१ जना पर्यटक भित्रिएका थिए । त्यसयता पर्यटक आगमन संख्या बढ्दै गत वर्ष २०१९ मा हवाई तथा भूमार्गबाट ११ लाख ९७ हजार पर्यटक नेपाल आएका थिए । यो अंक नै हालसम्मकै सबैभन्दा उच्च हो । बोर्डका अनुसार, लकडाउनपछिका ९ महिनामा ९ हजार ४ सय १७ जना विदेशी नेपाल आए । कोरोनाकालमा नेपालको पर्यटन क्षेत्रले मासिक ७ अर्ब नोक्सानी बेहोरेको बोर्डले जनाएको छ । बोर्डले करिब डेढ खर्ब लगानी भएका ८ हजार २ सय ८५ वटा (वायुसेवा, होटल, रेस्टुरेन्ट, रिसोर्ट, टुर, ट्राभल, साहसिक खेल पर्यटनलगायत) क्षेत्र अझै पनि जोखिममा रहेको जनाएको छ ।

हिमाल आरोहण गत वर्ष शून्य नै भए पनि लकडाउनका बेला बहराइन अधिराज्यको राजपरिवारका एक सदस्यसहित १८ जनाको टोलीले उत्तरी गोरखाको मनास्लु हिमाल र खुम्बु क्षेत्रको लोबुचे हिमाल आरोहण गर्‍यो । उक्त टोली यतिबेला सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न खुम्बु क्षेत्र पुगिसकेको छ । उनीहरूबाहेक पर्यटन विभागले लोत्से, अन्नपूर्ण, धौलागिरि, नुप्से, मकालु, तिलिचोलगायतका ६ हजार मिटर अग्ला हिमालमा यस पटकको वसन्तकालीन हिमाल आरोहणका लागि ४ सय १९ जनालाई अनुमति जारी गरिसकेको छ । यो वर्ष सगरमाथा आरोहणमा कोभिडअघिकै संख्यामा आरोही आउने विभागले अनुमान गरेको छ । त्यसैगरी पदयात्राका लागि आउने विदेशीहरू यतिबेला खुम्बु र अन्नपूर्ण क्षेत्रमा देखिन थालेका छन् ।

प्रकाशित : चैत्र ३१, २०७७ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?