ओलीलाई समर्थन गर्न कांग्रेसको नैतिकताले दिँदैन : रामचन्द्र पौडेल- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ओलीलाई समर्थन गर्न कांग्रेसको नैतिकताले दिँदैन : रामचन्द्र पौडेल

रमेशकुमार पौडेल

चितवन — कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्न कांग्रेसको नैतिकताले नदिने बताएका छन् ।

बिहीबार बिहान नारायणगढ क्षेत्रपुरमा नेपाल प्रेस युनियन चितवन शाखालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले भने,‘केपी ओलीले देशलाई, व्यवस्थालाई र संविधानलाई जोखिममा पार्नुभयो । त्यसैले ओलीलाई सपोर्ट गर्न कांग्रेसको नैतिकताले दिँदैन ।’

नेता पौडेलले दाहाल–नेपाल पक्षलाई सरकारको नेतृत्व गर्न दिने विषयमा सकारात्मक हुन सकिने बताए । ‘यसमा बरु पोजेटिभ हुन र छलफल गर्न सकिन्छ,’ पौडेलको भनाइ थियो । नेता पौडेलले कांग्रेस सरकारमा किन जाने, के गर्न जाने र के हैसियतमा जाने भन्ने बारेमा पार्टीभित्र छलफल भएर निर्णयमा पुग्नुपर्ने बताए । उनले यो बेला कांग्रेस अरुको खेलौना बन्नबाट जोगिनु पर्ने धारणा राखे ।

‘अहिले नाजुक र संकटपूर्ण स्थिति छ । यसबाट पार लगाउन कांग्रेसबाहेक अरुले भूमिका खेल्ने हैसियत छैन । कांग्रेसले अरुलाई सहयोग गरेर पनि पार लगाउन सक्छ । कांग्रेसले आफू मात्र हुनु पर्दछ भनेर सोच्यो भने पनि कांग्रेस फेरि भूमिकाविहीन हुन सक्दछ,’ नेता पौडेलले भने । उनले कांग्रेस आफ्नो हैसियतमा रहेर अरुलाई सरकार चलाउन सहयोग पुर्‍याए कांग्रेसको भूमिका अझै महत्वपूर्ण हुने बताए ।

‘सबै विषयमा पार्टीमा राम्रो छलफल गरौं । फेरि पनि भूमिकाविहीन हुने र अरुको खेलौना बन्न सक्दछ । यस्तो नहोस्,’ पौडेलले भने । संवैधानिक आयोगमा सरकारले असंवैधानिक ढंगले नियुक्ति दिएको हुँदा त्यो खारेज हुनु पर्ने उनले बताए ।

प्रकाशित : फाल्गुन २०, २०७७ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्

दोभान बजार आगलागी : नगदै १ करोड ६० लाख जल्यो

कुल ४० करोडको क्षति, ५० घरका ६३ परिवार विस्थापित
आनन्द गौतम

ताप्लेजुङ — मेरिङ्देन गाउँपालिका–३ खाम्लुङको दोभान बजारमा मंगलवार बिहान भएको आगलागीमा ४० करोड ५ लाख ७४ हजार रुपैयाँबराबरको क्षति भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बेको संयोजकत्वमा गठित समितिले बिहीबार बिहान क्षतिको विवरण सार्वजनिक गरेको हो ।

ताप्लेजुङको मेरिङदेन गाउँपालिकास्थित दोभान बजार मंगलबार जलेर खरानी भएपछि । तस्बिर : आनन्द गौतम/कान्तिपुर


५० वटा घर पूर्ण रूपमा जलेको र तिनका धरधनी तथा डेरावालसहित ६३ परिवार विस्थापित भएको विवरणमा उल्लेख छ । आगलागीबाट १ करोड ६० लाख रुपैयाँ नगदै जलेको पाइएको आङदेम्बेले बताए ।

यसअघि गाउँपालिकाले निकालेको प्रारम्भिक तथ्यांकमा ४९ घर जल्दा ५५ परिवार विस्थापित भएको उल्लेख थियो । एक घर र ८ परिवार थप भएको आङदेम्बेले जानकारी दिए । उनका अनुसार विस्थापित हुनेमा १ सय ५६ जना पुरुष र १ सय ६८ जना महिला गरी ३ सय २४ जना छन् । सरकारी कार्यालयहरूको क्षति मात्रै १ करोड २२ लाख ५० हजार रुपैयाँबराबर रहेको विवरणमा उल्लेख छ । गाउँपालिका, नेपाल टेलिकम, विद्युत् प्राधिकरण, ग्लोबल आईएमई बैंक र दोभान मनी ट्रान्स्फरमा पनि क्षति पुगेको आङदेम्बेले बताए ।

राहत वितरण एकद्वार नीतिबाट

गाउँपालिकाले पीडितलाई राहत वितरणमा एकद्वार नीति लिएको छ । गाउँपालिकाका प्रवक्ता सूर्यप्रकाश बराइलीका अनुसार सहयोगी संस्थाले ल्याएको राहत गाउँपालिकामार्फत वितरण गर्ने नीति बनाइएको हो । यसका लागि आगलागी भएको क्षेत्रमा गाउँपालिकाले हेल्प डेस्क स्थापना गरेको छ । बुधबार र बिहीबार बिहान आएको राहत सामग्री बुझ्ने काम भएको बराइलीले जानकारी दिए । बुधवार गौरादहका फर्निचर व्यवसायी र बिहीबार इसाई समाजले टेन्ट, पाल, कम्बल, चिनी, चिउरालगायत सामग्री उपलब्ध गराएका छन् ।


प्रकाशित : फाल्गुन २०, २०७७ १०:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×