अविश्वासको प्रस्तावबारे संसद् सचिवालयले निर्णय लिन्छ : माधवकुमार नेपाल- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अविश्वासको प्रस्तावबारे संसद् सचिवालयले निर्णय लिन्छ : माधवकुमार नेपाल

देवनारायण साह

मोरङ — नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दर्ता भइसकेको अविश्वासको प्रस्तावको विषयमा संसद् सचिवालयले यथोचित निर्णय लिने बताएका छन् ।

प्रेस संगठन मोरङले मंगलबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्रतिगमनका विरुद्ध संघर्षका मैदानमा उत्रिएका सबै दलसँग मिलेर सरकार बनाउने बताएका हुन् । दाहाल–नेपाल समूहले प्रधानमन्त्री ओलीविरुद्ध संसद् सचिवालयमा पुस ५ गते अविश्वासको प्रस्ताव दर्ता गराएको छ ।

‘हामीलाई प्रधानमन्त्री चाहिएन,’ उनले भने, ‘जनता समाजवादी पार्टीले के निर्णय गर्छ र कांग्रेससँग छलफल गरेर जसलाई प्रधानमन्त्री बनाउन चाहे त्यो गर्न तयार छौं किनकी हामीलाई प्रतिगमन बाहकसँग मुक्ति चाहिएको छ ।’ संसारभरिको चलनका आधारमा पनि असंवैधानिक कदम चालिसकेको र सर्वोच्च अदालतले फैसला गरिसकेको अवस्थामा तत्काल प्रधानमन्त्रीले राजीनामा दिनु पर्ने नेपालको भनाइ थियो ।

पार्टीको आधिकारिकताको विषयमा निर्वाचन आयोगलाई बहुमतको कदर गर्न नेपालले आग्रह गरे । ‘लोकतान्त्रिक व्यवस्थामा जहिले पनि बहुमतको कदर हुन्छ र सामान्य ज्ञानको कुरा हो,’ उनले भने, ‘जनताको बीचमा पनि मतदानमा, संसद्‌मा र पार्टीभित्र पनि बहुमतको कदर हुन्छ । व्यक्ति संगठनको मातहतमा, अल्पमत बहुमतको मातहतमा हुन्छ र बहुमतको कदर हुने उल्लेख भएको पार्टीको विधान निर्वाचन आयोगमा रोखेको छ ।’

त्यसैले ४ सय ४१ जनाको बहुमतको आधारमा निर्वाचन आयोगलाई निर्णय गर्न आग्रह गरिरहेको उनले सुनाए । ज्यान खतरामा छ भन्ने सुन्यौं त्यसैले प्रधानमन्त्रीको सुरक्षाका लागि नेकपाले पहल गर्ने भन्दै उनले भने, ‘देशको प्रधानमन्त्री नै असुरक्षित भयो भने खतराको कुरा भएन ?’ एमसीसी पास हुन्छ कि भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भने, ‘एमसीसी पास गर्ने/नगर्ने छलफल गरौंला नि।’ एमसीसीका बारेमा नकारात्मक नभएकाले छलफल गरेर सबैको हितमा निर्णय लिने नेपालले प्रष्ट पारे ।

प्रकाशित : फाल्गुन १८, २०७७ १४:२१
प्रतिक्रिया
पठाउनुहोस्

ट्रम्पले राजनीतिक पार्टी नखोल्ने

एजेन्सी

फ्लोरिडा — अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ राजनीतिक पार्टी गठन नगर्ने बताएका छन् । कन्जरभेटिभ सम्मेलनका क्रममा ट्रम्पले आफूले खोल्ने दलका कारण रिपब्लिकनको मत विभाजित हुने भन्दै दल नखोल्ने प्रस्ट पारेका हुन् ।

अमेरिकी राष्ट्रपतिमा पराजित भएपछि पहिलोपटक बोल्दै उनले सन् २०२४ को राष्ट्रपतीय चुनावमा पुन: प्रतिस्पर्धा गर्न सक्ने बताएका छन् । त्यस क्रममा उनले आफ्ना उत्तराधिकारी जो बाइडेनको कडा शब्दमा आलोचना गरेका बीबीसीले उल्लेख गरेको छ । ‘हामीसँग रिपब्लिकन दल छ । यो अझै एकीकृत हुँदै छ र झन् बढी बलियो बन्दै छ,’ ट्रम्पले भनेका छन् ।

जो बाइडेनको नीति ‘अमेरिका पहिलो नीतिबाट अमेरिका अन्तिम’ तर्फ गएको उनको दाबी छ । अमेरिकाको फ्लोरिडामा जारी ‘कन्जरभेटिभ पोलिटिकल एक्सन कन्फरेन्स (सीपीएसी) पुरातनवादी कार्यकर्ता तथा राजनीतिज्ञहरूको ठूलो कार्यक्रम हो । उक्त सम्मेलनले सामान्यत: अमेरिकाको प्रमुख दल रिपब्लिकनलाई नीति निर्माणमा निर्देशित गर्ने ठानिन्छ ।

प्रकाशित : फाल्गुन १८, २०७७ १४:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×