कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सहिदको बलिदानीलाई कुल्चने दुस्साहस नगर्न दाहालको चेतावनी

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा अध्यक्ष पुष्पकमल दाहालले मुलुकमा राजनीतिक स्थायित्व कायम गरी विकासतर्फ लैजाने ऐतिहासिक पहलकदमीमाथि प्रतिक्रान्तिकारी कित्ताबाट प्रहार भएको बताएका छन् । 

सहिदको बलिदानीलाई कुल्चने दुस्साहस नगर्न दाहालको चेतावनी

जनयुद्ध दिवसको अवसरमा पेरिसडाँडामा आयोजित सहिद स्मृति तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहिदहरुको बलिदानीबाट प्राप्त उपलब्धिलाई दक्षिणपन्थी र प्रतिक्रान्तिकारी कित्ताबाट प्रहार गर्ने काम भएको बताएका हुन् । उनले संविधान र संघीय लोकतन्त्रलाई धरापमा पार्ने प्रयास गरिए चिहानबाट सहिदका कंकाल उठेर सरकारविरुद्ध लाग्ने चेतावनी दिए । उनले सहिदको बलिदानीलाई कुल्चने दुस्साहस नगर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिए ।

दाहालले कार्यक्रममा भने, ‘युद्धलाई शान्तिमा रुपान्तरण गरेका छौँ । शान्तिलाई हामीले संविधानसभामा रुपान्तरण गर्यौँ । संविधानसभालाई संघीय लोकतान्त्रिक गणतन्त्रमा रुपान्तरण गर्‍यौँ । संघीय लोकतान्त्रिक गणतन्त्रभित्र कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने र देशमा राजनीतिक स्थायित्व र विकासतर्फ लैजाने जमर्को गर्यौँ तर अहिले त्यही त्यही ऐतिहासिक पहलकदमीमाथि प्रहार भएको छ दक्षिणपन्थी कित्ताबाट । प्रतिक्रान्तिकारी कित्ताबाट ।’

त्यस्तै दाहालले सहिदहरुको बलिदानी खेर नजाने उल्लेख गर्दै भने, ‘केपी ओलीहरुले ती हजारौँ सहिदहरु मरे भन्ने सोचेका छन् भने त्यो भ्रम हुनेछ । केपी ओलीहरुले ती हजारौँ सहिदहरुले बगाएको रगतबाट बनेको संविधान र संघीय लोकतन्त्रलाई किच्न सक्छु भन्ने ठानेका छन् भने उनीहरु साह्रै ठूलो भ्रममा छन् । उनी छिट्टै भ्रममुक्त हुँदा राम्रो हुन्छ भन्ने सुझाव दिन्छु । होइन भने कंकालहरु चिहानबाट बाहिर निस्कन्छन् र यो परिवर्तनलाई रोक्न खोज्नेका विरुद्ध धावा बोल्नेछन् ।’

सकारात्मक सामाजिक रुपान्तरणका निम्ति बलिदानी गरेका सहिदहरुलाई केही समय राज्यले दबाउने र सम्मान पनि नदिन सक्ने मार्क्सले भन्ने गरेको स्मरण गर्दै उनले अन्तत नयाँ पिँढीहरु सहिदको सम्मानका लागि सरकारलाई खबरदारी गरी सम्मान दिलाई छाड्ने बताए ।

जनयुद्ध र सबै जनआन्दोलनका सहिदहरुलाई राष्ट्रिय सहिद घोषणा गर्ने निर्णयलाई कार्यान्वयनका लागि निरन्तर प्रयास गरिरहने प्रतिबद्धता उनले जनाए । आफू पहिलो पटक संघीय लोकतान्त्रिक गणतन्त्रको निर्वाचित प्रधानमन्त्री भएको बेला पहिलो मन्त्रिपरिषद् बैठकबाट जनयुद्ध र जनआन्दोलनका सबै सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्ने निर्णय गरे पनि केही प्राविधिक कमजोरी भएकाले अहिलेसम्म सो निर्णयले औपचारिकता पाउन नसकेको उनले स्वीकार गरे ।

कार्यक्रममा सबै सहिद र सहिदका परिवारको सम्मानको प्रतीकका रुपमा सहिदकी आमालाई सम्मान गरिएको थियो । जनयुद्ध दिवसको अवसरमा दाहाल–नेपाल समूहले मुलुकभर नै सहिद र उनका परिवारको सम्मानमा कार्यक्रम गर्न आन्तरिक सर्कुलर जारी गरेको थियो ।

प्रकाशित : फाल्गुन १, २०७७ १३:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?