बुटवलमा आज ओली समूहको आमसभा

२ लाख मानिस उतार्ने दाबी, सभालाई प्रधानमन्त्रीले सम्बोधन गर्ने

फाल्गुन १, २०७७

अमृता अनमोल

बुटवल — प्रधानमन्त्री केपी शर्मा ओली शनिबार बुटवल आउँदै छन् । प्रतिनिधिसभा विघटन गरेर चुनाव घोषणा गरेका प्रधानमन्त्री ओलीले बुटवलमा शनिबार आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले शनिबार हुने आमसभा देशकै ठूलो र ऐतिहासिक हुने जानकारी दिए । यसअघि प्रधानमन्त्री ओलीले नारायणहिटी अगाडि आयोजित सभालाई अहिलेसम्मकै ठूलो आमसभा भनेर दाबी गरेका थिए । 

आमसभामा प्रदेशका २ लाख नागरिक उतार्ने मुख्यमन्त्री पोखरेलको दाबी छ । बुटवलको सिद्धेश्वरी मैदानमा हुने आमसभाको सबै तयारी पूरा भएको नेकपा ओली समूशका लुम्बिनी प्रदेश संयोजक तथा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले जानकारी दिए । पूर्व लुम्बिनी अञ्चल केन्द्रित आमसभामा सहभागी हुन आउनेक्रम बिहानैदेखि सुरु भएको छ । आमसभापूर्व पूर्वपश्चिम राजमार्गको अस्पताल लाइनबाट ऱ्याली निकालिने छ ।

 आमसभा दिउँसो साढे १२ बजे सुरु हुने छ । जनसभामा प्रधानमन्त्री केपी शर्मा ओली, महासचिव विष्णु पौडेल,  ऊर्जामन्त्री टोपबहादुर रायमाझी र मुख्यमन्त्री शंकर पोखरेललगायतले सम्बोधन गर्ने तयारी छ । 

त्यसअघि प्रधानमन्त्री ओलीले बुटवलमा केवलकार शिलान्यास गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीले सबैभन्दा पहिला बुटवलको चिडियाखोलादेखि पूर्व पाल्पाको वसन्तपुरसम्म जोड्ने केबलकारको बिहान साढे १०  बजे शिलान्याश गर्नेछन् । लुम्बिनी केबलकार प्रालिको आधार स्टेसन बुटवलमा छ भने अन्तिम स्टेशन पाल्पा जिल्लाको वसन्तपुर रहेको छ । लुम्बिनी केबलबार प्रालिका सञ्चालक तेजबहादुर विश्वकर्माले बिहान ९ बजेपछि बुटवलको बम्घाटमा केबलकार शिलान्याश हुने बताए । 

केबलकारको बुटवल ३ बमघाटमा तल्लो स्टेसन र पाल्पाको तिनाउ गाउँपालिका ३ वसन्तपुरमा माथिल्लो अन्तिम स्टेसन छ । लुम्बिनी केबलकारको लम्बाई तीन किलोमिटर हुनेछ । लुम्बिनी केबुलकार प्रालिका सञ्चालक विश्वकर्माले ३ अर्ब ५२ करोड रुपैयाँको लागतमा केबलकार निर्माण हुने बताए । 

नेपाल सरकारले लुम्बिनी केबलकार प्रालिलाई बुटवलदेखि वसन्तपुरसम्मको तीन किलोमिटर बीचमा पर्ने वन क्षेत्र उपयोग गर्न पाउने गरी स्वीकृति प्रदान गरिसकेको छ । हालै बसेको मन्त्रिपरिषद् बैठकले रुपन्देही र पाल्पा जिल्लाअन्तर्गत उक्त क्षेत्रमा पर्ने ६ दशमलव २७ हेक्टर वन क्षेत्र प्रयोगको २५ वर्षका लागि भोगाधिकार गर्न स्वीकृति दिएपछि केबुलकार निर्माणको बाटो खुलेको हो । 

सरकारले बुटवल उपमहानगरपालिका–३ को चुरे सामुदायिक वन समेतको ३ दशमलव १६ हेक्टर र पाल्पाको तिनाउ गाउँपालिका–३ को चिउरीडाँडा न्याउली सामुदायिक वन समेतको ३ दशमलव ११ हेक्टर वन क्षेत्र प्रयोग गर्न पाउने गरी केबलकार प्रालिलाई भोगाधिकार दिने निर्णय गरेको छ । सरकारले बाटोमा पर्ने वन क्षेत्रमा रहेका १ हजार ३ सय ३८ वटा रुखहरु हटाउन समेत स्वीकृति दिएको छ । 

अमृता अमृता अनमोल कान्तिपुर टेलिभिजनकी रुपन्देही संवाददाता हुन् । उनका रिपाेर्टिङ र लेख मुलत: महिला, बालबालिका र भुइँ तहका नागरिकका समस्यामा केन्द्रीत हुन्छन् ।

Link copied successfully