काठमाडौँ — नेकपाको ओली समूहका नेता एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले ‘कसैको मृत्युमा जीवन खोज्ने प्रचण्ड प्रवृति र कुण्ठामा बाँचेको माधव प्रवृति’ को गठजोडका कारण मुलुकमा अहिलेको आस्था सिर्जना भएको आरोप लगाएका छन् । ओली समूहले शुक्रबार राजधानीमा गरेको सभामा नेता पोखरेलले अराजकता निम्ताउने प्रयास सफल पार्न नदिइने बताए ।
‘कसैको मृत्युमा जीवन खोज्ने प्रचण्ड प्रवृति हावी भयो । र, कुण्ठामा बाँचेको माधव प्रवृतिको गठबन्धन भयो । फेरि मुलुकमा अराजकता निम्ताउने काम भयो,’ नेता पोखरेलले भने । प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेपछि नेकपाको दाहाल–नेपाल समूहले यसलाई प्रतिगामी कदम भन्दै आएको छ ।
यसैलाई लिएर ओली समूहका नेता पोखरेलले अहिलेको अवस्था आउनुमा दाहाल–नेपाललाई जिम्मेवार ठानेका हुन् । उनले आर्थिक विकास र समृद्धिलाई फेरि पछाडि पार्ने र अराजकता निम्ताउने सिलसिला सुरु भएको दाबी गर्दै ती प्रयत्न विरोध गर्दे असफल पार्ने बताए ।
दाहाल–नेपालले मुलुकमा अराजकता सिर्जना गर्न खोजेको, कम्युनिस्ट आन्दोलन धरासायी बनाउन खोजेको र आर्थिक विकास तथा समृद्धिमा बाधा पुर्याउरन थालेको आरोप लगाउँदै पोखरेलले कुनै पनि हालतमा सफल हुन नदिने बताए । जस्तासुकै प्रतिकूलता आए पनि त्यसकाविरुद्ध जुधेर मुलुकमा राजनीति स्थायित्वका लागि लाग्ने पोखरेलले बताए ।
निर्वाचनको विरोध गरेर दाहाल–नेपालले संविधान र लोकतन्त्रविरोधी काम गरेको उनले बताए । ‘उहाँहरुले निर्वाचनलाई स्वीकार गर्नुभएको छैन । आयोगमा गएर धम्की दिनुहुन्छ । संविधान विरोधी कुरा हो कि होइन, यो लोकतन्त्र विरोधी कुरा हो कि होइन ? यसको भण्डाफोर गर्न जरुरी छ’ पोखरेलले भन, ‘ताजा जनादेशमा गएर जनताको निर्णय स्वीकार गर्न तयार छौँ ।’
नेता पोखरेलले पाँच वर्षका लागि चयन भएका प्रधानमन्त्रीलाई बीचमै हटाउने विषयलाई कम्युनिष्ट पार्टीका कार्यकर्ता र जनताले नरुचाएको पनि दाबी गरे । नेता पोखरेलले ओलीको नेतृत्वको नेकपालाई आधिकारिकता कसैले तोड्न नसक्ने बताए । उनले ओली नेतृत्वको नेकपाले सूर्य चिन्ह पाउने र कसैले द्विविधा राख्न नपर्ने बताए ।
