नागरिक अगुवालाई प्रश्न : दलहरुसँग तपाईंको सम्बन्ध के हुन्छ
काठमाडौँ — त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले प्रतिनिधिसभा पुनःस्थापना भएर मात्रै कुरा नसकिने भन्दै लोकतन्त्र स्थापनापछि देखिएका अनेकन विकृति सुधार्ने गरी नागरिक आन्दोलन हुनुपर्ने बताएका छन् ।
सिफलस्थित सहिद धर्मभक्त माथेमालाई मृत्युदण्ड दिइएको स्थानमा भएको बृहत् नागरिक आन्दोलनमा माथेमाले यस्तो कुरा बताएका हुन् । उनले विश्वविद्यालयदेखि संवैधानिक निकायसम्म राजनीतिक हस्तक्षेप भएको, सरकारी विद्यालय र अस्पतालको हालत बिजोग रहेको भन्दै यस्तो अव्यवस्था अन्त्य हुनुपर्ने बताए । उनले भने, ‘हरेक कुरामा राजनीतीकरण छ, उहाँहरूले राजनीतिलाई आफ्नो बिर्ताजस्तो ठान्नुभएको छ ।’
नागरिक आन्दोलनमा लेखक तुलानारायण साहले संविधान जारी भएपछिका दिनमा लोक सेवामार्फत कर्मचारी छनोट गर्दा मधेसी समुदायले पाउनुपर्ने कोटामा बेइमानी गरिएको र न्याय सेवादेखि प्रहरीसम्म समावेशी नबनेको बताउँदै त्यतिबेला नागरिक समाजको ठूलो तप्का किन मौन बसेको थियो भन्ने प्रश्न गरे ।
उनले आफ्नो विरोधका बाबजुद जारी भएको संविधानमाथि खेलबाड गर्दै अस्थिरता सुरु गरिएकाले सबै जना विरोधमा उत्रिनुपर्ने परिस्थिति निर्माण भएको बताए । आन्दोलनमा लागेका नागरिक अगुवातिर प्रश्न तेर्स्याउँदै उनले सोधे, ‘दलहरूसँग तपाईंको सम्बन्ध के हुन्छ ? माधव नेपालहरू पनि आन्दोलनमा छन् । त्यो आन्दोलन र यो आन्दोलनमा के फरक छ ?’ लेखक साहले आन्दोलनको राजनीतिबाट नेता उदाउने, निर्वाचनको आन्दोलनमा फस्ने र सत्ताको राजनीतिमा डुब्ने विडम्बना देखिएको भन्दै यसको अन्त्य हुनुपर्ने बताए ।
विरोध प्रदर्शनमा सामाजिक अभियन्ता रीता परियार र कवि चन्द्रवीर तुम्बापोले बोलेका थिए । कलाकार आशान्त शर्माले भने धर्मभक्त माथेमालाई झुन्ड्याइएको बखतको समय चित्रण गरेका थिए ।
यस्तो प्रजातन्त्र हामीलाई चाहिएन : माथेमा
जब प्रजातान्त्रिक मूल्य र मान्यता कुल्चिइन्छन्, पछारिइन्छन्, फालिइन्छन् तब नागरिक समाज उठ्नैपर्छ । मलाई त दुःख किन लाग्छ भने नागरिक समाजमा धेरै प्राध्यापक पनि देखिनुपर्ने थियो । त्यो देखिरहेको छैन । प्राध्यापकहरूभित्र पनि बल्नुपर्ने हो । बलेपछि पो छात्र र छात्राहरूलाई उहाँहरूले बाल्न सक्नुहुन्छ । त्यो देखेर मलाई अलिकति दुःख लागेको छ ।
म जहिले पनि भन्ने गर्छु । अमेरिकाको तेस्रो राष्ट्रपति थोमस जेफर्सनले भनेका कुरा । उहाँ अमेरिकाको संविधान लेख्ने सबैभन्दा प्रभावशाली व्यक्ति हुनुहुन्थ्यो । उहाँले भन्नुभएको थियो– तिमीलाई प्रजातन्त्र चाहिन्छ भने तिमीले मूल्य चुकाउनैपर्छ । सधैं सचेत हुनु नै त्यो मूल्य हो । केही पर्यो भने उठिहाल्नुपर्यो । कसैले औंलामा टेक्दा कम्तीमा ऐय्या त भन्नुपर्यो । जानीजानी हो भने टेक्ने मान्छेले माफी माग्नुपर्यो । तर ऐय्या पनि नभन्ने त गर्नुभएन ।
संसद् पुनःस्थापनाको कुरा भइरहेको छ तर यति गरेर मात्रै सबै कुरा सकिने होइन । यहाँ हामीले भयानक विकृति देखिसकेका छौं । एउटा हो, विकृत निर्वाचन पद्धति । यो कति महँगो बनाएका छौं हामीले । यसलाई पनि हामीले सम्बोधन गर्नुपर्छ । मलाई त कता कता लाग्छ, नागरिक समाज यति बृहत् रूपमा आओस् कि १३ औं शताब्दीमा बेलायतका किङ जोन भन्ने निरंकुश राजालाई सही ठाउँमा ल्याउन म्याग्नाकार्टामा हस्ताक्षर गर्न लगाइएको थियो । त्यस्तै म्याग्नाकार्टामा अहिलेका राजनीतिक नेताहरूलाई हस्ताक्षर गर्न लगाउनुपर्ने भएको छ । निर्वाचनमा जुन खर्च हुने बनाइएको छ, त्यसैले हो सबै भ्रष्टाचार हुने । गडबडी हुने कारण नै त्यही हो । त्यस्तो अभ्यासलाई नेपालले धान्न सक्दैन । अर्को कुरा, हरेक क्षेत्रमा उहाँहरूको राजनीतीकरण छ । उहाँहरूले राजनीतिलाई आफ्नो बिर्ताजस्तो ठान्नुभएको छ ।
विश्वविद्यालयमा देख्नुभयो होला, विद्यालयमा देख्नुभयो होला । प्रशासनमा । हरेक क्षेत्रमा हस्तक्षेप छ । हुँदाहुँदा संवैधानिक निकायहरूमा पनि हस्तक्षेप छ । अब हामीले यसलाई बन्द गर्नैपर्छ । सहनै हुन्न । राजनीतिले गर्नुपर्ने केही कुरा छन् तर हेर्नुस्, हरे शिव ! कुनै–कुनै बेला त मलाई के गरूँ के गरूँ हुन्छ । मैले चार जना प्रधानमन्त्रीलाई बालुवाटारमै भेटेर बिन्ती गरेर भनेको छु– विश्वविद्यालयमा तपाईंहरूले हात नबढाउनुस् है । यसरी कहिल्यै राम्रो हुन्न । जुन–जुन विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप हुन्छ, त्यो विश्वविद्यालयले कहिल्यै राम्रो गर्न सक्दैन । तर हेर्नुस्, पटक–पटकभन्दा पनि उहाँहरूले त्यही गरिराख्नुभएको छ । यसको हामीले अन्त्य गर्नैपर्छ ।
मेरो विचारमा संघीयताप्रतिको प्रतिबद्धता पनि चाहिन्छ । भाषणमा मात्रै होइन । अहिले के गर्नुहुन्छ, ६ महिनापछि के गर्नुहुन्छ । कति शक्ति प्रदेशहरूलाई दिनुहुन्छ ? पछिल्ला २/४ वर्षको अभ्यास हेर्दा त यो केही देखिएको छैन । यो कुरामा पनि हामीले प्रतिबद्धता खोज्नुपर्छ । अर्को कुरा, समाजप्रतिको प्रतिबद्धता पनि चाहिन्छ । हामीले त्यो महसुस गरेका छौं ।
अलिकति समाजवादी खालका रिपोर्टहरू आएका छन् भने तिनलाई चकटीमुनि राख्ने र बाहिर निकाल्दै ननिकाल्ने अभ्यास देखिन्छ । चिकित्सा शिक्षा सुधारका निम्ति तयार पारिएको प्रतिवेदन पनि सरकारले डेढ महिना लुकाएर राख्यो । यो पनि प्रजातन्त्र हो ? हामीले यस्तो प्रजातन्त्र खोजेका हौं भने चाहिएन यस्तो प्रजातन्त्र । मैले सोचेकै थिइनँ, यस्तो प्रजातन्त्र । जहाँ रिपोर्ट लुकाइन्छ ।
आफ्नै मन्त्रीको अध्यक्षतामा गठन गरिएको उच्चस्तरीय समितिको प्रतिवेदन लुकाउँछ सरकार । त्यसलाई जनतामाझ लगेर बहस गर्नुपर्यो नि ! हेर्नुस् त सार्वजनिक विद्यालय र अस्पतालहरूको हालत । समाजवादतिर अगाडि बढेको पटक्कै छैन । हो, यसमा पनि हामीलाई प्रतिबद्धता चाहिन्छ । अब हामीले हरेक नेतालाई बोलाएर म्याग्नाकार्टाजस्तो प्रतिबद्धतापत्रमा छाप लगाउनुपर्छ ।
(त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले बृहत् नागरिक आन्दोलनमा दिएको मन्तव्यको सम्पादित अंश)
