नेपालले बेलायती यात्रु र उडानमाथिको प्रतिबन्ध हटायो

माघ १६, २०७७

नवीन पोखरेल

लन्डन — नेपाल सरकारले बेलायत हुँदै जाने हवाई उडान र यात्रुमाथि लगाइएको प्रतिबन्ध फुकुवा गरेको छ । नेपाली दूतावास लन्डनले बिहीबार बेलायत (संयुक्त अधिराज्य), आयरल्याण्ड र माल्टाबाट नेपाल भ्रमण गर्ने सम्पूर्ण यात्रुले आवश्यक सर्तसहित उडान गर्न पाउने जनाएको हो ।

नेपाल सरकारले बिहीबार तत्कालै लागू हुने गरी ‘विदेशबाट नेपाल आगमन हुने यात्रुहरुको स्वास्थ्य सुरक्षा तथा क्वारेन्टाइनसम्बन्धी आदेश, २०७७’ जारी गरेको थियो ।

दूतावासले यात्रा प्रतिबन्ध फुकुवा भए पनि बेलायतबाट नेपाल जाने यात्रुहरुले विभिन्न सर्त भने पूरा गरेको हुनुपर्ने बताएको छ । यात्रा गर्नुअघि ७२ घण्टाभित्र प्रयोगशालामा परीक्षण गरेको पीसीआर नेगेटिभ रिपोर्ट, यात्रुले हवाई टिकट खरिद गर्नुअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सूचीकृत गरेको होटलमा बस्न क्वारेन्टाइनका लागि अनिवार्य रुपमा बुक गरेको प्रमाण साथमा हुनुपर्नेछ । होटल बुकिङको खर्च सम्बन्धितले बेहोर्नु पर्नेछ ।

साथै, यात्रापूर्व आफ्नो यात्राबारेको विवरण लन्डनस्थित नेपाली दूतावासलाई पठाउनुपर्नेछ । त्यस्तै, नेपाल सरकारको कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको वेबसाइटमा उपलब्ध अनलाइन फाराम अनिवार्य रुपमा भरी सोको बारकोड प्रिन्ट गरी साथै लिएर जानुपर्ने नयाँ नियममा छ ।

नेपाल सरकारले बेलायतमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखा परेपछि डिसेम्बर तेस्रो सातादेखि बेलायत लगायत मुलुकबाट नेपाल प्रवेश गर्न प्रतिबन्ध लगाएको थियो । सम्बन्धित वायु सेवाले चेक-इन गर्दा अनिवार्य रुपमा होटल बुकिङ गरेको प्रमाण हेर्ने जनाउँदै दूतावासले बुकिङ गरेको प्रमाण लिएर यात्रा गर्नुपर्ने र बुकिङ खर्च सम्बन्धितले बेहोर्नु पर्ने जनाएको छ ।

होटल क्वारेन्टाइनमा बस्ने यात्रुले पाँच दिनपछि आफ्नै खर्चमा कोभिड-१९ परीक्षण गर्दा नतिजा नेगेटिभ आएमा थप पाँच दिन होम क्वारेन्टिनमा रहने गरी गन्तव्यमा जान सक्ने एवं कोभिड-१९ को परीक्षण नगर्ने यात्रुले १० दिन होटल क्वारेन्टाइनमा अनिवार्य रुपमा रहनु पर्नेछ ।

गैरआवासीय नेपाली तथा विदेशी नागरिकहरुले अनिवार्य रुपमा दूतावासबाट भिसा लिएर मात्र यात्रा गर्नुपर्नेछ । हाल बेलायतमा घोषणा भएको राष्ट्रिय लकडाउनका कारण भिसा लगायत सुविधाका लागि अर्को व्यवस्था नभएसम्म अनलाइन भिसा आवेदन फाराम भरी सक्कल राहदानी, भिसावापतको शुल्कका लागि पोस्टल अर्डर एवं प्रिपेड इनभेलपसहित हुलाकमार्फत राजदूतावासमा आवेदन गर्न समेत अनुरोध छ ।

नेपाली नागरिक र नेपालसँग सीमा जोडिएका छिमेकी मित्रराष्ट्रका नागरिक वाहेक अन्य विदेशी नागरिकले स्थल मार्गबाट नेपाल प्रवेश पाउने छैनन्  ।  

प्रतिबन्ध फुकुवाको खबरपछि बेलायतमा बस्ने नेपाली खुसी भएका छन्। यहाँका एक जना नेपाली सेफ खड्ग केसी बेलायतमा लकडाउनका कारण काम नभएकाले केही महिना नेपाल गएर बस्न अब बाटो खुलेको बताए । 

लन्डन ग्रीनफोर्डस्थित केटिीएम ट्राभल एण्ड टुर्सका सञ्चालक सुनिल थापा नेपाल जान टिकेट लिएर अड्किएका नेपालीहरु सम्पर्कमा आउन थालेको जनाए ।  

कोरोना खोपकोरोना भाइरस

नवीन

Link copied successfully