कोरोनाबाट १८९ दिनपछि शून्य मृत्यु

माघ १६, २०७७

अतुल मिश्र

काठमाडौँ — कोभिड–१९ संक्रमणले नेपालमा ६ महिनापछि बिहीबार कसैको पनि मृत्यु पुष्टि भएन । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार यसअघि साउन ४, ५ र ८ गते कोभिडले कसैको मृत्यु भएको थिएन ।

‘त्यसपछि कोभिडले मृत्यु दिनहुँ हुँदै आएकामा १ सय ८९ दिनपछि बिहीबार कसैको ज्यान गएको पाइएन,’ उनले भने । हालसम्म नेपालमा कोभिडबाट २ हजार २० जनाको मृत्यु भइसकेको छ ।

विज्ञहरूले भने कोभिडबाट मृत्युदर र संक्रमणमा कमी देखिए पनि उच्च जोखिम कायमै रहेको जनाएका छन् । उनीहरूले मुलुकमा खोप लगाउन सुरु भएको भन्दै स्वास्थ्य लापरबाही बढेकामा चिन्तासमेत व्यक्त गरेका छन् ।

‘देशभर संक्रमणको ट्रेन्ड (प्रवृत्ति) घटेको छ तर जोखिम घटेको देखिँदैन, दिनहुँ भीडभाड भइरहेकै छ’, स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा. कृष्णप्रसाद पौडेलले भने, ‘बिहीबार एक जनाको पनि मृत्यु नहुनु सकारात्मक भए पनि यही आधारमा केही निष्कर्ष निकाल्न सकिँदैन ।’

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.अधिकारीले पनि कोभिड संक्रमितको संख्या कम हुँदा सहज जस्तो देखिए पनि उच्च जोखिम कायमै रहेको बताए । ‘हाल विश्वभरि नै कोभिडको नयाँ भाइरसको कुरा आइरहेको छ र यसबाट हामीसमेत अछूतो रहँदैनौं,’ उनले भने । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.अधिकारीले खोप आइसके पनि मास्क, सामाजिक दूरी, हातको सरसफाइ जस्ता जनस्वास्थ्यको मापदण्ड अपनाउनुपर्नेमा जोड दिए । कोभिड संक्रमण आक्रामक रूपमा देखिए थेग्न गाह्रो हुने ईडीसीडीका निर्देशक डा. पौडेलले बताए । 

गण्डकी प्रदेशमा कोभिडको संक्रमण अलि बढेको देखिएको छ । स्वास्थ्य मन्त्रालयले गण्डकीमा बेलायतमा देखिएको नयाँ स्वरूपको भाइरसबाट संक्रमण भएको हो कि भनेर अध्ययन सुरु गरेको छ । ‘हाल गण्डकीमा संक्रमण अलि बढेको देखिएपछि नयाँ भाइरस हो कि होइन पुष्टि गर्न नमुना मगाएर परीक्षण गर्दै छौं,’ ईडीसीडीका निर्देशक डा. पौडेलले भने । नेपालमा यसअघि विदेशबाट आएका तीन जनामा नयाँ स्वरूपको कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

मुलुकमा कोभिड संक्रमण पुरुषमा बढी देखिएको छ भने १८ वर्षदेखि ३५ वर्षसम्म उमेरका व्यक्ति सबैभन्दा बढी संक्रमित छन् । मुलुकमा बिहीबार ३ हजार ७ सय ९१ जनाको पीसीआर परीक्षण गर्दा २ सय १३ जना अर्थात् ५.६१ प्रतिशतमा कोभिड संक्रमण देखिएको छ । केही समययता देशभरि कोभिड परीक्षणमा व्यापक कमी देखिएको छ ।

देशभरिमा सक्रिय संक्रमितको संख्या ३ हजार २ सय ३ छ । तीमध्ये १ सय ४६ जना आईसीयू र २६ जना भेन्टिलेटरमा उपचाररत छन् । कोभिड संक्रमण देखिएकामध्ये ०.८ प्रतिशतको मृत्यु भएको छ भने ९८.१ प्रतिशत संक्रमित निको भइसकेका छन् । 

कोरोना भाइरस

अतुल मिश्र कान्तिपुर दैनिकमा प्रमुख उप-सम्पादकका रुपमा कार्यरत छन् । उनी स्वास्थ्थ तथा विज्ञान विषयमा विगत २५ वर्ष देखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully