काठमाडौँ — गरिब राष्ट्रहरु कोरोना भाइरसविरुद्धको खोपको पहुँचबाट सन् २०२३ सम्म पनि वञ्चित हुन सक्ने अध्ययनहरुले देखाएका छन् । कोरोनाविरुद्ध विभिन्न मुलुकमा विकास भएका खोप प्रयोगमा आउन सुरु भएका छन् । तर खोपको असमान वितरणले समयमै सबै मुलुकको पहुँचमा भने नपुग्ने भएको हो ।
धनी देशहरुले भारी मात्रामा खोप खरिद गरी भण्डारण गरेका हुनाले पनि अरु विकासोन्मुख तथा गरिब देशमा कम परिमाणमा खोप पुगेको छ । जानसांख्यिक हिसाबले विश्वकै ठूला देश चीन र भारतमा पनि सन् २०२२ सम्म सबै नागरिकले खोप पाउने अवस्था नरहेको एक अध्ययनले दाबी गरेको छ ।
न्युयोर्क टाइम्सले गरेको एक तथ्यांक विश्लेषणअनुसार बेलायत, अमेरिका जस्ता देशले आवश्यकभन्दा चार गुणा बढी र क्यानडाले ६ गुणा बढी खोप खरिद गरेका छन् । अमेरिकाले १० करोड डोज खोप फाइजरबाट किनिसकेको छ । उसले ५० करोड डोज खोप किन्ने तयारीमा छ । त्यसैगरी अमेरिकाले मोर्डनाबाट २० करोड र थप ३० करोड डोज अफरका रुपमा पाउनेछ । त्यति मात्र होइन अमेरिकाले एस्ट्राजेनेकाबाट ८१ करोड खोप प्रिअर्डर गरिसकेको छ ।
बेलायतले यी सबै कम्पनीबाट ३५ करोडभन्दा बढी डोज अर्डर गरिसकेको छ । त्यसमाथि सानो कम्पनी भाल्नेभाबाट पनि १५ करोडभन्दा बढी डोज किन्ने तयारी गरेको छ ।
ब्लुमबर्ग डटकमले गरेको एक अध्ययन अनुसार ८० भन्दा बढी देशहरुले खोप उत्दापनकर्तासँग सम्झौता गरेका छन् । जसमा क्यानडा ,बेलायत र अस्ट्रेलियाले आफ्ना देशका लागि धेरै पटक पुग्ने गरी खोप पहिल्यै नै बुक गरिसकेका छन् ।
इकोनोमिस्ट ग्रुप रिसर्च युनिट डिभिजनका इकोनोमिस्ट इन्टेलिजेन्स युनिटका निर्देशक अगाथे डेमारैसका अनुसार धेरै जसो विकासोन्मुख देशहरु सन् २०२३ सम्म खोपको पहुँचमा हुने छैनन् ।
धेरैजसो अफ्रिकी मुलुकहरुमा सन् २०२३ अघिसम्ममा खोप अभियान सुरु नहुने देखिन्छ भने एसियाली मुलुकहरुले सर्वसुलभ पहुँचका लागि सन् २०२२ सम्ममा कुनुपर्ने छ ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को विश्वव्यापी कोभ्याक्स कार्यक्रमप्रति गरिब मुलुकहरुको धेरै आशा देखिन्छ । अहिलेसम्म १८० भन्दा बढी देशले कोभ्याक्स कार्यक्रममा सहभागी हुन हस्ताक्षर गरिसकेका छन् । यीमध्ये ९२ मुलुक न्यून र मध्यम आय भएका मुलुक छन् । तिनीहरुका लागि दाताहरुले पैसा तिरेर कोरोना खोप उपलब्ध गराउनेछन् । संगठनले ५ वटा उत्पादकसँग २ अर्ब डोज सुरक्षित गरेको र आउँदो विश्व स्वास्थ्य दिवस (अप्रिल ७) सम्म सबै सदस्य राष्ट्रमा कोरोना खोप पुर्याइसक्ने बताएको छ ।
डब्लूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले असमान नीतिका कारण कोरोना खोप वितरण प्रभावित हुन सक्ने चेतावनी दिइसकेका छन् । असमान नीतिका कारण विश्वले ‘विपत्तिपूर्ण नैतिक विफलता’ को सामना गर्नुपर्ने औंल्याएका हुन् ।
अहिलेसम्म चीन, भारत, रुस, अमेरिका र बेलायतले कोरोनाविरुद्धको खोप बनाएका छन् । अमेरिकी र जर्मन कम्पनीको संयुक्त लगानीमा बायोएनटेक फाइजर खोपको विकास भएको छ ।
