कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना खोपले १५ दिनपछि मात्रै प्रतिरोधी क्षमता विकास गर्ने

काठमाडौँ — धेरैमा जिज्ञासा उत्पन्न भएको छ– खोपले कोभिड–१९ विरुद्धको प्रतिरोधक क्षमता कहिले विकास गर्ला ?  विज्ञहरू भन्छन्, ‘तत्कालै प्रतिरोधात्मक क्षमता हासिल हुँदैन । खोप लगाएको केही सातापछि मात्र शरीरमा संक्रमणविरुद्ध लड्ने क्षमताको विकास हुन्छ ।’

कोरोना खोपले १५ दिनपछि मात्रै प्रतिरोधी क्षमता विकास गर्ने

सामान्यतया खोप लगाएको दुई महिनापछि संक्रमणसँग लड्ने क्षमताको विकास भएको अनुसन्धानले देखाए पनि त्यसले कहिलेसम्म काम गर्छ भनेर थप अनुसन्धान हुन बाँकी छ । खोप लगाएपछि शरीरमा प्रतिरोधात्मक क्षमता विकास गर्न समय लाग्ने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए ।

सिरम इन्स्टिच्युट अफ इन्डियाद्वारा जारी पछिल्लो तथ्यमा कोभिसिल्डको सुरक्षा अवधिबारे यकिन गरिएको छैन । यो खोपको दोस्रो मात्रा प्राप्त गरेको चार सातापछि सुरक्षात्मक प्रतिरक्षा क्षमता उत्पन्न हुन सक्ने जनाइएको छ । अर्थात्, पहिलो र दोस्रो मात्रा लगाइसकेको दुई महिनापछि संक्रमणविरुद्ध सुरक्षात्मक प्रतिरक्षा क्षमता उत्पन्न हुन सक्छ । ‘तर खोप लगाउनेको शरीरमा करिब १५ दिनपछि संक्रमणविरुद्धको प्रतिरोधात्मक क्षमता क्रमशः विकसित हुन थाल्छ,’ सहप्रवक्ता अधिकारीले भने ।

औषधि व्यवस्था विभागबाट ससर्त आपत्कालीन उपयोग अनुमति पाएको अक्सफोर्ड–एस्ट्रेजेनेकाको ‘एजेडडी १२२२’ खोपलाई सिरम इन्डियाले कोभिसिल्डको नाममा उत्पादन गरिरहेको छ । यो खोप ०.५ एमएलको दुई मात्रा लगाइन्छ । सिरमका अनुसार खोपको पहिलो मात्रा लिएको ४ देखि ६ साताभित्र अर्को मात्रा लिनुपर्छ । तर पहिलो मात्रा लिएको १२ सातासम्म पनि दोस्रो मात्रा लिन सकिने विदेशमा भएका विभिन्न अध्ययनले देखाएका छन् ।

बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमका अनुसार बुधबार खोप लगाएकाहरू कसैलाई जटिल प्रतिकूल असर देखिएको छैन । केहीमा वाकवाकी लाग्ने र खोप लगाएको ठाउँमा रातो हुनुबाहेक प्रतिकूल असर नदेखिएको उनले बताए । खोप लगाएका १० मध्ये एक जनामा सामान्य प्रतिकूल असर देखिन सक्ने चिकित्सकहरूले बताएका छन् ।

खोप लगाएको ठाउँमा थिच्दा दुख्ने, सुन्निने, थकाइ वा कमजोरी अनुभव हुने, काम्ने, हल्का ज्वरो आउने समस्या देखिन सक्छ ।

प्रकाशित : माघ १५, २०७७ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?